
पर्वत । चर्चित गायक तिलक बम मल्लले २०५५ सालमा गाएका थिए- ‘हिँउको पानी मोदीको असला… ।’ उनले गीत गाएको यही मोदी खोलामा हिजोआज माछा त परै जाओस् पानी पनि बग्दैन । उनकै गीतका कारण त्यतिबेला मोदी खोलाको माछा चर्चित भएको थियो ।
गायक मल्लले सम्झिए, ‘पोखराबाट बागलुङ जाँदा मोदीखोलाको माछा खान अम्बोट, वीरेठाँटी, नयाँपुलमा पस्थ्यौं । त्यहाँ मोदीको माछा खान भनेपछि बाहिरबाट आउने मान्छेहरुको भिड नै हुने गर्थ्यो ।’ कास्कीको अन्नपूर्ण हिमालदेखि बगेर पर्वत आइपुग्ने मोदीखोला यतिबेला भने काकाकुल छ । केही वर्षअघिसम्म सुक्खायाममा समेत कलकल बग्ने मोदीखोला किन सुक्यो त ? यसको उत्तर हो, हाइड्रोपावर ।
मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरण अन्तर्गतको १४.८ मेगावाटको मोदीखोला जलविद्युत् केन्द्र, १५.८ मेगावाटको मध्यमोदी हाइड्रोपावर लिमिटेड र २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजना गरी चारवटा आयोजना छन् ।
जसमध्ये मोदी गाउँपालिकामा तीन र कुश्मा नगरपालिकामा एउटा आयोजना सञ्चालनमा छन् । नेपालको जलविद्युत् तथा जलस्रोत नीतिअनुसार आयोजनाले नदीमा कम्तीमा १० प्रतिशत प्राकृतिक बहाव निरन्तर छाड्नुपर्ने कानुनी प्रावधान छ । तर यसको व्यावहारिक कार्यान्वयन देखिन्न ।
मोदी खोलामा २०५७ मा पहिलोपटक सञ्चालित आयोजना मोदीखोला जलविद्युत् केन्द्र हो । यसको पानीको ड्याम जलाशय बेतेनीमा अवस्थित छ भने विद्युतगृह चाहिँ पातिचौरमा । मध्यमोदी हाइड्रोको पानीको ड्याम जलाशय वीरेठाँटी र विद्युतगृह बेतेनीमा छ । यस्तै, तल्लो मोदीखोला जलविद्युत् आयोजनाको ड्याम जलाशय पातिचौरमा र विद्युतगृह चाहिँ कुश्माको परादीमा अवस्थित छ ।
कुश्मा नगरपालिकाको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको ड्याम जलाशय परादीमा बाँधिएको छ । यसको जलविद्युत गृह भने चुवाको सुइटेबौरमा निर्माण गरिएको छ ।
चारवटै जलविद्युत गृह लहरै अवस्था छन् । एउटा जलविद्युत् गृहको पानीको ड्याम जलाशयबाट छाडिएको पानी खोलामा बग्न नपाउँदै अर्को जलविद्युत् गृहको ड्याममा मिसिन पुग्छ । यसले गर्दा पनि मोदीखोलामा पानीको संकट उत्पन्न भएको छ ।