
पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको हो । जिल्लास्थित विभिन्न संघ संस्थाले विभिन्न गतिविधिहरु गरी सचेतामुलक रुपमा १६ दिने अभियान गरेका हुन् ।
७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा अन्तरसंवाद सहित कार्यक्रम समापन गरिएको हो । लैंङ्गिक हिंसा न्यूनिकरणका लागि लामो समयदेखि विभिन्न सचेतनामुलक कार्यक्रमहरु हुँदै आएपनि समाजमा त्यस्ता खालका घटनाहरु मौलाउँदै गएको पाईएको छ । सचेतनामुलक तथा नियन्त्रणमुखि कार्यक्रमहरु प्रभावकारी हुन नसकिरहेको सरोकारवालाहरुले बताएका छन् ।
पर्वत जिल्लाकै सन्दर्भमा हेर्ने हो भने स्थानीय तहमा भएका न्यायिक समितिदेखि जिल्ला प्रहरीसम्म हिंसापिडितका उजुरीहरु बढ्दो क्रममा देखिएका छन् । यस्ता उजुरीहरु कतिपय मिलापत्र र कतिपय कानूनी प्रकृयाबाट फछ्र्यौट गर्ने गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक बिजय यादका अनुसार चालु आर्थिक महिनाको पाँच महिनासम्म लैंङ्गिक हिंसाका १४ वटा घटना दर्ता भएका छन् । जसमध्ये ८ वटा मिलापत्र गरिएको छ भने २ वटा अदालत प्रकृयामा गएका छन् । बाँकी चारवटा प्रकृयामा रहेका छन् । गत आर्थिक वर्षमा एक सय ८४ वटा मुद्धा परेका थिए । त्यसमध्ये एक सय ६३ वटा मिलापत्र, ३९ वटा अदालती प्रकृयाबाट र टुंगो लगाईएको थियो ।
शहर भन्दा ग्रामीण क्षेत्रमा लैंङ्गिक हिंसाका घटना बढि घट्ने गरेको पाईएको छ । यस्ता घटना न्यूनिकरणका लागि प्रहरीले सयौ सचेतनामुलक कार्यक्रम गर्दै आएको प्रहरी नायब उपरिक्षक यादबले जानकारी दिनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगर उपप्रमुख स्वस्थानी रिजालले मानवअधिकारको रक्षा गर्नु तीनै तहका सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो । समाजमा विभिन्न कारणले लैंङ्गिक हिंसाका घटनाहरु घट्ने गरेको बताउँदै त्यसको पहिचान गरी सचेतना र कानूनी कारबाही दुवैमार्फत न्यूनिकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृत खिमानन्द बस्याल लगायतले मानवअधिकार, प्रेस स्वन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै नागरिकलाई आधारभुत हकअधिकारको सुनिश्चितता गर्ने सवालमा राज्य र समुदायबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र डिजितटल प्लेटफर्म मार्फत पनि विभिन्न प्रकृतिका घटनाहरु घटिरहेको बताउँदै सामाजिक सञ्जाल संचालन, नियमन र मापदण्ड तथा सचेतनाका कार्यक्रमहरुलाई पनि अघि बढाउनुपर्ने सहभागिहरुको भनाई रहेको छ ।
सो अवसरमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सुझाव तथा प्रतिकृया दिएका थिए । गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नागरिक समाज पर्वतका संयोजक माया अधिकारी र संचालन सचिब बलिनारायण रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रम संचालन गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, एकीकृत सेवा कार्यालय, कुश्मा नगरपालिका, राष्ट्रिय मानवअधिकार आयोग, गैसस पर्वत, नागरिक समाज सञ्जाल र शिक्षाका लागि राष्ट्रिय अभियान पर्वतले समन्वय र सहकार्य गरेका थिए ।

















