News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते

    पर्वत।पर्वतको फलेवास नगरपालिका–१०, कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
    बुधबार दिउँसो करिब २ः३० बजे लुङ्खुबाट बिहादी गाउँपालिका–१ बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो फलेवास–१० कुर्घास्थित सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो। ओरालो बाटोमा ब्रेक फेल भएको कारण चालकले अटो नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
    दुर्घटनामा अटोमा सवार बिहादी गाउँपालिका–१ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा लगिएकोमा दिउँसो ३ः३९ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
    दुर्घटनामा सोही स्थानकी २४ वर्षीया कविता विकको दाहिने खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। यस्तै, १५ वर्षीया अन्जुली विकको दाहिने खुट्टामा भित्री चोट लागेको छ भने १३ वर्षीया दुर्गा विकको टाउकोमा भित्री चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको बताइएको छ।
    अटो चालक फलेवास नगरपालिका–११ पाङ्ग्राङका ३६ वर्षीय मनबहादुर परियारको बायाँ ढाड र कुममा भित्री चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
    दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी फलेवासबाट प्रहरी सहायक निरीक्षक उत्तम अर्मजाको कमाण्डमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो। घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा पठाइएको प्रहरीले जनाएको छ।
    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया