News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो

    पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने मनस्थिति बनाइसकेको छ । एमाले संसदीय बोर्डको बैठकले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपनि मंगलबार राजीनामा रोकिएको छ ।

    एमालेकी प्रमुख सचेतक देवका पहारीले संसदीय बोर्डले निर्णय गरिसकेको र मन्त्रीहरुले सामूहिक रुपमा राजीनामा बुझाउने बताएकी थिइन् । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सहकार्य सुरु भएपछि गण्डकीमा पनि एमाले सरकारबाट बाहिरिन लागेको हो ।

    मंगलबार दिउँसो एमालेका चारैजना मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए। सबैले मन्त्रिपरिषद् बैठकबाटै राजीनामा दिने आँकलन गरेका थिए ।तर, मन्त्रीहरु बैठक सकेर राजीनामा नदिइ निस्किए ।

    बैठकबाट बाहिरिने क्रममा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै बाहिर आएको कुरा सत्य नभएको र अहिलेसम्म सरकारमै सामेल रहेको बताए ।

    बुधबार एमाले संसदीय दलको बैठक राखिएको छ । उक्त बैठकमा राजीनामाबारे थप छलफल हुने र विधिसम्मत रुपमा संसदीय दलले निर्णय गरेपछि मात्रै मन्त्रीहरुले राजिनामा दिने बताइन्छ ।

    एमालेबाट सरकारमा ४ जना मन्त्री सहभागी छन् । जसमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली रहेका छन् । यस्तै उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, कृषि मन्त्री भीम कार्की र स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे छन् ।

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गएको वैशाख २ मा मन्त्रिपरिषद् पुनर्गठन गर्दै उनीहरुलाई नियुक्त गरेका थिए । एमालेका मन्त्रीहरु आफूले बनाएको बजेट कार्यान्वयनमा जान नपाउँदै सरकारबाट बाहिरिनु परेको छ ।

    एमाले सरकारबाट बाहिरिए पनि राप्रपा र नयाँ शक्ति पार्टीको समर्थन भने मुख्यमन्त्री पाण्डेलाई कायमै छ । राप्रपा सरकारमा नजाने बताइरहेका बेला नयाँ शक्तिका फणीन्द्र देवकाेटा मन्त्री बन्ने पक्का छ। एमाले छाडेर कांग्रेसलाई सघाएका उनी यसअघि २ पटक मन्त्री भएसकेका छन्। पोहोर भदाै २३ मा जेन्जी आन्दाेलनपछि उनले मन्त्रीबाट राजीनामा दिएका थिए । अब कांग्रेसबाट मन्त्री को बन्ने भन्ने रस्साकस्सी सुरु भएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया