
पर्वत ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत शाखाले आफ्ना वार्षिक कार्यक्रमहरू र सातौँ अधिवेशनबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ। संस्थाले कात्तिक १६ देखि २२ गतेसम्म लोक–दोहोरी प्रवद्र्धन र सामाजिक उत्तरदायित्वका विविध आयाम समेटेर सातवटा कार्यक्रम सञ्चालन गर्ने निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
कार्यक्रमको जानकारी गराउँदै अध्यक्ष पशुपति कार्कीले कात्तिक १७ गते जिल्ला समन्वय समिति सभाहलमा ‘लोक दोहोरी अन्तरक्रिया तथा गोष्ठी’ आयोजना हुने बताउनुभयो। त्यसपछि चरणबद्ध रूपमा कात्तिक १८ गते कुश्मा–२ खुर्कोट बोडिस्वारामा कुर्सी हस्तान्तरण, कात्तिक १९ गते नयाँ पुल, खरेहा र गुप्तेश्वर बेदबेदाङ्ग पाठशालामा होर्डिङ बोर्ड मर्मत तथा कुसन हस्तान्तरण गरिनेछ।
कात्तिक २० गते बागलुङस्थित मानव सेवा आश्रममा भोजन सेवा प्रदान गरिनेछ। कात्तिक २१ गते कुश्माको युनिभर्सल पार्टी प्यालेसमा जिल्ला स्तरीय दोहोरी प्रतियोगिता हुनेछ। अन्तिम दिन कात्तिक २२ गते सोही स्थलमा महिला कलाकार सम्मान, आर्थिक सहयोग कार्यक्रम तथा सातौँ अधिवेशन र २१ औँ साधारणसभाको मुख्य कार्यक्रम सम्पन्न गरिनेछ।
तीन वर्षे कार्यकालमा प्रतिष्ठानले गण्डकी प्रदेशमा दुईपटक र केन्द्रस्तरमा एकपटक उत्कृष्ट जिल्लाको मान पाएको जनाएको छ। अध्यक्ष कार्कीको नेतृत्वमा विपन्न बालबालिकालाई स्टेशनरी–खाद्यान्न वितरणदेखि अपाङ्गता भएका नागरिक र दीर्घ रोगीलाई सहयोग, सार्वजनिक स्थल सरसफाइ, वृक्षरोपण, संगीत सामग्री वितरण, सडक महोत्सव, लाइभ कन्सर्ट, विद्यालय सहयोग, न्यानो कपडा अभियानलगायत सामाजिक तथा सांगीतिक कार्यक्रम सक्रिय रूपमा सञ्चालन भएका छन्।
प्रतिष्ठानले स्थानीय प्रतिभा उत्थान, लोक–संगीतको संरक्षण र समुदायप्रति उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने तयारी रहेको जनाएको छ।
















