
सन्तोष बस्याल, पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको १९ औं साधारण सभा सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रम बिच साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रतिष्ठानका सचिव माधव चापागाईले सांगठनिक प्रतिवेदन र सह—कोषाध्यक्ष रिता कार्की कुँवरले कोषाध्यक्षको प्रतिवेदन पेस गरे ।
कार्यक्रमका प्रमुख अतिथि कलाकार कल्याणकारी कोषका अध्यक्ष, संस्थाका प्रमुख संरक्षक प्राज्ञ प्रजापती पराजुलीले कलाकार बाँचे मात्र संस्था बाँच्ने बताए । कोरोना महामारीका समयमा देशका थुप्रै लोकदोहोरी कलाकारमा मर्का परेको उल्लेख गर्दै समस्याको सामाधानमा सबै एक भएर अघि बढ्न आग्रह गरे ।
प्रतिष्ठान कास्कीले हालसम्म गरेका गतिविधि उल्लेखिय रहेको बताउँदै पराजुलीले संस्थाको स्तरउन्नतिमा आफ्नो सँधै साथ रहने बताए । कलाकारको हक, हित र संरक्षणका लागि कलाकार कल्याणकारी कोषको स्थापना गरिएको उनले जानकारी गराए । समस्यामा परेकालाई सहयोग गर्ने हेतुले उक्त कोषले काम गरिरहेको उनको भनाई थियो । आगामी दिनमा पनि सबैको सल्लाह, सुझाव र हौसलाले कोष अगाडि बढ्ने उनले बताएका छन् ।
प्राज्ञ समेत रहेका पराजुलीले राज्यबाटै आपतविपतमा कलाकारको संरक्षण हुुनुपर्ने विषयलाई आफूले पटकपटक उठाइरहेको बताए । उनले भने,‘म प्राज्ञ भएपछि । दोहोरी कलाकारकै हकहितका लागि लडिरहेको छु । कलाकारको जीवन रक्षाको जिम्मेबारी सरकारको काँदमा रहेको भन्दै आवाज उठाइरहेको छु । कलाकार पनि देशका नागरिक हुन् भन्ने कुरा सत्तामा रहेकालाई अवगत गराइरहेको छु ।’
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव जिवन दाहाल, केन्द्रिय सदस्य सरला पाण्डे, निवर्तमान उपमहासचिव चोलेन्द्र पौडेल, गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ, प्रतिष्ठान कास्कीका संस्थापक अध्यक्ष तारापती सुवेदी, सल्लाहकार संयोजक सोमनाथ बास्तोला लगायतका वक्ताले बोलेका थिए ।
२०५८ सालमा स्थापना गरिएको प्रतिष्ठान कास्कीको हालको कार्यसमिति २५ सदस्यीय रहेको छ । ७ औं महाधिवेशनबाट अध्यक्ष टेक क्षेत्रीको नेतृत्वको टीमले हालसम्म ७ लाखको कारोबार हुने गरी काम गरिसकेको छ । गत आर्थिक वर्षमा प्रतिष्ठान कास्कीले विद्या आश्रममा खाद्य वितरण, पोखराका विभिन्न भागमा सरसफाई कार्यक्रम, विद्यालय स्तरिय तीज गीत प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिसकेको प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीले बताए ।
उनका अनुसार कोरोना महामारी र लकडाउनले संस्थाको गतिविधिमा ठूलो असर पुगेको छ । हालको समयमा सामाजिक सुरक्षाका मापदण्डअनुसार कार्यक्रमको आयोजना गर्दै आएको उनले बताए । प्रथम उपाध्यक्ष ज्ञानेश्वर सुवेदीले स्वागत गरेको कार्यक्रमको उद्घाटन सत्र सचिव माधव चापागाईले सञ्चालन गरेका थिए भने बन्द सत्रलाई मधु चापागाईले सञ्चालन गरेकी थिइन् ।
















