News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    दुई हप्तादेखि अमेरिकामा नेपाली नर्स बेपत्ता

    काठमाडौं। अमेरिकाको भर्जिनिया राज्यमा कार्यरत् २८ वर्षीया नेपाली नर्स दुई सातादेखि बेपत्ता छिन् । अन्तिम पटक जुलाई ३१ (१६ साउन) मा मनसास पार्कमा देखिएकी ममता काफ्ले सम्पर्कविहीन भएकी हुन् ।

    मनसास पार्क पुलिस विभागले एउटा सूचना जारी गर्दै त्यसपछि उनको परिवारसँग सम्पर्क नभएको उल्लेख गरेको छ । बेपत्ता भएको धेरै समय भएकाले यसलाई प्रहरीले शंकास्पद मानेको छ ।

    न्यूयोर्कबाट सञ्चालित टेलिभिजन एबीसी न्युजले अनलाइन संस्करणमा उल्लेख गरेअनुसार, काफ्लेको खोजीका लागि अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेका छन् । खोजीका लागि अनुसन्धानका विभिन्न विधिको प्रयोग गरेका छन् ।

    उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाई (१३ साउन) मा कुरा गरेका थिए भने श्रीमान्‌ले ३१ जुलाई (१६ साउन) मा अन्तिम पटक देखेको बताएका छन् ।

     

    एबीसी न्यूजको वेवसाइटमा उल्लेख भएअनुसार, श्रीमान्ले तीन दिनपछि मात्र प्रहरी कहाँ उनी बेपत्ता भएको खबर गरेका थिए । त्यसपछिका दिनमा गुप्तचरहरुले पनि व्यापक जाँच गरेको भनिएको छ । त्यसक्रममा पछिल्ला दिनहरुमा उनको परिवार, साथीभाई र काम गर्ने ठाउँमा निकै कम सम्पर्क हुने गरेको पाइएको छ ।

    उनका पूर्वसहकर्मी सुनिता बस्नेत थापाका अनुसार, मंगलबार उनको खोजीका लागि मनसास पार्कमा साथीभाइहरु स्वेच्छिक रुपमा भेला भएका थिए । ‘उनी हराएको विषयमा सबैलाई थाहा होस् र मिडियासम्म पनि यो कुरा पुगोस् भनेर भेला भएका हौं’, उनले भनेकी छन् ।

    https://youtu.be/GIWL8V2f_io?si=vzLa8yQY1aWAsyuS

    भेलामा सहभागी नादिया नावारोले आफ्नो ११ महिनाको बच्चालाई छाडेर आमा बेपत्ता हुनु अनौठो भएको बताइन् । ‘उनी हतास भएपनि केही कुराको सामना गरिरहनु परेको भएपनि, उनले बच्चालाई किन छाडिन् भन्ने हो’, उनले भनेकी छन् ।

    साथीहरुले गरेको भेलामा काफ्लेका पति त आएनन्, तर फोनमार्फत कुरा गर्दै ११ महिनाको बच्चालाई छाड्न नमिल्ने भएकाले आउन नसकेको बताए । उनले त्यसक्रममा भने, ‘उनलाई जतिसक्दो चाँडो भेट्टाउनुपर्ने छ, समाज र प्रहरी सबैले सहयोग गरिदिनु होला ।’

    प्रतिक्रिया

    ट्रेन्डिङ