
पर्वत । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर पर्वतको मोदी गाउँपालिकाले मोदी गाउँपालिका स्तरीय खुल्ला तिज प्रतियोगिताको आयोजना गरेको छ ।
मोदी गाउँपालिकाकी महिला विकास निरिक्षक शोभा देवी शर्माका अनुसार यही भदौ ८ गतेका लागि प्रतियोगिताको आयोजना गरिएको छ भने उक्त प्रतियोगितामा वडामा रहेका आमा समूह, महिला समूह, महिला उद्यमी समूह लगायतले सहभागिता जनाउन सक्ने गरी गाउँपालिकाका ८ वटै वडा कार्यालयहरुमा पत्राचार गरिएको छ । उक्त प्रतियोगितालाई अवलोकन गर्नका लागि वडा सदस्य तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई आह्वान पनि गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय बन्ने समूहले क्रमशः १५ हजार, १० हजार र ७ हजार तथा सान्त्वनाले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका नियमहरुमा एउटा समूहमा बढीमा दश जना भन्दा हुन नपाइने, गीतको विषयबस्तु महिला शसक्तिकरण गर्ने, संस्कृतिको रक्षा गर्ने, रचतात्मक र मौलिक हुनुपर्ने, मौलिक पोषाकमा मात्रै उपस्थित भएको हुनुपर्ने भनिएको छ । सहभागी हुन चहाने समूहले भदौ ७ गते बेलुका ५ बजे भित्रमा फोनबाट भए पनि नाम दर्ता गराउन सक्ने मोदी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
उक्त प्रतियोगिता मोदी गाउँपालिका–२ पातिचौरमा रहेको पालिकाको प्राङगडमा गरिने र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रतियोगिता सञ्चालन हुने पनि संयोजक शर्माले बताइन ।
















