News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

    पर्वत । पर्वतका विभिन्न स्थानमा गाई, गोरु तथा बाच्छाबाच्छीमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पशुमा खोप लगाउने तथा रोगको पुष्टि गर्न नमुना परीक्षण गर्ने काम एकैसाथ सुरु गरिएको छ।

    मोदी गाउँपालिका–५ बाजुङ, फलेवास नगरपालिका तथा कुश्मा नगरपालिका–१० पिपलटारीमा लम्पी स्किनसँग मिल्दोजुल्दो लक्षण देखिएका पशुमा खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले जनाएको छ। लक्षण देखिएका पशुबाट नमुना सङ्कलन गरी रोगको पुष्टि गर्न पोखरास्थित प्रयोगशालामा बिहीबार पठाइएको कार्यालयले जनाएको छ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका प्रमुख सुरेश कुमार श्रेष्ठका अनुसार नमुना परीक्षणको नतिजा आउन दुईदेखि तीन दिनसम्म लाग्न सक्छ। प्रारम्भिक रूपमा देखिएका लक्षण लम्पी स्किनसँग मिल्दोजुल्दो भएकाले जोखिम न्यूनीकरणका लागि खोपसमेत लगाइएको उहाँले बताउनुभयो।

    “अहिले सुरुवाती अवस्था हेर्दा लम्पी स्किनको लक्षणजस्तै देखिएको छ। त्यसैले खोप पनि दिइएको हो र शङ्काको पुष्टि गर्न नमुना परीक्षणका लागि पठाएका छौँ,” श्रेष्ठले भन्नुभयो।

    कार्यालयका पशु प्राविधिक प्रकाश परियारका अनुसार हालसम्म तीन वटा गाईमा लम्पी स्किनसँग मिल्दोजुल्दो लक्षण देखिएको छ। यद्यपि विगतमा जस्तो गम्भीर अवस्था भने अहिले नरहेको उहाँको भनाइ छ। विगतमा पर्वतमा लम्पी स्किनका कारण ७० देखि ७१ वटा पशु मरेको स्मरण गर्दै उहाँले अहिले कृषक आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो।

    पशु प्राविधिक परियारका अनुसार विगतमा खोप लगाउन छुटेका केही पशुमा अहिले लक्षण देखिएको हुनसक्ने सम्भावना छ। त्यसैले पशुमा असामान्य लक्षण देखिएमा तत्काल सम्बन्धित स्थानीय तहको पशु सेवा शाखा वा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयमा जानकारी गराउन उहाँले आग्रह गर्नुभएको छ।

    लम्पी स्किन गाईभैँसीमा लाग्ने भाइरसजन्य सङ्क्रामक रोग हो। सङ्क्रमित पशुको रगत चुस्ने झिँगा, लामखुट्टे तथा किर्नाजस्ता कीराका माध्यमबाट यो रोग स्वस्थ पशुमा सर्न सक्छ। सङ्क्रमित पशुसँगको सम्पर्क, दूषित उपकरण तथा एउटै सुईको प्रयोगबाट समेत सङ्क्रमण फैलिन सक्ने पशु प्राविधिकहरू बताउँछन्।

    पशुमा छालामा गाँठा आउने, ज्वरो आउने, आँखा तथा नाकबाट पानी बग्ने, दूध उत्पादन घट्ने लगायतका लक्षण देखिएमा तत्काल पशु प्राविधिकलाई खबर गर्न आग्रह गरिएको छ। साथै पशुलाई समयमै खोप लगाउने, नयाँ पशुलाई केही समय अलग्गै राखेर निगरानी गर्ने, गोठ तथा आसपासको क्षेत्र सफा राख्ने र झिँगा, लामखुट्टे तथा किर्ना नियन्त्रण गर्ने उपाय अपनाउन कृषकलाई सुझाव दिइएको छ।

    कार्यालयले हाल देखिएको अवस्थालाई निरन्तर निगरानीमा राखिएको जनाएको छ। प्रयोगशालाबाट प्राप्त हुने परीक्षण नतिजापछि मात्रै पशुमा लम्पी स्किन रोग भए–नभएको यकिन हुने कार्यालयको भनाइ छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया