
पर्वत । के तपाई सुन्तलाको पारखी हनुहुन्छ, तपाईलाई सुन्तला कत्तिको मन पर्छ । सुन्तला खान रुचाउनेहरुका लागि अब चिन्ता लिनु पर्दैन । पर्वतमै पहिलोपटक सुन्तला खाने प्रतियोगिता हुने भएको छ ।
समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सवको अवसरमा सुन्तला खाने प्रतियोगिता हुने भएको छ । सुन्तला पर्वतवाट सवैभन्दा बढि निर्यात हुने फलफुल हो । पर्वतका बाँसखर्क, देउपुर, कुर्घा, पाङराङ, बनौ, तिलाहार, दुर्लुङ्ग लगायतका क्षेत्रमा बार्षिक झण्डै ३० करोडको सुन्तला उत्पादन हुने गर्दछ । सुन्तला खेतीको प्रवद्र्धन र कृषकको प्रोत्साहनका लागि पर्वत महोत्सवको अवसरमा सुन्तला खाने प्रयोगिता आयोजना गरिएको पर्वत महोत्सबका मुल संयोजक ठाकुर वि पोैडेलले बताउनुभयो ।
महोत्सवमा विभन्नि क्षेत्रमा उत्पादित सुन्तलाका बिक्रि र प्रदर्शनी स्टलहरु राखिने भएको छ । सुन्तलाको खेती र पर्वतमा उत्पादित सुन्तलाको पहिचान तथा गुणस्तरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउनका लागि पहिलोपटक यस्तो प्रतियोगिता राखिएको हो । महोत्सव अवधिमा हरेक दिनजसो हुने प्रतियोगितामा जसले एकैपटकमा सवै भन्दा कम समयमा धेरै सुन्तला खान सक्छ त्यस्ता व्यक्तिलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । यसले सुन्तला कृषकहरुलाई समेत प्रोत्साहन मिल्ने मुल संयोजक पौडेलको भनाई छ ।
यसलाई महोत्सवको मुख्य आकर्षणको रुपमा राखिएको छ । महोत्सव आगामी पुस नौ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको छ । जसमा भलिबल खेल, टिकटक च्यालेन्ज प्रतियोगिता, खुल्ला लोक दोहोरी गीत प्रीतयोगिता, भजन तथा रत्यौली प्रर्दशन, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, समेत राखिएको छ ।
महोत्सवको दिन नजिकिदै गर्दा अहिले आवश्यक तयारीहरु भैरहेका छन् । लोक दोहोरीप्रतियोगिता, भजन तथा रत्यौलीका प्रस्तुतीहरुसँगै रमाईलो मेला जस्ता आकर्षणहरु रहेका छन् । यसपटक पर्वत जिल्लामा अहिलेसम्म नआएका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्न सफल कलाकारहरु र कन्सर्टहरुलाई महोत्सवले स्थान दिने भएको छ । दर्शकहरुका लागि नयाँ नयाँ स्वाद र मनोरन्जन दिने हिसावले तयारीहरु भैरहेको प्रचार प्रसार सयोजक खड्गप्रसाद खनालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशको लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमहरूको प्रचारप्रसार, प्रवद्र्धन र बिक्री व्यवस्थापन रहेको छ । यस्तै जिल्लामा रहेका कला, संस्कृति, खेलकुद, ऐतिहासिक तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन गराई जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पनि महोत्सवको लक्ष्य रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।
गण्डकी प्रदेशका लघु तथा घरेलु उद्योगहरूबाट उत्पादित सामग्रीहरूको बजारीकरण तथा कोसेली घरको व्यवस्थापन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने, कला संस्कृतिको जगेर्ना गर्ने, गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा सघाउने, स्थानीय बजारको सुरक्षाको लागि सी.सी. क्यामेरा जडान गर्ने, खेलकुद मैदानलाई व्यवस्थापन गर्ने र आधुनिक सभाहल बनाउने उद्देश्य महोत्सवमा राखिएको अध्यक्ष पौडेलले बताए

















