
काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू २० महिला एसियन कप छनोट फटबलमा आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ ।
शुक्रबार भएको खेलमा नेपालले साउदी अरेबियालाई १–० गोल अन्तरले हराएको हो । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा निर्धारित समय सकिनै लाग्दा ९०औँ मिनेटमा नेपालका लागि शुक्रिया मियाँले गोल गर्दै नेपाललाई जित दिलाइन् ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग फराकिलो हार बेहोरेको थियो । अब नेपालले आगामी आइतबार उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।
















