काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्रलाई बर्वाद पार्ने घातक निर्णय गरेको आरोप लगाएका छन् ।हिजो (पुस १९ गते) परराष्ट्र मन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरबीच नेपाल सरकारको अनुमति विना भारतीय दूतावासले नेपालका कुनै पनि प्रोजेक्टमा प्रति प्रोजेक्ट २० करोड लगानी सहयोग गर्नसक्ने गरी निर्णय भएको भन्दै उनले आपत्ति जनाएका हुन् । नेता गौतमले उक्त निर्णयलाई नेपालको इतिहासमा थप अर्को कलङ्कित घटनाको संज्ञासमेत दिएका छन् ।
उक्त निर्णयसँगै भारतीय दूतावासले एकै पटक ७५३ पालिका र ७ प्रदेशलाई सहयोग दिनसक्ने उनको भनाइ छ । साथै, सडक परियोजना, खानेपानी परियोजना र अन्य कुनै पनि परियोजनामा बाँड्नसक्ने दाबी गर्दै उनले उक्त निर्णयले स्वतन्त्रता, सार्वभौमिकता र स्वाधिनतामा आँच पुर्याएको बताएका छन् ।सरकारको उक्त निर्णयविरुद्ध देश र विदेशमा रहेका सम्पूर्ण नेपाली जनता र तीनै तहका सरकारलाई विरोधमा उत्रिन उनले आग्रह गरेका छन् ।