सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/१५ गते

रामचन्द्र भुसाल,पर्वत। पर्वतकाे फलेवास नगरपालिका -३ शंकरपोखरी पोखराचौरमा अवस्थित राम माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा द्रोण राज भुसाल नियुक्त हुनुभएको छ । बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले भुसाललाई प्रधानाध्यापक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।विद्यालयका पूर्व प्रधानाध्यापक तेज बहादुर कार्कीले आफ्नो स्वस्थ्य समस्याका कारण आफु पदमा बसेर काम गर्न कठिन भएको भन्दै पदबाट राजीनामा दिएपछि उहाँको राजीनामा स्वीकृत गरि भुसाललाई प्रअको जिम्मेवारी प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रधानाध्यापक नभएमा विद्यालयको पठनपाठनमा खलल पुग्ने भन्दै तुरुन्तै व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षकहरु, कार्यरत शिक्षक, स्थानीय बुद्धिजिवी सरोकारवाला र विद्यार्थीहरुको सल्लाह तथा चाहना बमोजीम तीस वर्षभन्दा बढि सोहि विद्यालयमा शिक्षण गर्नुभएका अनुभवि शिक्षक द्रोण राज भुसाललाई प्रधानाध्यापक पदमा सर्वसम्मत नियुक्त गरिएको उहाँले बताउनुभयो ।
विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै आजको दिनसम्म सहयोग गरी यो स्थानसम्म ल्याउन प्रेरणा प्रदान गर्नुहुने सम्पूर्णलाई नवनियुक्त प्रअ भुसालले धन्यवाद ज्ञापन गर्नुभएको छ । भुसालले विद्यालयमा रहेका समस्याहरुलाई विस्तारै समाधान गरी पठनपाठनलाई सवल बनाउन आफू हरबखत लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दै शिक्षक, विद्यार्थी र अभिभावकहरुसंगको सहकार्यमा दैनिक पठनपाठन तथा अतिरिक्त क्रियाकलापहरुद्धारा विद्यालयको शैक्षिक प्रगतीमा उल्लेख्य योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
बुधबार एक कार्यक्रमको आयोजना गरी नवनियुक्त प्रधानाध्यापकलाई निमित्त प्रधानाध्यापक सागर तिवारीले पदस्थापन गराउनुभएको थियो । पदस्थापन कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षकहरु, कार्यरत शिक्षक, स्थानीय बुद्धिजिवी, पत्रकार लगायतको उल्लेख्य सहभगिता रहेको थियो । नवनियुक्त प्रधानाध्यापक भुसाललाई अविर र खादाद्धारा भव्य स्वागत गरी बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरीएको रेडियो पर्वतका स्टेशन म्यानेजर रामचन्द्र भुसालको भनाई छ ।
उक्त विद्यालयमा अहिले २ सय ३० जनाभन्दा धेरै विद्यार्थिहरुले पठनपाठन गदै आईरहेको शिक्षक अभिभावक संघका अध्यक्ष टोप बहादुर बि.क. शिवले बताउनुभएको छ ।
















