News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालका प्रमुख मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै द्विपक्षीय सहकार्यका प्राथमिकताबारे छलफल गरेका छन्। विशेष गरी भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा भारतले चासो दिएको छ ।

    प्रधानमन्त्री शाह मंसिर तेस्राे सातासम्म भारत भ्रमणमा जाने तयारी छ। त्यसैको पूर्वतयारीका क्रममा आएका मिश्रीले दिनभर उच्चस्तरीय भेटघाट र छलफल गरे ।

    बुधबार बिहान काठमाडौं उत्रेका उनले परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय छलफल गरेका छन्।साथै उनले परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनील लाम्सालसँग भेटवार्ता गरेका छन्। उनले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि भेट्ने तयारी छ ।

    मिश्रीका भेटवार्ताहरूको विषयवस्तु अनुसार प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जा व्यापार, जलविद्युत्, पूर्वाधार तथा कनेक्टिभिटी, आर्थिक साझेदारी र विपद्पछिको पुनर्निर्माण प्रमुख एजेन्डाका रूपमा अघि सार्ने देखिएको छ ।

    भारतीय विदेश सचिव मिश्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपाली पूर्वाधारको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि भारत सहयोग गर्न तयार रहेको बताएका छन्।

    परराष्ट्र सचिव राईसँगको छलफलमा उनले बाढीले नेपालको पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै पुनर्निर्माणका लागि आवश्यक सहयोग तथा परियोजनासम्बन्धी प्रस्तावमा भारतले विचार गर्ने स्पष्ट पारे।

    मिश्रीले भोटेकोशी बाढीपछि भारतले सहयोग उपलब्ध गराएको स्मरण गर्दै अब पुनर्निर्माण र पुनःस्थापनाको चरणमा पनि सहकार्य गर्न भारत इच्छुक रहेको बताए।

    यस विषयमा प्रारम्भिक छलफल भइसकेको र नेपालको नेतृत्वसँग थप विस्तृत छलफल गर्न भारत तयार रहेको उनको भनाइ थियो।

    ‘नेपालका पूर्वाधारमा ठूलो क्षति र विनाश पुगेको हामीले बुझेका छौँ । सधैँझैँ पुनर्निर्माण तथा पुनःस्थापनाको चरणमा आवश्यक सहयोग वा परियोजनासम्बन्धी प्रस्तावहरूमा विचार गर्न भारत तयार रहेको छ,’ मिश्रीले समकक्षी अमृत राईसँगको द्विपक्षीय छलफलमा भने ।

    यसले प्रधानमन्त्री शाहको भारत भ्रमणमा विपद्पछिको पुनर्निर्माण र त्यसका लागि आवश्यक भारतीय सहयोगसमेत महत्त्वपूर्ण एजेन्डा बन्न सक्ने देखाएको छ।

    ऊर्जा व्यापार र जलविद्युतमा पनि नेपाल र भारतको सहकार्य हुँदै आएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँगको भेटमा दुई देशबीचको ऊर्जा व्यापार, जलविद्युत् आयोजना निर्माण, विपद् प्रतिकार्य र पूर्वसूचना प्रणालीबारे छलफल भएको छ।

    मन्त्री श्रेष्ठले नेपालले पछिल्लो समय सामना गरेका श्रृंखलाबद्ध विपद्मा भारतले गरेको सहयोगप्रति धन्यवाद दिँदै विद्युत् व्यापार विस्तार, नेपालमा सञ्चालित परियोजनाहरू शीघ्र सम्पन्न गर्न र निजी क्षेत्रको लगानी अभिवृद्धिमा सहयोग गर्न आग्रह गरेका छन्।

    जवाफमा विदेश सचिव मिश्रीले ऊर्जा क्षेत्रमा भारत सहकार्य गर्न तयार रहेको बताएका छन्।

    नेपालको जलविद्युत् उत्पादन क्षमता र भारतसँगको विद्युत् व्यापारलाई हेर्दा यो विषय दुई देशको आर्थिक सम्बन्धको महत्त्वपूर्ण पक्ष हो। त्यसैले शाहको भ्रमणमा विद्युत् व्यापारको दायरा विस्तार, जलविद्युत् आयोजनामा भारतीय लगानी र निर्माणाधीन परियोजनाको कार्यान्वयनले प्राथमिकता पाउने सम्भावना छ ।

    अर्थतन्त्रदेखि पूर्वाधार कनेक्टिभिटीसम्मका विषयमा उनले छलफल गरेकाछन् । विदेश सचिव मिश्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका छन्। भेटमा दुई देशबीचको व्यापक तथा विस्तृत आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

    त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनील लाम्सालसँगको भेटमा पूर्वाधार र कनेक्टिभिटीसहित द्विपक्षीय सहकार्य अभिवृद्धिबारे कुरा भएको थियो ।

    विदेश सचिव मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा पनि दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा कुरा गरेका थिए ।

    सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले आगामी दिनमा थप उचाइ लिने विश्वास व्यक्त गरेका थिए ।

    भेटमा ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका विषयमा छलफल भएको थियो। दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    परराष्ट्र सचिवस्तरीय छलफलमा मिश्रीले प्रधानमन्त्रीको प्रस्तावित भ्रमणका सन्दर्भमा अघि बढाउनुपर्ने महत्त्वपूर्ण पहलहरूबारे विस्तृत कार्यसूची तयार गरिएको बताएका छन् ।

    उनले दुई देशबीच लामो समयदेखि बाँकी रहेका विषयको समाधान र यसअघि अघि बढाइएका महत्त्वपूर्ण पहलहरूको कार्यान्वयनमा प्रगति भएको दाबी पनि गरे ।

    नेपाल र भारतबीचका विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन दुवै पक्षका अधिकारीले गरेको प्रयासको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ