

निर्मल पौडेल पर्वत ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मेला तथा महोत्सवहरुले पर्यटन वर्ष मनाउनका लागि इट्टा थप्ने वताएका छन् । विहिवार पर्वतको फलेवास नगरपालिका ६ देविस्थान माझिचौरमा आयोजित वृहत फलेवास मेलाको उद्घाटन गर्दैै मन्त्री गुरुङले यस्तो वताएका हुन् । देशमा राजनैतीक क्रान्तिको अन्त्य भैसकेको भन्दै आर्थिक क्रान्तिको वाटोमा सरकार अगाडी वढिरहेको वताए ।
पर्यटनको प्रर्वद्धनवाट आर्थिक विकास सम्भव भएकोमा जोड दिँदै मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले मनाउँदै गरेको आन्तरिक पर्यटन वर्ष र नेपाल सरकारले मनाउन गईरहेको पर्यटन वर्षलाई यस्ता महोत्सवहरुले वाह्य तथा आन्तरिक पर्यटकको आगमनमा वृद्धि गराई आर्थिक लाभ लिन सकिने वताए । कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले फलेवासमा पहिलोपटक वृहत मेलाको आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै सवैलाई मेला सफल पार्न आग्रह समेत गरे । उद्घाटन हुनुपुर्व फलेवासको मौलिक पञ्चेवाजा ¥याली र झाँकीका साथ तेक्वान्दो र कराँतेको डेमो समेत प्रदर्शन गरिएको कार्यक्रममा फलेवासका गायक तथा सर्जक कस्तुप पन्त र सरोज साजन श्रेष्ठ लाई नगद र सम्मानपत्रले सम्मान समेत गरिएको थियो ।
यहि २९ गतेसम्म आयोजना गरिएको मेलामा १ सय ५० ओटा स्टल राखिएका छन् । मेलामा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुतीहरुसँगै हास्य प्रहसन पनि देखाइने भएको छ । मेलामा एक लाख रुपैयाँ प्रथम पुरस्कार रहेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला भजन प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला रत्यौली गीत प्रतियोगिता, १५ हजार प्रथम पुरस्कार रहेको खुल्ला फलेवास डान्स आइडोल लगायतका प्रतियोगिताहरु पनि राखिएको छ ।
तस्विर : साजन परियार