SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२७ गते
    १९ &#२३४६;&#२३३५;&#२३२५;

    प्लट नं. १

    म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र संस्कृत विश्वविद्यालय छ) । बाख्राका पाठा र बाख्रा मलाई मान्छे जस्तै लाग्थे । मेरा बाख्राहरूको नाम मुन्नी, रूइटी र किरण थियो । कहिलेकाहीं मेरो परिवार वा मैले बाख्रालाई बोलाउँदा मानिसहरू फनक्क फर्केर हेर्थे ।

    बाख्राको मायाले गर्दा नै मैले सानैदेखि मासु खान छोडिदिएँ । मेरै कारणले गर्दा बाबा–मम्मीले घरमै खसी–बोका काट्न बन्द गरिदिनुभयो किनभने म रोएर खाना नै खान्नथें । यतिसम्म कि बाख्रालाई बेच्दा पनि म घरमा नभएको मौका पारेर बेचिन्थ्यो । किनभने अर्काले किनेर लैजाँदा बाख्रो कराउँथ्यो र म रुने गर्थें । धेरैपछि हाम्रो रुइटी मर्‍यो, मुन्नीलाई बेचियो । मेरो लेख्ने बानी थियो ।मैले बाख्राको मायामा चिट्ठी लेखेर किताबको बीचमा राखेकी रहेछु– ‘म मेरो रुइटी मुन्नीसँगै जान्छु’ भनेर । अहिले सम्झँदा हाँसो लाग्छ । एक दिन मेरी साथी कविताले डायरी भेट्टाइन् र पढिन् । अहिले पनि जिस्क्याउँछिन्– बाख्रासँगै मर्ने तिमी… भनेर ।

    प्लट नं. २

    आश्चर्यपूर्वक उनको प्रश्न तेर्सियो ‘क्यान बा यसो गर्नुहुँदैन ? मर्‍यापछि कागले पनि नइ ठुङ्दो लासलाई । आइमाईको ब्रह्म (योनीबाट बच्चा जन्मिएन भने) नफुटे शुद्ध मानिंदैन ।’ मेरो लामो हाँसो । माया लागेर आयो । मैले भनें, म हजुरको सल्लाहलाई सम्मान गर्छु । मलाई हाँसेको देख्दा उनले सोधिन्– तु रिसाइकी ? होइन नि ! यस्तो चिन्ता व्यक्त गरिन् । खुशी लाग्यो । उनले फेरि भनिन्, बच्चा जन्माउनु पड्डो बा… जन रिसाहा भन्दै उनी नाम्लो हातमा लिएर आफ्नो गन्तव्यतर्फ लागिन् ।

    यी प्लटहरू मेरो जीवनका हुन्, जो नेपाली चलचित्र कार्साङ हेरेपछि सम्झना भएको । ‘कार्साङ’ शेर्पा समुदायभित्रको संस्कृतिमा आधारित नेपाली चलचित्र हो । यसमा रहेकी पुतली (दिया मास्के), दिछेन (सिर्जना निङलेखु) र तोरमे (बाल कलाकार सोहन थापा) को अभिनय हेर्दा सम्झना आयो । यो चलचित्रले आर्थिक अभावले गर्दा बाझोपनको उपचार गर्न असमर्थ दम्पती र सन्तानका लागि देउतालाई भाकल गर्ने पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्मका पुतली, दिछेन र तोरमेको कथा र पीडाले प्रतिनिधित्व गर्दछ ।

    चलचित्रमा दिया मास्के (पुतली) र जितु नेपाल (माइला) निःसन्तान दम्पतीको रूपमा रहेका छन् भने दयाहाङ राई (लोव्सन) र सिर्जना (दिछेन) शेर्पा दम्पतीका रूपमा रहेका छन् । चलचित्रमा लोव्सन र दिछेनले सन्तानको लागि भाकेको कार्साङ (बोका) र छोराको बीचमा रहेको संंघर्ष निकै मार्मिक छ । चलचित्रमा लोव्सन र दिछेनको छोराकोे भूमिकामा रहेका बालकलाकार तोरमेको कार्साङप्रतिको माया विद्रोहको रूपमा देखाएको छ ।

    अरू त रित्तिंदै गरेका घर र शून्य हुँदै गरेका पाखा–पखेरामा क–कसका छोराछोरी सँगै छन् र ? हुर्किसकेका छोराछोरी देश छोड्ने तयारी गरिरहँदा अबको अल्फा जेनेरेसन(पुस्ता) कस्तो हुने हो कसले पो देखेको छ र ? त्यसैले मैले सन्तान जन्माउनै हुँदैन भन्न खोजेको होइन है !
    दलित समुदायकी पुतली र शेर्पा समुदायकी दिछेन हाम्रो समाजभित्रका पात्र हुन् । सन्तानको लागि पैसा हुनेले नेपालमा खुलेका आईभीएफ सेन्टरमा लाखौं खर्च गरिरहेका, उपचार खर्च नहुँदा सौता खेपिरहेका, अपहेलना खेपिरहेका र छोरा जन्मियोस् भनेर कन्काई माई, पाथीभरा, मनकामना, गढीमाई, मष्ट (रक्त) त कसैले कलपट्या नाथलाई कार्साङ (बोका) भाकेकाहरूको कथा हो ।

    पुतली जस्तै बच्चा नहुँदा कति धेरै महिलाले सार्वजनिक स्थानको जमघटमा उभिन छोडे होलान् ? घरको परिधिमा बसेर मानसिक रोगको शिकार भइरहेका होलान् ! श्रीमान्ले बच्चा जन्माउनको लागि सौता ल्याउँदा अपमानको अभिभारा बोक्नु पर्‍यो होला । कसरी शारीरिक सम्पर्क गर्दा बच्चा जन्मन्छ होला भन्ने जिज्ञासा, जात र कर्मले उब्जाएको विपन्नतालाई चलचित्रमा दिया मास्के (पुतली)ले न्याय गरेकी छिन् ।

    यो लेखिकाले शहरमा वेबी बम्प देखाएर सामाजिक सञ्जाल भित्र मातृत्वको अनुभवमा निःसन्तान महिलाले त बाँच्नु नै बेकार हो जस्तै गरी शब्द पोष्ट्याउँदै लेखेको, ग्रामीण भेगमा गर्भवती महिलाले पेट देखाएर हिंड्न लाज मान्नेहरूलाई बुझेको, निःसन्तान हुँदा अपहेलनामा बाँच्दै मानसिक समस्याबाट गुज्रिरहेका महिलाहरू भेटेको, आर्थिक अभावका बीचमा पनि सन्तानको लागि कार्साङ भाकेका सन्दर्भसँग नजिकबाट नियालिरहेकोले गर्दा पनि यो ब्लग लेखे ।

    पत्रकार त्यसमा पनि सामाजिक विषयमा कलम धेरै कलम चलाउँछु । त्यसैले पनि फिल्मको प्राविधिक पक्ष, स्क्रिप्ट, निर्देशकीय पक्ष, कलर, सट, सिन, सिक्वेन्समा ध्यान नदिएर मात्रै चलचित्रको कथामा केन्द्रित छु ।

    अँ साँच्ची ! विभिन्न कारणवश बच्चा नहुनु र बच्चा नजन्माउनु फरक अवस्था हुन् । मैले पनि विवाह गरें । तर नेपालमा गरिने विवाहको उमेरसमूह भन्दा ढिलो । जबर्जस्ती विवाह गर्नैपर्छ भनेर मेरो परिवारले कहिल्यै दबाब दिएनन् । विवाह कोसँग गर्ने र कसरी गर्ने मेरो आफ्नो निर्णय थियो किनभने मेरो सोच र व्यवहारबाट परिवार परिचित थियो ।

    जन्म, विवाह र मृत्यु समाजका अभिन्न अंग हुन् । जन्म र मृत्यु शाश्वत छन् तर विवाह मान्दिनँ । सायद म पत्रकार नभएको भए, सहनशीलताका प्रतिमूर्ति (निःसन्तान महिला) नभेटेको भए विवाह पश्चात् सन्तान जन्माउने मेरो धारणा अर्कै हुन्थ्यो होला । म पनि डर, मानसिक तनाव र अपहेलना सहन नसकेर घरको परिधिमा बस्थें हुँला । तर मेरो माइण्ड सेट विवाहपूर्व नै थियो ।

    विवाह भएको एक वर्ष नबित्दै दुईबाट तीन कहिले भनेर पुरुषले भन्दा शायद बढी महिलाले सुन्नुपर्छ । यदि बच्चा भएन भने कर्मको खेल, थारो, बाँझी, थारो भैंसी, बैलो भन्ने जस्ता अपमानजनक शब्दहरू महिलालाई नै प्रयोग गर्छन् । अझै गाउँघरमा बढी महिलाले यी अपमानजनक शब्दको भार खेप्नुपर्दछ । अहिलेलाई मैले सम्झेका शब्द यति नै हुन् । मैले यहाँ पुरुषको कुरा गरिनँ किनभने जब महिला नै महिलालाई सम्मानजनक व्यवहार, मानसिक सहयोग गर्न सक्दैन भने प्रायः पुरुषले रक्सी खाँदा गर्ने बहसको विषयलाई त पर नै राखौं ।

    विवाह पश्चात् मेरो एक जना चर्चित महिलासँग भेट भयो । उनी मलाई निकै बोल्ड लाग्छ । उनले मलाई भनेकी थिइन्– ‘मैले आईभीएफ गर्दा पनि मेरो बच्चा भएन । पटक–पटक यत्रो पैसा कसले खर्च गर्न सक्छ ? मलाई के एउटा बच्चा जन्माउन इच्छा छैन र ? अझै मैले घरबाट (सासू) अदृश्य अपमान, पूजापाठमा हुने अदृश्य अपहेलना भोग्नु त छँदैछ; सञ्चारमाध्यमले सोध्ने प्रश्न त अझै कटु लाग्छन् ।’

    त्यसपछि म झसङ्ग भएँ । सन्तान नहुँदा ग्रामीण भेगका महिला मात्रै होइन; पढेलेखेका र शहर–बजारका प्रतिष्ठित महिलाले पनि कति धेरै मानसिक हिंसा खेप्नु परिरहेको रहेछ । जुन कुरा आफूले भन्न र व्यक्त गर्न कति कठिन छ । शायद शारीरिक कारणवश प्रजनन् क्षमता नभएको भए मलाई पनि यी कुरा व्यक्त गर्न र यो ब्लग लेख्न पनि गाह्रो हुन्थ्यो होला तर म मानसिक रूपले बलियो छु । मप्रति तेर्सिने हरेक प्रश्नको उत्तर दिन तयार छु । त्यसैले मप्रतिका जिज्ञासा मभन्दा पनि मेरो नजिककालाई गरिन्छ ।

    हाम्रो गाउँमा होस् वा शहरमा पहिलो भलाकुसारी गर्दै जाँदा विवाह भयो ? कहिले गर्ने ? विवाहित हो भने कति छोराछोरी छन् भन्ने वाक्यबाटै शुरू हुन्छ । यस्ता सन्दर्भमा अझै मेरो उत्तरमा ‘बच्चा जन्माउने योजना छैन’ सुन्ने बित्तिकै अनेकौं शंकालु नजरले हेर्न थाल्छन् । एकै पटकमा अनेकन् प्रश्न आउँछन् । पत्रकार भएर होला शायद मानसिक रूपले नै प्रश्नका उत्तर अगाडि नै रेडिमेड झंै तयार हुन्छन् ।

    मलाई यस्ता प्रश्नको उत्तर दिन कहिल्यै पनि शहरका पाँचतारे कार्यक्रममा होस् वा गाउँका गल्लीमा असहज लाग्दैन । अहिले मलाई यो समाजमा ब्रह्म फोडेर सन्तान जन्माउन नसकेका महिलाहरूको भावना र पीडा बुझ्न निकै सहज भएको छ । छोराछोरी कति छन् ? कतिपय ठाउँमा त उत्तर दिन झ्याउ लाग्दा एउटा छोरी छ भन्छु । त्यसपछि पनि सुख पाइँदैन । एउटा छोरा त चाहिन्छ भनेर सल्लाह दिन्छन् ।

    यस्तो प्रसंग सम्झेर अर्को स्थानमा छोरा छ भन्छु । फेरि फसाद पर्छ । उमेर ढल्कियो अर्को छोरासँगै खेल्ने जन्माउनुपर्छ । भोलि–पर्सि एउटा मात्रै सन्तान हुँदा एक्लै हुन्छ भन्छन् । बुढेसकालमा सन्तानले सहारा दिन्छन्, नत्र कसले हेर्छ भन्छन् । मलाई लाग्छ पत्रकार, चलचित्र र वृत्तचित्र समाजमा बहस सिर्जना गराउने माध्यम हुन् । यिनीहरू समाजमा सोच परिवर्तनको संवाहक पनि हुन् ।

    महिला आफंैमा आमा हो । सन्तान जन्माएर मात्रै आमा भइँदैन । विवाहपूर्व आफ्ना भाइ–बहिनीको ख्याल गर्छिन्, आमाबुबाको सञ्चो–बिसन्चोमा साथ दिन्छिन् । विवाह पश्चात् मिलेसम्म सासू–ससुराको स्याहारसुसार गर्छिन्, श्रीमान्को ख्याल राख्छिन् ।

    सम्बन्ध टिकिरहे र बुढेसकालसम्म बाँचिरहे एकअर्काकोे सहारा भनेको नै श्रीमान्–श्रीमती मात्रै हो । अरू त रित्तिंदै गरेका घर र शून्य हुँदै गरेका पाखा–पखेरामा क–कसका छोराछोरी सँगै छन् र ? हुर्किसकेका छोराछोरी देश छोड्ने तयारी गरिरहँदा अबको अल्फा जेनेरेसन(पुस्ता) कस्तो हुने हो कसले पो देखेको छ र ? त्यसैले मैले सन्तान जन्माउनै हुँदैन भन्न खोजेको होइन है !

    प्रतिकृया दिनुहोस्

    Loading...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    ‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार...

    शहिद हरिदत्त तिवारीको स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईदै

    पर्वत । पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं