काठमाडौं। बासँबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सीजी ग्रुपका व्यवसायी अरुणकुमार चौधरीसहित तीनजनालाई थप २ दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ।
सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना भएको आरोपमा प्रहरीले चौधरीसहित तीन जनालाई माघ १८ गते पक्राउ गरेको थियो । उनीहरुले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकराी जग्गा हडपेको आरोप लागेको छ ।। त्यसक्रममा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद पाएको थियो ।
यो अवधिमा प्रहरीले तीनै जनाको बयान सकेको छ । तर, थप अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले फेरि अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिएको थियो ।