SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१२/३ गते
    ५३ &#२३४६;&#२३३५;&#२३२५;

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी चौधरीले थोरै जग्गामा धेरै आलु फलाएका हुन् ।

    पहिलो पटक उनले ‘कोमल कार्प’ नामक जातको आलुखेती गरेका हुन् । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफैं दङ्ग परेको बताउँछन् ।‘आलुसम्बन्धी तालिम लिंदा धेरै फल्ने आलुको नाम सुनेको थिएँ’, चौधरीले भने, ‘रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौंबाट बीउ ल्याएर रोपें, भने जस्तै फलेको छ ।’ प्रतिदाना पाँच रुपैयाँका दरले आठ किलो आलु बारीमा रोपेकोमा त्यसको उत्पादन १२ क्विन्टल भएको उनले बताए ।

    पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भएको आलु उनले बीउका रूपमा राखेर पुनः रोप्ने योजना छ । उत्पादित आलुका दाना आधा किलोदेखि दुई किलोसम्मका रहेका छन् । यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठूलो फल लाग्ने, खानामा स्वादिलो रहेको उनले बताए । मङ्सिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनेको चौधरीको भनाइ छ ।

    चौधरीले जिल्लाका शीतभण्डारगृह नहुँदा बाह्य क्षेत्रमा लगेर भण्डारण गर्ने तयारी गरेका छन् । ‘घरमै राख्दा कुहिएर बिग्रिन्छ’, उनले भने, ‘शीतभण्डारमा राख्नुपर्ने हुन्छ, जिल्लामा एक मात्रै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको शीतभण्डारगृह बन्द भएपछि भण्डारण गर्न समस्या भएकाले बाह्य क्षेत्रमा लैजानुपर्ने बाध्यता छ ।’

    तीन दशकदेखि चौधरी व्यावसायिक आलु खेतीमा संलग्न रहँदै आएका छन् । सो अवधिमा एघार प्रजातीका आलु लगाएर हेरेको उल्लेख गर्दै उनले यति बढी फल्ने आलुको पहिलो पटक खेती गरेको बताए ।

    अन्य जातका आलुको उत्पादन प्रतिकठ्ठा पाँचदेखि सात क्विन्टलसम्म हुने गरेको छ । चौधरीले प्रतिवर्ष १२ कठ्ठादेखि एक विगाहा जग्गामा आलुखेती गर्दै आएका छन् । उनले प्रतिवर्ष दुई सयदेखि तीन सय बोरा आलु उत्पादन गर्दै आउएका छन् । आलु खेती स्याहार्न चौधरीको पूरै परिवार खटिने गरेको छ । रासायनिक मल थोरै र गोबर मल अधिक राखेर आलुखेती गरे बढी उत्पादन लिन सकिने उनी बताउँछन् ।

    आलु उत्पादनको कार्यका लामो समयदेखि संलग्न रहँदै आए पनि बजारमा लगेपछि विचौलिया र व्यापारीले निर्धारण गरेको दररेटमा बिक्री गर्नुपर्दा कुनै बेला लागत नै नउठ्ने गरेको उनी बताउँछन् ।

    किसानलाई मर्का नपर्नेगरी सरकारले धान, गहुँलगायत जस्तै आलुको पनि दररेट निर्धारण गर्नुपर्ने उहाँको माग छ । चौधरी उत्कृष्ट आलु उत्पादन गर्ने किसानका रूपमा तीन पटक पुरस्कृत भइसकेका छन् ।

    पूर्वनगर प्रमुख दीलबहादुर ऐरले किसानले उत्पादन गरेको आलुलगायत तरकारी भण्डारण गर्नका लागि शीतभण्डारको व्यवस्थासँगै बजारमा सहज रूपमा बेच्ने व्यवस्था मिलाउने कार्य स्थानीय तहले गर्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘कर्मा’: मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको...

    नेविसंघमा कार्कीको उम्मेदवारी खारेज, जोशी समूह आधिकारिक:त्रिवि विश्वविद्यालय

    काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारको मान्यता दीपकराज जोशी समूहले पाएको छ ।नेविसंघकोतर्फबाट...

    वक्तृत्वकला प्रतियोगितामा गोगन मा.वि.की सुजाता प्रथम

    पोखरा । विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित ।।।सनातन हिन्दु धर्म संस्कार...

    पोखरा २१ का वडाध्यक्ष सुवेदीमाथि रड प्रहार, गिरी विरुद्ध प्रहरीमा उजुरी

    पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्षमाथि रड प्रहार भएको छ । वडाध्यक्ष...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं