
काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारको मान्यता दीपकराज जोशी समूहले पाएको छ ।नेविसंघकोतर्फबाट दुई वटा समूहको उम्मेदवारी परेपछि विवाद बढेको थियो । नेविसंघबाटै उम्मेदवारी दिएको अनोज कार्कीको समूह भने रद्द भएको छ ।
निर्वाचन समितिका एक सदस्यका अनुसार, नेविसंघका सभापतिको सिफारिस, निर्वाचन निर्देशिका, आचारसंहिता, उपकुलपती, रेक्टर रजिस्ट्रार र कानुनी सल्लाहकारको राय सुझाव लिएर निर्णय गरिएको हो ।
नेविसंघ विवाद उत्कर्षमा पुगेपछि नेविसंघकै विद्यार्थी नेताले भौतिक आक्रमणसम्मको धम्की दिएका थिए । लगत्तै निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक पनि गर्न सकेको थिएन ।
त्यस्तै त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन ८ गतेसम्मका लागि सरेको छ । विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ गते हुनेगरी निर्वाचन समितिले सूचना सार्वजनिक गरेको हो ।