किशोर पन्थी: अमेरिकाको न्युजर्सीमा बस्दै आएका धादिङका मानछिरिङ तामाङले आफूले कोरोना विरुद्ध लडेर नयाँ जीवन पाएको बताएका छन् । उनले नेपालमा हुने ७८ बर्षकी आमालाई आफू पूर्णरुपमा निको भएको सन्देश पठाएका छन् । ‘मलाई कोरोना संक्रमण भएदेखि नेपालमा रहनुभएकी ७८ बर्षकी बृद्ध आमाले निकै चिन्ता गर्नुभयो । हरेक दिन फोन गर्नुहुन्थ्यो । तर मैले आमालाई दिने जवाफ नभएका कारण कैयन दिन फोन उठाउने हिम्मत पनि गरिन । मैले फोन नउठाउँदा आमालाई झन् कति पिर परे होला ।’ – आफू कोरोना संक्रमणका कारण थलिएको बेलाको अनुभव सुनाउँदै तामाङले भने ।
‘आमा अहिले म पूर्ण रुपमा निको भएको छु । अब चिन्ता नलिनुहोला ।’ – उनले भने । तामाङकी ७८ बर्षकी आमा, ७५ बर्षका बुबा, १६ बर्षको छोरा, २० बर्षकी छोरी र श्रीमति नेपालमा छन् । उनले आफ्नो परिवारलाई भेट्न नेपाल जानका लागि टिकट समेत काटिसकेका थिए । तर कोरोनाको महामारी फैलिएसँगै अन्तर्राष्ट्रिय उडानहरु रद्द भएका कारण उनी नेपाल जान पाएनन् ।उनले भने – ‘मैले फरबरीमा नै नेपाल जानका लागि टिकट लिएको थिएँ । अप्रिल ४ को टिकट थियो । तर अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका कारण नेपाल जान पाइन । मार्च २२ मा म अचानक बिरामी भएँ ।’
न्युजर्सीको रेष्टेरेण्टमा समेत काम गर्दै आएका तामाङ नेपाली संचारकर्मी समेत हुन् । उनी आफूलाई रेष्टुरेण्टमा नै काम गर्ने क्रममा कोरोना संक्रमण भएको अनुमान गर्छन् । तर कहाबाट कसरी संक्रमण भयो भन्ने पुष्टी भने भएको छैन ।नियमित काममा गइरहेका उनलाई मार्च २२ आइतबार एक्कासी मलाई रुघाखोकीले च्याप्यो । साथसाथै टाउको दुःख्ने र पुरा शरीर नै दुख्ने हुन लाग्यो । उनी भन्छन् – ‘मलाई स्वासप्रश्वासमा कुनै समस्या भएन । तर रुघाखोकी ज्वरो, ज्यान दुख्ने र रिंगटा लाग्ने यति भयो कि मैले अहिले बताउन सक्दिन ।’
रुघाखोकीले च्यापेपछि सुरुमा उने न्यूयोर्कमा रहेका बहिनीज्वाईलाई जानकारी गराए । मार्च २४ मा उनका बहिनीज्वाई न्युजर्सी आएर उनलाई न्युयोर्क ल्याए । न्युयोर्क आएपछि झन उनलाई ज्वरो बढ्न थाल्यो । ज्वरो चेक गर्दा १०२ डिग्री पुगिसकेको थियो । उनले स्वाद लिने शक्ति पनि गुमाए । उनलाई आफूलाई निकै कमजोर महसुस गरेका थिए ।उनी भन्छन् – ‘२६ तारिखका दिन ज्वाईले मलाई अर्जेन्ट केयरमा लगेर कोभिड १९ टेष्ट गराउनु भयो । तर त्यसको रिपार्ट आउन ढिला भयो । ज्वाईले मलाई धेरै सम्झाउनु भयो । सकारात्मक आत्मबल दिनु भयो । त्यसपछि २७ तारिखका दिनदेखि अर्का एकजना साथीको अपार्टमेन्टमा सेल्फ क्वारेन्टाइनका लागि सरें । त्यहाँ मलाई एकजना बहिनीले हरेक दिन खानेकुरादेखि सबै कुरा धेरै सहयोग गर्नु भयो ।’
मार्चको अन्तिमसाता उनका लागि निकै कष्टकर भयो । परिवारदेखि टाढा हुँदाको पीडा उनले पहिलोपटक सबैभन्दा धेरै अनुभव गरे । उनले बारम्बार नेपालमा रहेको घरपरिवार सम्झिए । एकातिर घरपरिवार निकै चिन्तित थिए, अर्कोतर्फ बिरामी भएको बेला आत्मबल उच्च राख्नुपर्ने थियो ।उनले ज्वरो आउँदा टाइलोनोल लिए भने अरुबेला दिनभरजसो नै मह, लसुन र अदुवा हालेर तातोपानी पिए । त्यो बाहेक उनलाई अरु औषधी लिनु परेन । त्यसपछि बिस्तारै रुघाखोकी र ज्वरो ठीक हुन गयो । खाना खानपनि मन लाग्न थाल्यो ।
उनी सम्पूर्ण रुपमा निको भएको अनुभव गरेका थिए । तर अप्रिल १३ मा झण्डै १५ दिनपछि उनको कोभिड टेस्टको रिपोर्ट आयो । उनमा कोरोना भाइरस पोजेटिभ देखियो । यद्यपी यो परिणाम उनका लागि अनपेक्षित नभएकाले उनी बिचलित भने भएनन् । तर कोरोना संक्रमण पोजेटिभ देखिएपछि आफू आइसोलेसनमा बस्दै आएको साथीको अपार्टमेन्ट छाडेर उनी मोटलमा बस्न थालेका छन् ।
उनी भन्छन् – ‘कोभिड १९ पोजेटिभ भएको नतिजा मलाई सुनाउँदा साह्रै दुःख लाग्यो । आफुलाइ सम्हालें । आत्मबल उच्च बनाएँ । कोरोना संक्रमण भएपछि आत्मबल उच्च बनायो भने कोरोनालाई जीत्न सकिने रहेछ । तर आत्मबल कमजोर भयो भने कोरोनाले जित्न बेर नलगाउने रहेछ । सबैकुरा नर्मल रुपमा लिनुपर्ने रहेछ ।’उनी भन्छन् – ‘म धादिङको सेर्तुङजस्तो विकट स्थानमा जन्मेर संघर्ष गर्दै आएको मान्छे । जीवनमा यति धेरै संघर्ष गरेको मान्छेलाई पनि कोरोनाले केहीबेर आत्मबल कमजोर बनायो । तर साथीहरु र आफन्तले मेरो आत्मबल बढाइरहनुभयो । अहिले म सम्पूर्ण रुपमा नै निको भइसकेको छु ।’
‘विरामी भएको २८ दिन पुरा भएको छ । यतिखेर मलाई कोरोना भारसदेखि बाँचेर नयाँ जीवन पाएको अनुभूति भएको छ । यसका लागि मलाई सहयोग गर्ने सबैप्रति जीवनभरि ऋणी हुनेछु । तपाईहरुले यस्तो जटिल परिस्थितिमा पनि मलाई सहयोग गर्नु भएकोमा ह्रदयदेखि आभार प्रकट गर्दछु । कोभिड १९ महामारीबाट बच्न हेलचक्र्याईं नगरी सचेत रहेन सबैलाई अनुरोध गर्दछु ।’ – मानछिरिङ तामाङले अनुरोध गरे ।-खसोखासबाट