
पर्वत । गत आर्थिक वर्ष २०८१।०८२ मा प्रदेश अस्पताल पर्वतबाट झन्डै ७४ हजार व्यक्तिले स्वास्थ्य सेवा लिएका छन्।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार एक वर्षको अवधिमा ३२ हजार २१९ जना महिला र ४१ हजार ३४६ जना पुरुष गरेर कुल ७३ हजार ५६५ जनाले स्वास्थ्य सेवा लिएका हुन्।
गत आवका ७३ हजार ५६५ जना सेवाग्राहीमध्ये ६४ हजार ११४ जनाले बहिरङ्ग विभागबाट तथा नौ हजार ४५१ जनाले आकस्मिक विभागबाट सेवा लिएका हुन्। यस्तै एक हजार ५७१ जनाले अन्तरङ्ग विभागमा भर्ना भएर सेवा लिएका छन्।
अस्पतालले पछिल्ला वर्षमा विस्तार गर्दै लगेका आफ्ना सेवा, स्वास्थ्य बिमा तथा अस्पतालप्रति नागरिकको विश्वासका कारण हरेक वर्ष स्वास्थ्य सेवा लिनेको सङ्ख्या बढ्दै गइरहेको छ। विगतमा सामान्य उपचारका लागि पनि पोखरा अन्य अस्पतालमा ‘रिफर’ गर्नुपर्ने बाध्यता रहँदै आएकोमा पछिल्ला वर्षमा अस्पतालले विभिन्न शल्यक्रियासहित विशेषज्ञ सेवा प्रदान गरिरहेको छ।
शल्यक्रिया सहितका सेवा जिल्लामै पाउने भएपछि विरामीले धेरै रकम खर्च गरेर टाढा पुगेर स्वास्थ्य जाँच गर्नुपर्ने अवस्था अन्त्य भएको डा. बास्तोलाले बताए। अस्पतालप्रतिको विश्वासका कारण नै पर्वत जिल्ला सहित बागलुङको बलेवा, नारायणस्थान, अमलाचौर, बिनामारे, कुश्मीशेरा, दमेक लगायतका स्थानका विरामी समेत प्रदेश अस्पताल पर्वतमा आउने गरेका छन्।
गत आर्थिक वर्षमा २५ प्रतिशतले सेवाग्राहीको सङ्ख्या बढेको छ। यो आर्थिक वर्षबाट त अस्पतालमा थप विशेषज्ञ सेवारू समेत विस्तार गरिएको छ।
‘हाड जोर्नी रोग विशेषज्ञ, महिला तथा प्रसूति रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, जनरल फिजिसियन लगायत सर्जिकल सेवा पनि विस्तार गरेको छौँ’, मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले भने।
अस्पतालमा कन्सल्टेन्ट मेडिकल जनरलिस्ट (एमडीजीपी) अन्तर्गत मेडिसिन, सर्किजल (स्त्री तथा प्रसूति रोग) तर्फ डा. हेमन्त बास्तोला र डा. मिलन अवाले, जनरल सर्जनतर्फ शरीरमा भएका गाँठागुँठी, पायल्स, फिस्टुला, हाइड्रोशिल, हर्निया, एपेन्डिसाइटिस लगायतका शल्यक्रिया हुने गरेका छन्।
पछिल्ला केही वर्षमा निर्माण भएका आधुनिक सुविधा सहितका भौतिक संरचना र शल्यक्रिया सेवा प्रदान गर्ने चिकित्सकको व्यवस्थापन हुँदै गएपछि अस्पतालमा सेवाग्राहीको सङ्ख्या बढिरहेको छ।
अस्पतालले विरामीको आवश्यकता तथा सरकारी वा गैरसरकारी सेवामा संलग्न रहेकाहरूको व्यस्त समयलाई ख्याल गरेर ओपिडी सेवालाई बिहान र बेलुकाको समयमा पनि विस्तार गरेपछि विरामीको चाप बढेको छ।
















