
पर्वत । विद्यालय उमेरका विद्यार्थीहरूमा क्रिकेट खेल्न सक्ने क्षमता अभिवृद्धिका लागि जिल्ला व्यापी रूपमा अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ ।
पर्वत क्रिकेट सङ्घको आयोजनामा पुस १२ गतेदेखि सञ्चालन हुन लागेको प्रतियोगिता दोस्रो संस्करणको रूपमा आयोजना हुन लागेको हो । जिल्लाभित्रका सकेसम्म धेरै विद्यालयहरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिने प्रतियोगिताका संयोजक सौगात रेग्मीले बताए । कुश्मास्थित सशस्त्र प्रहरी बलको नं. २५ हेडक्वार्टर चण्डिकाको खेल मैदानमा प्रतियोगिता आयोजना हुने छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरूले पुस पाँच गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने छ । प्रतियोगितामा प्रत्येक विद्यालयबाट १४ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना म्यानेजर गरी जम्मा १६ जनाको टिम रहनेछ । प्रतियोगिता आइ.सी.सी.को नियमअनुसार र टी–२० फर्मेटमा सञ्चालन गरिने संयोजक रेग्मीले बताए । खेलाडीका रूपमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी मात्र सहभागी हुन पाउनेछन् ।
सहभागिताका लागि विद्यालयको पत्र, विद्यार्थी परिचयपत्र, प्रत्येक खेलाडीको जन्म दर्ता तथा अघिल्लो वर्षको मार्क सिट अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टिमलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै ‘म्यान अफ द म्याच’, प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई समेत विशेष पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।
पर्वत क्रिकेट सङ्घले विद्यालय स्तरमै क्रिकेट खेलको विकास र प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै जिल्लाका सबै विद्यालयलाई सहभागिता जनाउन आग्रह गरिएको प्रतियोगिताका संयोजक सौगात रेग्मीले बताए ।
अघिल्लो वर्ष भएको पहिलो संस्करणमा कुश्माको नारायण माध्यमिक विद्यालय विजेता र बन्दा चुवाको मंगलोदय माध्यमिक विद्यालयले उपविजेतामा चित्त बुझाएको थियो ।

















