SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/२३ गते
    ४६० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पार्टीभित्र र बाहिर पनि चर्को विरोध भएपछि सत्तारुढ गठबन्धनले राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनमा सकेसम्म आमचुनाव हारेकालाई घटाउने प्रयास गरेको छ ।तर आज सोमबार मनोनयन दर्ता गर्ने ५२ जना मध्ये केही नेता आमचुनाव हारेकाहरु छन् । आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्यको चुनाव जित्ने लगभग पक्का रहेकाले सत्ता गठबन्धनबाट आमचुनाव हारेका व्यक्ति उम्मेदवार बन्नुलाई चासोका साथ हेरिएको छ ।जनताको प्रत्यक्ष मतबाट निर्णय हुने आमचुनावमा हारेका व्यक्ति सजिलो चुनावको उम्मेदवार बनेको बलियो उदाहरण नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला बनेका छन् ।

    गत वर्ष सम्पन्न प्रतिनिधिसभाको चुनाव झापा–३ बाट हारेका सिटौला राष्ट्रियसभाको अध्यक्ष बन्ने गरी कोशी प्रदेशबाट अन्य कोटातर्फ उम्मेदवार बनेका छन् । कांग्रेसका पूर्वमहामन्त्री सिटौला २०६३ सालको अन्तरिम सरकारमा गृहमन्त्री र २०७० को चुनावपछि संविधान मस्यौदा समितिका सभापति थिए । तर जित भन्दा धेरै हार बेहोरिरहेका सिटौला गठबन्धनका नेताहरु मनाएर राष्ट्रियसभाको साझा उम्मेदवार बनेका छन् । सिटौलाजस्तै गत वर्षको चुनाव हारेका पूजा चौधरी मधेशबाट गठबन्धनकै उम्मेदवार बनेकी छन् । जनता समाजवादी पार्टी (जसपा) ले पाएको कोटामा राष्ट्रियसभाको उम्मेदवार बनेकी चौधरी गत वर्ष रौतहट–३ (क) बाट प्रदेशसभा सदस्यमा पराजित भएकी थिइन् ।

    तर पिता गोविन्द चौधरी जसपाको कार्यकारिणीसभा सदस्य रहेको लाभ उठाउँदै पूजा उम्मेदवार बनेकी छन् । सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका झक्कु सुवेदी कुनैबेला पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई काठमाडौं–२ बाट हराएर राष्ट्रिय राजनीतिमा चर्चित थिए ।माओवादी नेता सुवेदीले २०६४ सालको पहिलो संविधानसभा चुनावमा नेकपा एमालेका तत्कालीन महासचिव माधव नेपाललाई हराएका थिए । त्यसपछि सम्पन्न आमचुनाव जित्न नसकेका सुवेदीलाई माओवादी केन्द्रले सहज व्यवस्थापन गर्न राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ ।सत्ता गठबन्धनमा दुई सिट भाग पाएको नेकपा एकीकृत समाजवादीले गत वर्ष उपमेयरमा हारेकी व्यक्तिलाई उम्मेदवार बनाएको छ । कर्णालीबाट महिला कोटातर्फ उम्मेदवार बनेकी सावित्री मल्ल दैलेखको नारायण नगरपालिकामा उपमेयर हारेकी थिइन् । तर उपमेयर हारेको व्यक्तिलाई एकीकृत समाजवादीले राष्ट्रियसभाको उम्मेदवार बनाएको छ ।

    यी केही उदाहरणले जनताबाट प्रत्यक्ष जित्न नसक्नेहरुलाई व्यवस्थापन गर्ने सजिलो माध्यम राष्ट्रियसभा बनिरहेको देखाउँछ । यद्यपि चर्को आलोचनाकै कारण शीर्ष नेताहरु थोरै सम्हालिन खोजेका छन् । तर २०७४ पछि सम्पन्न राष्ट्रियसभा चुनावको प्रवृत्ति बने जनताबाट अस्वीकृत भएकाहरुको सत्ता भोक मेटाउने थलो राष्ट्रियसभा बनिरहेकै पुष्टि हुन्छ ।

    पहिले प्रतिनिधिसभा रोज्थे

    अहिले जनताबाट अस्वीकृत भएर राष्ट्रियसभामा जाने प्रवृत्ति देखिनु भनेको राष्ट्रियसभाकै नजीर उल्टिनु हो । किनकि राष्ट्रियसभाको इतिहास अहिले जति बद्नाम छैन ।२०१६ सालकै महासभा हेर्दा पनि आमवृत्तमा प्रसिद्धि भएका एवं विषयविज्ञ थिए । २०१५ सालको आमनिर्वाचनपछि पहिलोपटक गठित महासभा भनिने सदनमा कांग्रेसको प्रतिनिधित्व गर्नेहरुमा डा. तुलसी गिरी पनि थिए । पछि गिरी पञ्चायतकै प्रधानमन्त्री भए । बलबहादुर राई, सूर्यप्रसाद उपाध्याय, बखानसिंह गुरुङ जस्ता व्यक्तिहरु सदस्य रहँदा महासभाको गरिमा बेग्लै थियो ।

    पञ्चायतको अन्त्यपछि २०४८ सालमा गठित राष्ट्रियसभामा समकालीन राजनीतिको नेतृत्व लिने नेताहरु नै सदस्य भए । पहिले राष्ट्रियसभा सदस्य भएर पछि आमचुनाव चुनाव लडेका माधवकुमार नेपाल मुलुककै ३४औं प्रधानमन्त्री भए ।सुवास नेम्वाङले प्रतिनिधिसभा (संविधानसभा) का सभामुख भएर इतिहास नै बनाए । राष्ट्रियसभा सदस्य हुँदै २०५१ सालमा कानून मन्त्री बनेका नेम्वाङले २०५६ सालको प्रतिनिधिसभा सदस्य चुनाव लडेका थिए । राष्ट्रियसभापछि इलाम गएर प्रतिनिधिसभामा उम्मेदवार बनेका नेम्वाङले आफूले लडेका कुनैपनि चुनाव हारेनन् । दोस्रो जनआन्दोलनको जगमा प्रतिनिधिसभा पुनर्स्थापना भएपछि नेम्वाङ लगातार दश वर्ष सभामुख एवं संविधानसभा अध्यक्ष रहे ।

    २०५४ सालमा राष्ट्रिय सदस्य रहेका प्रकाशमान सिंह नेपाली कांग्रेसको महामन्त्री समेत भए । उनी काठमाडौं–१ बाट लगातार चुनाव जितिरहेका छन् भने आमचुनाव जितेरै मन्त्री भए ।राजाको मनोनीत कोटाबाट २०४८ सालमा राष्ट्रियसभा सदस्य बनेका पूर्णकुमार शेर्पाले पछि आमचुनाव जितेर मन्त्री भए । अहिलेका सभामुख देवराज घिमिरे राष्ट्रियसभा सदस्य भएर प्रतिनिधिसभातिर गएका व्यक्ति हुन् ।

    पार्टीले राष्ट्रियसभामा पहिले पठाएको, तर फेरि जनताकै बीचमा गएर चुनाव लडेका नेताहरुको सूची लामै छ । पार्टी र राष्ट्रिय राजनीतिको उच्च तहमा पुगेका अष्टलक्ष्मी शाक्य, नरहरी आचार्य, प्रदीप नेपाल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, महेश आचार्यहरूले राष्ट्रियसभा सदस्य भएर फेरि जनताको बीचमा जाने निर्णय गरेका थिए ।सत्यनारायण मण्डल, प्रेमसिंह धामी, आमोदप्रसाद उपाध्याय, गोपालमान शाक्य, चन्द्रराज ढुंगेल, जगत बोगटी, प्रेमबहादुर सिंह, प्रेमसिंह धामी, भरतकुमार प्रधान, महेश चौधरी र सुरेश मल्लले राष्ट्रियसभाको कार्यकाल सकेर जनताबाट प्रत्यक्ष निर्वाचित हुने प्रतिनिधिसभाको उम्मेदवार बन्न चाहेका थिए । यी मध्ये कयौले जितेर मन्त्री समेत भए ।

    कतिसम्म भने राष्ट्रियसभाको कार्यकाल बाँकी रहँदै सुवास नेम्वाङ, ईश्वर पोखरेल र प्रदीप नेपालले २०५६ सालको चुनावमा लडेका थिए । जितेपछि राष्ट्रियसभा सदस्य पदमा उपनिर्वाचन भएको थियो ।

    अहिले राष्ट्रियसभाको दौडधुप

    २०७४ पछि फेरि गठित राष्ट्रियसभा सदस्यको चुनावमा हेर्दा भने बिगतको अभ्यास बिर्साउने गरी नागरिकमा बितृष्णा थप्ने प्रवृत्तिले निरन्तरता पाउँदै आएको छ ।हालका राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल त्यस्तै एक पात्र हुन् । २०५६ सालको आमचुनाव पर्सा–४ बाट जितेकी अर्याल अहिले माओवादी कोटाबाट राष्ट्रियसभा उपाध्यक्ष छन् । लामो समय एमालेको राजनीति गरेकी अर्याल पुनस्र्थापित संसद सदस्य हुँदै मन्त्री समेत भएकी थिइन् । तर त्यसपछि अर्यालले आमचुनाव जित्न नसकेकी थिइनन् ।

    आमचुनाव हारेर राष्ट्रियसभा पुग्ने शीर्ष नेताहरुको उदाहरण वामदेव गौतम र नारायणकाजी श्रेष्ठ हुन् । तीन पटक उपप्रधान एवं गृहमन्त्री रहेका गौतम राष्ट्रपति मनोनीत भएर २०७८ देखि राष्ट्रियसभा सदस्य छन् ।देशभर वाम गठबन्धनको लहर चलेको २०७४ मा गौतम बर्दिया–१ बाट कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । तर चुनावमा अस्वीकृत गौतमले राष्ट्रियसभामा जाने अडान लिदा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै ठूलो मतभेद सिर्जना भएको थियो । नेकपा फुट्ने एउटा कारण समेत गौतमको चाहना बन्यो ।

    २०७४ मा गौतमजस्तै आमचुनाव हार्ने नेता श्रेष्ठ त अहिले उपप्रधान एवं गृहमन्त्री नै छन् । वाम उम्मेदवार हुँदा पनि चुनाव जित्न नसकेका श्रेष्ठ २०७८ मा राष्ट्रियसभा सदस्य बनेका हुन् ।गौतम र श्रेष्ठसँगै २०७४ को चुनाव हारेर पनि मृगेन्द्रकुमार सिंह यादव राष्ट्रियसभा सदस्य छन् । सप्तरी–४ बाट ०७४ मा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार थिए । तर त्यो चुनाव जित्न नसकेका यादवलाई २०७६ माघमै राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइयो, र उनले जिते ।

    कांग्रेसबाट राष्ट्रियसभा सदस्य रहेकी कमलादेवी पन्त पनि प्रतिनिधिसभा छोडेर आएकी शीर्ष नेतृ हुन् । २०५१ र २०५६ सालको चुनाव जितेकी पन्त पहिलो संविधानसभा सदस्य थिइन् । एकीकृत समाजवादीको उम्मेदवार बनेर राष्ट्रियसभा सदस्य रहेकी जयन्तीदेवी राई प्रतिनिधिसभा सदस्य भइसकेकी नेतृ हुन् ।प्रतिनिधिसभा सदस्य भइसकेका, आमचुनाव जितेका अथवा जित्न नसकेका र अर्को आमचुनाव लड्ने हिम्मत नगर्ने अरु थुप्रै नेता राष्ट्रियसभामा पुगिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं