शिशिर पौडेल, पोखरा । पोखरा महानगरपालिका वडा नं १६ मा रहेका महिला उद्यमीलाई लेवलिङ्, प्याकेजिङ्ग तथा बजारिकरण सम्बन्धि तालिम दिइएको छ।महिला उद्यमी संघ कास्की, वडा कार्यालय पोखरा १६ र ग्रीन भ्याली बहुउद्देश्यीय सरकारी संस्थाको आयोजनामा २ दिनसम्म तालिम संचालन गरिएको तालिम संयोजक वडा सदस्य मञ्जु नेपालीले जानकारी दिईन् ।
वडाभित्रका महिला उद्यमी सहभागी तालिममा खाद्यविज्ञ महेश बरालले प्याकेजिङ्ग र लेवलिङ, सहकारीका अध्यक्ष प्रकाश आचार्यले बजारिकरण, वडा सचिव एवम् सुचना अधिकारी श्रीराम पौडेल, प्रमिला पौडेलले उद्योग दर्ता प्रक्रियाका विषयमा सहजिकरण गरेका थिए। यसअघि तालिमको उद्घाटन गर्दै वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले स्थानीय स्तरमा हुने उत्पादनलाई बजारीकरण गर्न र उत्पादन वृद्धिका लागि तालिम फलदायी भएको बताए ।
महिला उद्यमी संघ कास्कीका अध्यक्ष शारदा बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य राजकुमारी बानियाँ, रामकाजी गुरुङ, कृषि सञ्जालका अध्यक्ष जित वहादुर वस्नेत, गोविन्द आचार्य लगायतकाले पोखरा १६ कृषि उत्पादनका लागी महत्वपुर्ण क्षेत्र भएको बताए। कार्यक्रम संयोजक नेपालीले स्थानिय उद्यमी र उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय सरकार सदैव तयार रहेको बताईन । संघका अध्यक्ष वरालले कोशेली घर निर्माण गरी बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाईन ।
त्यस क्षेत्रका महिलालाई कृषि उत्पादन मार्फत आम्दानीका लागि ग्रीन भ्याली सहकारीले प्रोत्साहन गर्दै आएको छ ।