News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल

    गोरखा । असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीपछि नदीको बीचमा रहेको सानो टापुमा फसेको एउटा कुकुर भोकै छ। ‘हामीले देख्दादेख्दै यति दिन बितिसक्यो, कुकुर भोकै छ, उद्धार गरिदिनुपर्‍यो,’ स्थानीयले आग्रह गरेका छन्।

    गोरखाको चुमनुब्री गाउँपालिका–३ जगत र धार्चे गाउँपालिका–१ ठाडो भर्‍याङको सीमा क्षेत्रमा पर्ने जगत बगरपारि नदीको टापुमा कुकुर फसेको हो। एकातिर छङ्गाछुर भिर र अर्कोतिर नदीका भंगालो रहेकाले कुकुर आफैँ सुरक्षित स्थानमा आउन सकेको छैन।

    स्थानीय वीरबल घलेका अनुसार उक्त कुकुर ठाडो भर्‍याङका कमल कार्कीले पाल्दै आएका थिए। घरबाट भागेर जंगलतिर गएको कुकुर बाढीपछि नदीको टापुमा फसेको उनले बताए।

    मनासलु पदमार्गमा आवतजावत गर्नेहरूले नदीको टापुमा कुकुर देखेको १२ दिन भइसकेको छ। तर, अहिलेसम्म उद्धार हुन सकेको छैन। स्थानीयले सुरक्षाकर्मी वा सम्बन्धित निकायले तत्काल पहल गरेर कुकुरको उद्धार गर्नुपर्ने बताएका छन्।

    ‘यो कुकुर उद्धार गर्नुपर्नेछ। धेरै ठूलो केही गर्नुपर्दैन। त्यहाँसम्म सडक मर्मत हुँदैछ, गाडी गइराखेको छ। सुरक्षाकर्मीसँग डुंगा हुन सक्छ, डुंगामार्फत उद्धार गरिदिए हुन्थ्यो,’ उनले भने, ‘हेलिकप्टरबाट उद्धार गर्न खर्च धेरै लाग्छ।’

    स्थानीयले कुकुरलाई खानेकुरा पुर्‍याउने प्रयाससमेत गरेका थिए। तर, नदीपारि फालिएको खानेकुरा कुकुर भएको स्थानसम्म पुग्न नसकेको बताइएको छ।

    ‘साथीहरूले वारिबाट खानेकुरा फालेका रहेछन्, तर कुकुर भएको ठाउँसम्म पुगेन,’ स्थानीय कुशल घलेले बताए। उनका अनुसार नदीका भंगालो पार गर्न नसक्दा कुकुर टापुमै थुनिएको छ।

    कुकुर रहेको स्थानको भौगोलिक अवस्था हेर्दा हेलिकप्टरबाट खानेकुरा झार्न वा सम्भव भए अवतरण गरेर उद्धार गर्न सकिने स्थानीयको भनाइ छ।

    नदीको टापुमा कुकुर मात्र नभई आसपासका क्षेत्रमा बाख्रालगायत घरपालुवा पशुचौपाया पनि फसेको स्थानीयले बताएका छन्। असोज २५ गते आएको बाढीले केही बाख्रा बगाएको हुन सक्ने र केही अझै जंगलतिर चरिरहेको देखिएको उनीहरूको भनाइ छ।

    स्थानीयले कुकुरको उद्धारसँगै जोखिममा रहेका अन्य पशुचौपायाको अवस्थाबारे पनि खोजी गरी सुरक्षित स्थानमा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

    बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको १७ दिन भइसकेको छ। बाढीले घरटहरा, पुल, सडक तथा पदमार्गलगायतका संरचनामा क्षति पुर्‍याएको थियो। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाको काम जारी छ।

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ