प्रा. डा. माधवप्रसाद भट्टराई-
दसैंको उत्कर्ष सुरु भएको छ । चारैतिर उल्लास र उमंग छ । आज बडादसैंको सातौं दिन बाजागाजा र मालश्री धुनका साथ धान, हलेदो, केरा, बेलपत्र, दारिम आदि नौ किसिम चिजबिज जम्मा गरी घरघरमा फूलपाती भित्र्याउने चलन छ । फूल, पात, लहरा देवी दुर्गालाई अति मनपर्छ ।
आज टुँडिखेलमा फूलपाती बढाइँ हुन्छ । खुसीयाली मनाउन बन्दुक पड्काइन्छ, पन्चेबाजा बजाइन्छ । देवीघरमा एकप्रकारले उत्साह र उमंगको सञ्चार हुन्छ । कालरात्रिमा दुर्गालाई प्रसन्न पार्न पूजा गरिन्छ, बलि दिइन्छ । व्रत र उपवास बसेर प्रसाद लिइन्छ । रमाइलो वातावरणमा दुर्गा जाज्वल्यमान र साक्षात् हुन्छिन् ।
अहिले प्रकृतिमा विचलन छ । मनुष्यमा पनि विचलन छ । झ्याप झ्याप पानी परिरहेको छ । हिले दसैं हुने छाँटकाँट देखिएको छ । कोरोना केही हल्का भए पनि डेंगुले समातेको छ । मानिस र प्रकृतिमा केही फरक छैन ।
दसैंको दुइटा साइत हुन्छ । एउटा देवीलाई आह्वान गर्ने घटस्थापनाको साइत, अर्को देवीको विर्सजन अर्थात् बिदाइ गर्ने साइत । टीकाको साइत अनिवार्य होइन । आफ्नो अनुकूल टीका लगाउन मिल्छ । करिब १० बजेको आसपास अर्थात् १०ः३४ बजे देवी विसर्जन गरेपछि टीका लगाउन कुनै बाधा छैन ।
पहिले पहिले टुँडिखेलमा तोप पड्केपछि टीका लगाउने चलन थियो । पञ्चांग निर्णायक समितिले टीकाका लागि ११.५१ बजेको साइत तोकेको छ । तर देवी विर्सजन गरेपछि टीका जतिखेर लगाए पनि हुन्छ । मान्यजनबाट टीका, जमरा, आशीर्वाद लिएर खुसी साथ टीका लगाऊँ । दसैं धुमधाम मनाऊँ ।
संस्कृतिविद् प्रा. डा. भट्टराईसँग नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित ।