लेखक : नरेश रेग्मी अखिल नेपाल ? राष्ट्रिय ? स्वतन्त्र ? विद्यार्थी ? यूनियन ? हामी अखिल नेपाल रहेनौँ। हामी अखिल नेपाल हुन्थ्यौँ भने देशका अधिकांश शैक्षिक संस्थाहरुमा हाम्रो उपस्थिति हुन्थ्यो। शिक्षामा निजीकरण बढेसँगै अखिल आकारको अनेरास्ववियू सरकारी कलेजहरुतिर खुम्चिने क्रम शुरु भयो। हामी अखिलबाट आंशिक बनिसक्यौँ।
हिजो राष्ट्रिय/राष्ट्रियता भन्दा भूगोल नै बढी बुझ्ने चलन थियो।अखिल नरहे पछि हिजो कै भौगोलिक परिभाषा बुझ्दा पनि आज हामी राष्ट्रिय पनि रहेनौँ। हामी जे लाई राष्ट्रिय भनिरहेका छौँ त्यो परिभाषा एकदम साँघुरो भैसकेको छ। आजको अनेरास्ववियू राष्ट्रिय हुन सकेको छैन।
स्वतन्त्र त झन हामी विल्कुल छैनौँ। स्थापनाकालमा अनेरास्ववियूका नीति निर्णयहरु पार्टीहरुको हस्तक्षेपबाट स्वतन्त्र हुन्थे। आजको अनेरास्ववियू हाछ्युँ गर्दा पनि पार्टी इक्षा विपरित गर्न नसक्ने अवस्था आएको छ । पार्टीको जनवर्गीय संगठन भएको नाताले सल्लाह सुझावसम्म ठिक छ तर आन्दोलनको `माइक्रोम्यानेजमेन्ट´ नै पार्टी नेतृत्वबाट हुँदा हामी स्वतन्त्र रहेनौँ।
हामी सही मानेमा विद्यार्थी पनि रहेनौँ। आजको अनेरास्ववियूको केन्द्रीय समितीको ठूलो हिस्सा स्वयं विद्यार्थी छैन। विद्यार्थी नेतृत्वको विद्यार्थी जीवन इतिहास भैसकेको अवस्था छ। कोही स्ववियु लड्न कै लागि र कोही औपचारिकताका लागि मात्र विद्यार्थी बन्ने चलन छ। त्यही भएर हिजो कलेज कलेजबाट जन्मिने विद्यार्थी आन्दोलन आज भोलि रेष्टुरेन्ट र होटलमा छलफल हुन्छ।
यूनियन भन्दा पनि संगठन `गुटियन´ बनेको छ। हिजो यूनियन भनेको सामुहिकताको उच्चम एकत्व थियो। यो मानेमा हिजोको अनेरास्ववियू साच्चैमा संगठन थियो।आज अनेरास्ववियु यूनियन होइन `गुटियन´ हो। आजको हाम्रो संगठन गुट गुटको उच्चतम अभिव्यक्ति बनेको छ। अ ने रा स्व वि यू लाई पुन: जिवित र पुन: परिभाषित गर्ने बेला आएको छ। विद्यार्थी एकता दिवसको अवसर यहाँबाट छलफल सुरु गरौँ।