SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१८ गते
    ८५४ &#२३४६;&#२३३५;&#२३२५;

    रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दैै मुद्दा दायर गर्न लागेको हो । अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीले तत्कालीन प्रहरी अधिकारीहरूसँग समेत कागज गराएर अनुसन्धानलाई बलियो बनाएको छ । विस्फोटलाई लुकाउन त्यतिवेला सिंगो राज्य नै लागेको थियो । तर, अहिले भने त्यतिवेला चुप लागेका प्रहरी अधिकारी पनि मुखर भएका छन् ।

    प्रहरीले घटनाको छानबिन कमजोर बनाउन मात्र होइन, अपराध गराउनसमेत भूमिका खेलेको खुलासा प्रहरीकै बहालवाला अधिकारीहरूले गर्न थालेका छन् । नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर तथा रौतहटमा कार्यरत तत्कालीन सइ ईश्वरविक्रम शाहले अनुसन्धानकर्तालाई भनेका छन्, ‘विस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा हालेपछि घटना सामसुम पार्न सकिन्छ भनेर सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमबीच सल्लाह भएको हो ।’ अधिकारकर्मीहरूको तत्कालीन प्रतिवेदनले पनि घाइतेहरूलाई ट्र्याक्टरमा इँटाभट्टामा लग्दा प्रहरीको गाडीले स्कर्टिङ गरेको उल्लेख छ ।

    विस्फोटमा घाइते भएका र इँटाभट्टामा मारिएका ओसी अख्तरका ससुरा समसुल मियाँले घाइतेलाई ट्र्याक्टरमा हालेर प्रहरीकै स्कर्टिङमा लगेको र जिउँदै इँटाभट्टामा हालेको आफूले देखेको बताएका थिए । उनले नयाँ पत्रिकासँग भनेका थिए, ‘बोरामा प्याक गरिएका घाइते र मृतकका शरीर ट्र्याक्टरमा लोड गरिएको थियो । प्रहरी भ्यानको स्कर्टिङसँगै ट्र्याक्टर खेततर्फ लाग्यो । पछ्याउँदै जाँदा मुस्ताफ आलमको इँटाभट्टामा भ्यान र ट्र्याक्टर रोकियो । त्यसपछि बोरामा प्याक गरिएका रक्ताम्मे शरीर इँटाभट्टामा हालिरहेको देखेँ । भट्टामा नछिरेका शरीरलाई खुकुरी र बन्चरोले छिनाल्दै भित्र हाले ।’

    तत्कालीन एसपी लामाले सशस्त्र प्रहरीबाट अवकाश पाइसकेका छन् । उनी पक्षघातबाट पीडित भएकोले अहिले उपचारका लागि हङकङमा छन् । त्यसैले उनलाई बयानका लागि प्रहरीले हाजिर गराउन सकेको छैन । तर, पीडित र प्रत्यक्षदर्शीको मात्र होइन, जुनियर प्रहरी अधिकारीहरूको भनाइ पनि मिलेकोले घटनामा शीर्ष प्रहरी अधिकारीको मिलेमतो रहेको दाबी झन् स्पष्ट भएको छ । अझ, निर्वाचनको मद्दतका लागि देशैभर थप प्रहरी टोली खटिएको थियो ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत तत्कालिन डिएसपी पुरुत्तोषम कँडेलसमेत रौतहटमा खटिएका थिए । बम बिष्फोटको खबर सुनेपछि उनले घटनास्थल जानका लागि रौतहटका तत्कालिन एसपी लक्ष्मण न्यौपानेसँग अनुमति मागेका थिए । तर, आफुलाई न्यौपानेलाई जान नदिएको दाबी कँडेलको छ । हाल प्रदेश नम्बर १ प्रहरी तालिम केन्द्रमा एसएसपीको रुपमा कार्यरत कँडेलले अनुसन्धानकर्तालाई भनेका छन्, ‘विस्फोट भएको ठाउँमा जान खोजेको थिएँ, तर जिल्ला इन्चार्ज तथा एसपी लक्ष्मण न्यौपानेले तिमी नजाउ, जिल्लाकै अर्काे टोली जान्छ भनेर रोक्नुभयो । त्यसपछि म जान सकिनँ ।’ उनले यो विषय लिखित रुपमै प्रहरीलाई कागज गरिदिएका छन् ।

    साँझ सवा ६ बजे आलमको गाउँमा विस्फोट भएपछि घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय राजपुरका तत्कालीन इन्चार्ज इन्स्पेक्टर इन्द्र सुवेदीलाई त्यही राति १० बजे जिल्ला प्रहरी कार्यालय गौर सरुवा गरिएको थियो । हाल पोखरास्थित प्रदेश प्रहरी गणमा डिएसपीको रुपमा कार्यरत सुवेदीले नयाँ पत्रिकासँग भनेका थिए, ‘त्यहाँ के भएको थियो भनेर राम्ररी बुझ्न बाँकी थियो, राति नै १० बजे जिल्ला सरुवा गरियो । अर्को इन्स्पेक्टरसाप त्यहाँ जानुभयो, त्यसपछिको जानकारी मलाई हुने कुरै भएन ।’

    सुवेदीले यही व्यहोराको कागज प्रहरीलाई अनुसन्धानकर्तालाई गरिदिएका छन् । उनले प्रहरीलाई भनेका छन्, ‘बेलुका अन्दाजी साढे ६ बजे इलाका प्रहरी कार्यालय राजपुरबाट नियमित गस्तीका लागि निस्कने तयारी गर्दै थिएँ, त्यही वेला पश्चिम दिशाबाट ठूलो धमाकासहित विस्फोटको आवाज आयो । त्यसतर्पm हेर्दा धुँवाको मुस्लो आएको देखेँ । सो स्थल इप्रका राजपुरबाट एकदेखि डेढ किलोमिटरमात्र टाढा थियो ।

    म तत्कालै मोबाइल टोली लिई घटनास्थलतर्पm जाँदै थिएँ, गेटबाट केही परमात्रै पुगेको थिएँ, जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपानेले सञ्चार सेटमा मलाई कल गरी तुरुन्त जिल्ला प्रहरी कार्यालय आउनू आदेश दिनुभयो । मैले भर्खरै यहाँ विस्फोट भएको छ, त्यसको अनुसन्धान गर्नु छ भनेर रिपोर्ट गर्दा पनि उहाँले ‘तुरुन्त आउनू, त्यहाँ अर्को टोली पठाउँला’ भनेर आदेश गर्नुभयो । त्यसपछि म राति नै जिल्ला प्रहरी कार्यालय गौर गएँ ।’ सबैभन्दा भयानक विषय के छ भने राति १० बजे इन्स्पेक्टरको सरुवा भयो, ११ बजे घाइतेहरूलाई ट्र्याक्टरमा हालेर इँटाभट्टातर्पm लगिएको थियो ।

    अनुसन्धानमा सक्रिय प्रहरीहरूका अनुसार नेपाल प्रहरीका तत्कालीन एसपी न्यौपाने र सशस्त्र प्रहरीका एसपी लामा बिष्फोट भएको ठाउँँमा गएर प्रमाण नष्टमा सघाएका थिए । उनीहरूकै प्रत्यक्ष संलग्नतामा घाइतेहरूलाई सुई लगाएर बेहोस बनाई इँट्टाभट्टामा हालिएको देखिन्छ । घटनाका प्रत्यक्षदर्शी चारजनाले प्रहरीलाई कागज गरिदिएर भनेका छन्, ‘मोहम्मद अफ्ताव आलमको काका शेख इद्रिशको गोठघरमा विस्फोट भई १५÷१६ जना मान्छेहरू सख्त घाइते भएको र एक÷दुईजना मान्छेहरूको मृत्यु भएको हामीले देखेका हौँ ।

    निजहरूमध्ये पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँको शरीरका विभिन्न भागमा घाउचोट लागी छटपटिरहेको देखेका हौँ । आलमका निर्देशनमा उनका सहयोगीले चारैतिरबाट घेरी घाइतेहरूलाई सुई लगाई बेहोस् बनाएका हुन् । हामीहरूलाई गालीगलौज गर्दै त्यहाँबाट भगाएका पनि हुन् । तर पनि हामीले लुकेर हेर्दा घाइते तथा मृतकहरूलाई जुटको बोरामा प्याक गरी ट्याक्टरमा लोड गरेका हुन् । गौरीशंकर साहले चलाएको ट्र्याक्टर आलमको आफन्तको राजा इट्टाभट्टाको उद्योग चिम्नी भट्टामा लगी आगो बाल्ने भुंग्रोमा हाली जलाएका हुन् । घाइतेमध्ये सफी अहमद घटनास्थलबाट भागेकोमा ज्यान जोगिन गएको हो ।

    त्यसपछि आलमले रातारात गोठ पुनर्निर्माण गरी स्वरुप परिवर्तन गरेका हुन् ।’ तर, प्रहरीलाई यो कागज गरेर दिने सर्वसाधारण आलमकै गाउँले भएकोले उनीहरूको सुरक्षाका लागि प्रहरीकै अनुरोधमा नयाँ पत्रिकाले पनि नाम गोप्य राखेको छ । तर, उनीहरूले गरिदिएको कागज अदालतमा प्रस्तुत हुँदै छ ।
    नेपाल सरकार र प्रहरीको नेतृत्वको सहमतिविना यति ठूलो घटना गुपचुप रहन सक्दैन । तर, तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र प्रहरी महानिरीक्षक ओमविक्रम राणाले आफूहरूलाई घटनाको विषयमा रिपोर्टिङ नभएको बताउँदै आएका थिए । तर, मिडियामा लगातार समाचार आएपछि तत्कालीन प्रहरी महानिरीक्षक राणासमेत वास्तविकता बताउन बाध्य भएका छन् ।

    उनले घटना भएको र आफूलाई त्यतिवेलै जानकारी भएको भन्दै रौतहट प्रहरीलाई साक्षीका रुपमा कागज गरिदिएका छन् । ‘विस्फोट भएको र मानवीय क्षति भएको रिपोर्ट आएको थियो, मैले अनुसन्धान गरेर कानुनअनुसार कारबाही गर्नु भनेर निर्देशन दिएको थिएँ,’ उनले प्रहरीलाई गरिदिएको कागजमा भनेका छन् । त्यस्तै, तत्कालीन मध्य क्षेत्रीय प्रहरी प्रमुख किरण गौतमसँग समेत प्रहरीले कागज गरेको छ ।

    उनले पनि घटनाको जानकारी आएको र अनुसन्धान गर्न निर्देशन दिएको कागज गरिदिएका छन् । उनीहरु दुवैसहित ३५ जनालाई साक्षीका रूपमा प्रस्तुत गरेर अदालतमा मुद्दा दायर हुँदै छ । साक्षीका रुपमा तत्कालीन आइजिपी राणा र एआइजी गौतमबाहेक बहालवाला एसएसपी कँडेल, डिएसपीहरू राजिव बस्नेत र इन्द्र सुवेदी तथा इन्सपेक्टर ईश्वर बिक्रम शाह छन् । अन्य २९ जना साक्षीहरु प्रत्यक्षदर्शी, पीडित र घाइते छन् ।

    आलम जिवित रहेसम्म जेल बस्नुपर्ने प्रहरीको मागदाबी
    ११ अभियुक्त आलम बाहेक अन्य १० जनालाई फरार अभियुक्तका रुपमा मुद्दा चलाउन लागिएको छ । जसमा महताब आलम, मोबिन आलम, शेख भई, शेख सेराज, शेख फजलेहक, सगिर आमल, शेख जुमई भन्ने शेख मलकार, गौरीशंकर शाह, बद्री सहर्नी र मुक्ति शाहविरुद्ध मुद्दा चलाउन लागिएको हो । उनीहरूमध्ये १० जनालाई जन्मकैदको माग गरिएको छ भने मुक्ति साहलाई मतियारको रुपमा मुद्दा चलाउन लागिएको छ ।

    साह घाइतेलाई जलाइएको ईटा भट्टाका मालिक हुन् । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बिष्फोटक पदार्थसम्बन्धि तीन वटा मुद्दा चल्ने छ । तत्कालिन मुलुकी ऐन र अहिलेको मुलुकी अपराध संहिताअनुसार जन्मकैदको मागसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको रौतहटका एसपी भुपेन्द्र खत्री बताउँछन् । क्रुर किमिसको अपराध गरेकाले जीवीत रहेसम्म कैद सजाय गराउन प्रहरीले मागदाबी लिएको छ ।

    २७ चैत २०६४ मा रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार आलमले मतदानको बुथ नजिकै बम पड्काएर सबैलाई भगाउने र बुथ कब्जा गर्ने योजना बनाउका थिए । त्यसका लागि काका शेख इन्द्रिसको गोठमा बम बनाउन भारतका केही मान्छे ल्याएका थिए । बम बनाउने क्रममा नै बिष्फोट भएपछि दुई नेपालीसहित तीन जनाको मृत्यु भएको प्रहरीको दाबी छ ।

    बिष्फोटका त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएकोमा ईटा भट्टामा हालेर जलाइएको थियो । उनीहरूका परिवारले आलमविरुद्ध किटानी जाहेरी दिएका छन् । तर घटनाका दुई पीडित सफी अमहद र शंकर भनिने गौरीशंकर राम चमारले ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिएका छन् । बिष्फोटमा घाइते भएकाहरू नै उजुरी परेकाले मुद्दा बलियो भएको प्रहरी अधिकारीको भनाई छ । प्रहरीले घाइतेहरूलाई ईटाभट्टामा लैजान प्रयोग गरेको ट्याक्टर समेत प्रमाणका रुपमा अदालतमा बुझाँउदै छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं