
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
काठमाडौँ । २०६८ सालमा दुर्घटनामा परेर आमाले संसार छाड्दा उनलाई ठूलो शोक पर्यो । त्यसैको असरले उनी गम्भीर डिप्रेसनको सिकार भइन्, औषधि खान थालिन् । निद्रा लाग्ने औषधि खान थालेको पनि त्यतिबेलै हो । बिमारकै कारण उनको स्वभावमा बारम्बार अदलबदल भइरह्यो । कहिले कसैसँग बोलिनन्, कहिले सबैसँग झगडा गरिन् । घरमा धेरै सामान फुटे, संसद् सचिवालयका सहकर्मी रुष्ट हुँदै गए, आफन्त र नातेदार टाढिँदै गए । गहिरो प्रेममा परेर बिहे गरेका श्रीमान्को माया पनि उनी डिप्रेसनमा गएपछि बिस्तारै तैरिँदै तैरिँदै किनारा लाग्यो । ‘म त एक्ली छु, बाँच्नै मन लाग्दैन, मर्छु भनेर दुईपटक कोसिस गरें, मरिनँ,’ रोशनी शाहीले यसो भनिरहँदा अनुहार भावशून्य थियो । आजको कान्तिपुरमा समाचार छापिएको छ।
बुधबार साँझ साढे ७ बजेतिर म उनको कोठामा छिर्दा नीलो सलले टाउको बाँधेर सोफामा सुतिरहेकी थिइन् । मलाई देख्नेबित्तिकै हत्तपत्त उठेर हात जोड्न तम्सिएकी उनका हात थरथराइरहे । सोधें, ‘सञ्चो छैन ?’ उनले ‘हो’ भनेर टाउको हल्लाइन् । मलाई रोशनीसँगै कोठामा छाडेर उनका श्रीमान् चित्रजंग शाही बाहिर निस्किए ।मलाई रोशनीबाट कुनै सनसनी खोज खुलासा गराउनु थिएन, न ‘मिडियामा किन बोली फेरिरह्यौ ?’ भनेर र्याखर्याख्ती पार्नु थियो । धेरै प्रमाणले उनी पीडित हुन् भन्ने आधार तयार गरिसकेको थियो । त्यही आधारमा उनीसँग कुराको सुरुवात मैले आइतबार साँझकै प्रसंगबाट गरें ।
सोधें, ‘के भएको थियो त्यो रात ?’ उनको भारी मन तौलिएर मात्रै कुरा बाहिर निकाल्न अभ्यस्त भइसकेको रहेछ । भनिन्, ‘मैले धेरै औषधि खाएँ, औषधिसँगै भोड्का पनि खाएँ, के गरिरहेकी थिएँ, म आफैंलाई थाहा छैन ।’ उनले त्यो रात आफू घरमा एक्लै भएको जिकिर बारम्बार गरिरहिन् ।‘तर सीसीटीभी फुटेजले महराजी यहीं आएको देखाएको छ,’ मेरो यो कुरा सुनेपछि रोशनी एकछिन झस्किइन्, टोलाइन् र केहीबेरपछि भनिन्, ‘हो र ?’कोठामा फेरि एकछिन सन्नाटा छायो । उनले सन्नाटा चिर्दै भनिन्, ‘तर उहाँले मलाई बलात्कार गर्नुभएको हैन ।’ रोशनीको पहिलो अन्तर्वार्ता सार्वजनिक भइसकेपछिको खोजबिनले त्यस दिन कृष्णबहादुर महरा उनको घरमा गएको पुष्टि भइसकेको छ ।
रोशनीको शरीरका चोटहरूले उनी कुटिएको प्रमाण दिएकै छन् । सोमबार साँझ मसँगै भएको पहिलो कुराकानीमा उनले ‘महराले आफूलाई हातपात’ गरेको बताएकी थिइन् । मंगलबार बिहान प्रहरीको सम्पर्कमा पुगेकी रोशनी त्यसपछि एकाएक हराइन्, मोबाइल ‘अफ’ गरिन्, उनको नामबाट ‘अपडेट’ हुँदै आएको फेसबुक ‘डिएक्टिभेट’ भयो ।
मंगलबार साँझ सोह्रखुट्टेमा रहेको आफन्तको घरमा बसेर केही सञ्चारमाध्यमलाई लगालग अन्तर्वार्ता दिइन् । त्यतिन्जेल महराले सभामुख पदबाट राजीनामा दिइसकेका थिए । अन्तर्वार्तामा रोशनीको बोली फेरियो, महरा आफ्नो घरमा आउँदै नआएको उनले बयान दिइन् । ‘तपाईंको मोबाइल अफ थियो, त्यो अन्तर्वार्ताका लागि कसरी पुग्नुभो ?’ मैले सोधें । रोशनीका अनुसार उनलाई तीनकुनेको कोठाबाट ट्याक्सीमा राखेर सोह्रखुट्टे पुर्याइएको थियो ।
त्यो काम पूर्वमाओवादीका एक स्वास्थ्यकर्मीले गरेका थिए । स्रोतहरू भन्छन्, ‘पूर्वमाओवादी कार्यकर्ता भएकाले उनी रोशनीका श्रीमान् चित्रजंगसँग घनिष्ठ थिए ।’ के उनैले रोशनी र महराका बीचमा ‘मध्यस्थ’ को भूमिका खेलेका थिए ? उत्तर अहिले पनि पर्दा पछाडि नै छ । रोशनीका अनुसार भने उनले घटनापछि महरासँग एकपटक मात्रै फोनमा कुरा गरेकी छन् ।मलाई मंगलबार दिउँसै नेकपाका एक माथिल्ला नेताले भनेका थिए, ‘पीडित महिलाले महरासँग घटना बाहिर ल्याएर गल्ती गरें भनेकी छन् रे, केहीबेरमा तपाईंले पनि थाहा पाउनुहोला ।’ त्यसपछि मैले ‘उनको मोबाइल त बिहानैदेखि अफ छ, कसरी कुरा भयो होला र ?’ भनेर ती नेतालाई सोधें ।
नेताले मलाई दिएको जवाफ थियो, ‘उहाँहरूका सयौं सम्पर्क सूत्र हुन्छन्, तीमध्ये एउटामार्फत महरा पक्ष र पीडित महिलाबीच कुरा भइरहेको छ ।’ त्यसपछि पनि मैले रोशनीलाई बारम्बार सम्पर्क गर्ने प्रयास गरें तर उनी भेटिइनन् । सोमबार साँझ हामीसँगैको कुराकानीमा महराले आफूलाई कुटपिट गरेको बताएकी रोशनीले मंगलबार साँझ कान्तिपुरलाई भनिन्, ‘अब यो च्याप्टरै क्लोज भयो ।’मलाई बन्द भएको अध्यायभित्र केही न केही कहानी छ भन्ने लागिरहेको थियो । उनी कुनै गहिरो संकटमा रहेको संकेत मिलिरहेको थियो । बुधबार बिहान फेरि फोन गरें । रोशनीले ‘पत्रकार सम्मेलन हुँदै छ, त्यहीँ भेटौंला तर म तपाईंलाई भेट्न सक्दिनँ’ भन्ने जवाफ दिइन् । मैले सोधें, ‘कतिखेर कहाँ पत्रकार सम्मेलन हुन्छ ?’ उनले समय र ठाउँ बताउन सकिनन् । भनिन्, ‘उहाँहरूले सबै ठिक्क पारिसकेपछि मलाई लिन आउनुहुन्छ ।’
ती ‘उहाँहरू’ बारे मैले जिज्ञासा राखें । रोशनीले मान्छेको नाम भन्न चाहिनन् । उनले भनेको पत्रकार सम्मेलन पनि भएन । उनलाई भेट्ने मेरो हुटहुटी भने रोकिएन । बुधबार साँझ म उनलाई अघिल्लो दिन मिडियामा ल्याउने सम्पर्क सूत्रहरूमार्फत रोशनीको कोठामा पुगें । साँझ खुलाइन्, पत्रकार सम्मेलन आयोजना गर्ने तयारी र स्थगित गर्ने निर्णय तिनैको थियो, जसले रोशनीको पछिल्लो अन्तर्वार्ताका लागि मिडियाहरूसँग समय मिलाउने काम गरेका थिए ।रोशनीले बारम्बार ‘महरा सर निर्दोष हो’ भनिरहेपछि ‘त्यसो भए तपाईंले उहाँलाई फसाउनुभएको हो त’ भनेर मैले सोधें । उनले उल्टै प्रश्न गरिन्, ‘उहाँ कहाँ फस्नुभएको छ र ?’ तपाईंको फेसबुकमै त्यो अपडेट छ भनेर जब मैले रोशनीलाई फेसबुक देखाएँ, म आफैं छक्क परें । उनको फेसबुक मेरो कुराकानीको दौरान पनि अद्यावधिक गरिँदैथ्यो । उनले त्यो घटना भएको दिनदेखि आफूले फेसबुक नै नचलाएको दाबी गरिन् ।
फेसबुकको पासवर्ड उनका श्रीमान्लाई पनि थाहा रहेछ । यसबारे मैले उनका श्रीमान् चित्रजंगलाई पनि सोधें । उनको जवाफ थियो, ‘खोइ अपडेट त भइरहेको छ तर कसले चलायो, मलाई थाहा छैन ।’ रोशनीमाथि नै ‘ब्याकफायर’ हुने गरी फेसबुकका स्टाटसहरू उनै चित्रजंग या उनीनिकट अरू कसैले अपडेट गरेका त थिएनन् ? रहस्यको पर्दा खुलिसकेको छैन ।घटना भएपछि रोशनीले प्रहरीमा उजुरी गर्नका लागि तनहुँ पुगेका श्रीमान् फर्किने दिनसम्म कुरेकी थिइन् । तर बिचौलियाहरू यसरी सलबलाए कि श्रीमान् फर्किनुअगावै रोशनीले आफ्नो कुरा फेर्नुपर्ने परिस्थिति उत्पन्न भयो । ‘मलाई मंगलबार बिहान सेभ नभएको नम्बरबाट फोन आएको थियो, यो घटनाबारे अरू बोलिस् भने तेरो र तेरो श्रीमान्को ज्यान बच्दैन भनेको थियो,’ रोशनीले भनेको यो कुराको रेकर्ड हामीसँग सुरक्षित छ ।
त्यसपछि दिनभर उनको मोबाइल अफ भयो । जब रोशनी सार्वजनिक भइन्, कुरा फेरिन् । त्यसपछिको दैनिकी उनको वशमा छैन । जोसँग जसरी बोल भनेर सिकाइएको छ, उनले त्यसै गर्ने गरेजस्तो प्रतीत हुन्छ । त्यसको छनक बुधबार साँझको कुराकानीमा पनि देखाइन् ।मैले उनलाई महरासँगको सम्बन्धबारे जिज्ञासा राखें । रोशनीले आफूहरू दुई जनाबीच हार्दिक र आत्मीय सम्बन्ध रहेको बयान गरिन् । कहिलेकाहीँ आफू महरासँग रिसाउने र उनले फकाउने गरेको सुनाइन् । ‘म डिप्रेसनको औषधि खाइरहन्छु, मेरो स्वभाव बदलिइरहन्छ भन्ने उहाँलाई थाहा थियो,’ रोशनीले भनिन्, ‘म हाम्रो सम्बन्ध, अफिसका काम र उहाँले गरेको बेवास्ताबारे उहाँसँग कराउँथें, गाली पनि गर्थें ।’
यसअघि पुसमा रोशनीले आत्महत्याको प्रयास गर्दा महराले सबैभन्दा पहिले थाहा पाएका थिए । उनले आफ्नो स्वकीय सचिवालयका एक सदस्यलाई रोशनीबारे बुझ्न पनि पठाएका थिए । रोशनीको अस्वाभाविक स्वास्थ्य अवस्थाबारे जानकार महरा उनी एक्लै घरमा भएका बेला किन गए ? १ घण्टा १९ मिनेटसम्म रोशनी कुन अवस्थाबाट गुज्रिइन् ? घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले महरालाई बोलाएर यही प्रश्न सोध्न सक्ला ? या रोशनीले ‘म डिप्रेसनको रोगी हुँ’ भनेर दिएको निवेदनकै आधारमा चुपचाप बस्ला ?उदेकलाग्दो के छ भने ‘म डिप्रेसनको रोगी हुँ, महरा सर निर्दोष हुनुहुन्छ’ भनेर निवेदन दिन उनलाई श्रीमान् चित्रजंगले महानगरीय प्रहरी वृत्त बानेश्वर लिएर गएका थिए ।
कुराकानीका लागि म उनको कोठामा पुग्दा नै रोशनीले ‘क्लोनाज’ नामक औषधिको आठवटा गोली खाइसकेकी थिइन् । त्यसैले उनको बोली लरबरिएको थियो । ‘साह्रै टेन्सन हुन्छ, निदाउन सक्दिनँ, धेरै औषधि खानुपर्छ,’ उनले भनिन् । उक्त औषधि कति मात्रामा खानुपर्ने हो भनेर उनलाई डाक्टरले लेखिदिएका छैनन् ।जति मन लाग्छ र जतिबेला मन लाग्छ, त्यो औषधि खाइहाल्छिन् । रातमा औषधिको साथमा अलिकति रक्सी खानु नियमित जस्तै भइसक्यो । चिकित्सकहरूका अनुसार एक ट्याब्लेट ‘क्लोनाज’ सँग एक पेग रक्सी खाँदा त्यसको असर तीन गुणा बढी हुन्छ । त्यसपछि बिरामी सुस्ताउँछन् या उत्तेजक बन्छन् । असर व्यक्तिपिच्छे फरक हुन सक्छ ।
महरा गएको दिन पनि रोशनीले यो ट्याब्लेट खाइसकेकी थिइन् । उनीहरूले सँगै रक्सी खाए, घटना भयो, महरा निस्किए । झोंकमा भएकी रोशनीले प्रहरी, नेकपाका नेत्रीहरू ओनसरी घर्ती र पम्फा भुसाल तथा नेपाली कांग्रेसकी नेत्री उमा रेग्मीलाई खबर गरिन् । नेकपाका नेत्रीहरू प्रतिक्रियाविहीन रहे, उनीहरू अहिले पनि यो विषयमा बोल्न चाहँदैनन् ।रेग्मीले सुरक्षा संयन्त्रमा यही जानकारी गराउनुको साटो आफूनिकट नेता र पत्रकारहरूलाई सुनाइन् । सबैको जोड घटना लुकाउने या सनसनी मच्चाउनेमै केन्द्रित रह्यो, रोशनीको मनोदशातर्फ कसैले ध्यान दिएन ।
घटनाले हलचल ल्याएको यतिका दिन हुँदा पनि अमेरिकामा रहेका छोराछोरीले रोशनीलाई फोन गरेका छैनन् । श्रीमान् तनहुँबाट फर्किएपछि प्रहरीमा उजुरी गर्न जाऊँला भनेर कुरेकी उनलाई श्रीमान्ले नै पत्याइदिएनन् । बरु काठमाडौं आएपछि सरासर महरालाई भेट्न गए, सरसल्लाह गरे, कुरा मिलाए । घर फर्किएर श्रीमतीलाई ‘कुरा किन बाहिर ल्याइस् ?’ भनेर उल्टो झपारे ।रोशनीसँग जबजब रोग नजिक हुन थाल्यो, आफ्नै मान्छेहरूको दूरी बढ्दै गयो । साथमा बसेर कुरा गरिदिने कोही भएन । परिवारमा एक्लिँदै गएपछि मनले जे भन्छ, त्यही गर्न थालिन् । ‘मलाई एक्लोपनले सताउँछ, बाँच्नै मन लाग्दैन, छोराछोरीको फोटो हेरेर रुन्छु,’ उनी भित्तामा टाँसिएको छोराछोरीको तस्बिर हेरेर सुस्केरा हाल्छिन् । छोराछोरी हुन्, मुटुमै पनि त धड्किन्छन् होला, आँखाबाट पनि बग्दा हुन् तर अहिले उनीसँग छैनन्, फोन गरेर के कसो छ भनेर पनि सोधेका छैनन् ।
रोगले बेस्सरी गिजोल्दा श्रीमान् कहिल्यै साथमा भएनन् । दुईपटकसम्म आत्महत्याको प्रयास गर्दा भवितव्यले बाँचेकी हुन् उनी । ‘यो यस्तै हो, धेरैपटक मेरै विरुद्ध पनि गएकी छ, एकपटक मैले कुटें भनेर उजुरी हालेकी थिई, प्रहरीले छलफलका लागि बोलाउँदा गइन,’ चित्रजंगले मेरै अगाडि रोशनीलाई गाली गरे । उनी हेरेको हेर्यै भइन् ।बुधबार साँझ रातको ९ बज्दै थियो, चित्रजंगले रोशनीलाई खाना पकाउन उर्दी गरे । उनी सोफाको छेउमा हात टेकेर उभिने प्रयास गर्दै थिइन्, खुट्टा लडखडाए । म रोशनीलाई त्यही हालतमा छाडेर बाहिर निस्किँदै गर्दा चित्रजंगलाई खोज्दै एक अपरिचित पुरुष ढोकैमा पुगेका थिए । ती मान्छेको आवाज सुनेर रोशनी तर्सिइन्, उनको तर्साइले म झस्किएँ ।
गल्ली सकिनेबित्तिकैको सडकमा उनकै पहराका लागि बसेका दुई प्रहरी देख्नेबित्तिकै मलाई लाग्यो, ‘के सडकमा बसेका यी पुलिसले रोशनीको सुरक्षा गर्लान् ? खतरा त कोठाभित्र छ ।’ बिहीबार बिहान साढे ९ बजेतिर रोशनीका श्रीमान् चित्रजंगले फेसबुकमा सम्बन्धविच्छेदका लागि सहमति गरेको सूचना टाँसे । त्यो सूचनाअनुसार उनीहरूले अब सम्बन्धविच्छेदका लागि कानुनी प्रक्रिया सुरु गर्नेछन् । बिहान मैले फेरि रोशनीलाई फोन गरें । ‘तिमी यति धेरै विवादमा आयौ अब सँगै बस्न सकिन्न सहमतिपत्रमा साइन गर भन्नुभो, मैले हुन्छ नि त भनेर साइन गरें, उहाँ झोला बोकेर निस्किनुभो,’ उनले भनिन्, ‘म पनि घरबाट निस्कँदै छु ।’ त्यसपछि रोशनीको मोबाइल ‘अफ’ छ । बुधबार राति दुई घण्टा सँगै बस्दा पनि मैले उनको आँखा रसाएको देखिनँ, बिहीबार बिहान करिब २ मिनेट कुरा गर्दा उनी मसँग रोइन् । प्रस्टै बुझिन्थ्यो कि उनका आँखा ओभाएका छैनन् । सायद रोशनीको अन्तिम भरोसा भाँचियो, भ्रम टुट्यो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया