काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए ।
‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं । हामी विज्ञप्ति निकाल्छौं’, अधिकारीले भने ।
२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको उनले बताए ।राहत शिक्षक केन्द्रीय महासचिव कुमार बजगाईंले आफूहरूका मागमा चासो नराखेका कारण अब शिक्षक महासंघबाट अलग भएर आन्दोलन जारी राख्ने चेतावनी दिए ।