बागलुङको बलेवा विमानस्थलमा धमाधम कालो पत्र भइरहेको छ । नियमित सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दालाई यो विमानस्थलले काठमाण्डौसम्म जोड्ने छ ।
बलेवा क्षेत्रका स्थानीयले श्रमदानबाट थालेर २०१६ देखि २०१८ सम्ममा विमानस्थलको मैदान बनाएका थिए । यो विमानस्थलमा २०५० सम्म नियमित जहाज चल्थे । बलेवाबाट काठमाण्डौ, पोखरा र भैरहवाका नियमित उडान भैरहेकोमा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको थियो । नियमित जहाज सञ्चालनमा आए काठमाण्डाैदेखि बलेवासम्म ४५ मिनेटमा पुग्न सकिन्छ भने पोखरा हवाई मार्गबाट बलेवा पुग्न ८ मिनेट लाग्छ ।