
काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व आज देशभर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
रक्षाबन्धन बाँध्न एवं जनै फेर्न बिहानैदेखि पशुपतिनाथसहित मठमन्दिरमा भक्तजनको भीड लागेको छ । तराईक्षेत्रमा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन पर्व मनाउदै छन् ।
जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटीले रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
















