
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ वटा विद्यालयलाई हस्तान्तरण गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिबल
प्रतियोगिताबाट बचत भएको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णय बमोजिम वडा नम्बर १३ का सामुदायिक विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए । उनका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५ सय र सिमला आवि, आर्वालाई १० हजार रुपियाँ सहयोग गरिएको थियो ।
सङ्कलन भएको जम्मा रकम २ लाख ७७ हजार ५९१ रुपियाँ मध्ये खर्च कटाएर बचत रहेको ६१ हजार ३३६ रुपियाँबाट उक्त सहयोग गरिएको आर्थिक संयोजक रामप्रसाद बरालले जानकारी दिए ।
तीनवटै विद्यालयमा आयोजित एक कार्यक्रममा खेल संयोजक अमृत परियार, श्री अधिकारी, आर्थिक संयोजक रामप्रसाद बराल, लक्ष्मणप्रसाद बराल, उपसंयोजक सुरज अधिकारी, शम्भु सिग्देल लगायतको सहभागिता रहेको थियो ।
















