SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/९ गते
    १६३ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मोही व्यास :
    ए मेरी मृदु कल्पना ! हृदयकी ए कोमल स्पन्दन !

    मेरो प्यार ! तिमी चटक्क चुँडियौ दुर्दैवले बैँसमा

    झोक्री बस्छु कठै ! प्रिया-विरहमा कल्पेर रातोदिन

    भैँचालो मुटुमा, समुद्र गहमा धिक्कार यो जीवन !

    मेरी प्रिया ! खै कहाँदेखि थालूँ म ? हरे ! त्यसैत्यसै कहालिन्छ मेरो मन ! त्यसैत्यसै अत्तालिन्छ मेरो चेतना । त्यसैत्यसै हुँडलिन्छ मेरो मगज अनि त्यसैत्यसै भक्कानिन्छ मेरो छाती र चरक्क चिरिएर छियाछिया हुन्छ मेरो मुटु, चटक्क चुँडिएर लेथ्नुलेथ्नु हुन्छ मेरो कलेजा । ए मेरी चिरसहचरी ! ए मेरी भावनाकी सुकुमारी कल्पना ! उफ्… ! कति निठुरी हुँदो रहेछ सम्झना !

    ‘२०५४ साल असोज २० गते सोमबार नौरथाको पञ्चमी तिथि । बिहानको ठीक पौने छ बजे । रक्सौलको डङ्कन अस्पतालको आई.सी.यु. कक्षको बेड नं. २’ तिमीले सदाका लागि आँखा चिम्लिएको मिति, समय र ठाउँ । अनि, आज चाहिँ ‘२०५४ साल कार्तिक १४ गते बिहीबार’ मैले तिमीलाई गुमाएको पच्चीसौँ दिन ।

    आकाशमा ताराहरू झिल्मिलाएको र धरतीभरि दीपमाला जग्मगाएको लक्ष्मीपूजाको ठूलोसाँझ । आँगनको डिल र कौसी–करेसाभरि भरेली भएर मग्मगाएका, बेली, चमेली, गुलाफ र रजनीगन्धाका मोहक सौन्दर्य र मादक सुगन्धमा घुँक्किँदै, छरछिमेकबाट हावाले उडाएर ल्याएको सेल र अनर्साको सुवासमा भक्कानिँदै सुकुमारी भैलिनीनानीहरूको सुरिलो गानसँगै छचल्किँदै छु म अटेसमटेस भएर । कुनै दिन तिमीले जतनसाथ आँगनका डिलभरि लहरै रोपेका सयपत्रीका अनगन्ती बिरुवाहरू आज झ्याम्म परेका रहरलाग्दा बैँसालु बोटहरूमा फेरिइसकेका छन् र यिनका हाँगाहाँगामा टुप्पैसम्म ढकमक्क फुलेका छन् झुप्पाका झुप्पा बेगन्ती थुँगाहरू र तिम्रो मोहनी मुहारको टड्कारो झझल्को लिएर मुस्काइरहेका छन् तिम्रै सुकुमार स्वर्णिम सौन्दर्यमा आफूलाई साटेर । झरझर बर्सिरहेका आँखाले अविरल अर्घ चढाउँदै तिमीलाई बतासे सम्बोधन गरिरहेको छु पराजित अविराम यायावरी यात्राबाट फर्केर आज अहिले यो प्यारो घरको एकान्त कोठामा आइबसेको म ।

    पाँच दिनअघिदेखि नै क्रमशः बडादसैंको रङ्ग फिँजिन थालिसकेको थियो गाउँघरमा र जताततै छचल्किंदै थियो आह्लादको महासागर । रेडियो र टेलिभिजनले एकपछि एक गर्दै गुन्जाइरहेका थिए मिलन र खुसीका नानाथरी गीतहरू—

    “तिमीलाई अचेल कहाँ भेटूँ ……?

    कि दिल हर्ने त्यो फूलको लहरामा भेटूँ ?”

    “बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा…..

    तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा… ”

    ………………………………………………

    तर कठै ! दसैँको दिन त मैले तिमीलाई भेट्न कहाँ पाउनु र ! त्यो दिन त तिम्रो छैटौँ दिन पो भइसकेको थियो ।

    त्यसपछि उडेको थिएँ म तिम्रो तेहौँको समाप्तिसँगै शारदी आकाशमा अकासिँदै बतासिँदै माथि…माथि…,पर…पर…डुलिहिँडेको वैशाखी सिमलका भुवाजस्तो बादलुसँगै पखेटा फट्फटाएर । कता ? कुन दिशामा ? कुन गाउँठाउँलाई लक्ष्य गरेर ? तिमी अड्कल गर्न सक्छ्यौ ? हो, म तिमीलाई नै खोज्न, धुइँपत्ताल गरेर तिमीलाई भेटिछाड्न निस्केको थिएँ यायावरी यात्रामा । जताजताबाट तिमी हिँडेकी थियौ, तिमी र म सँगैसँगै हिँडेका थियौँ र जहाँजहाँ पुगेकी थियौ तिमी, जहाँजहाँ पुगेका थियौँ हामी दुई त्यतै, जताततै, जहाँतहाँ, सम्झना भएसम्मका ठाउँहरूमा, तिम्रो मोहक र मादक गन्धलाई पछ्याउँदै । तर उफ् …! कहाँ भेटियौ र तिमी कतै पनि ! जताततै छन् केवल ती–ती दिन र ती–ती छिनमा परेका तिम्रा पाइलाका असङ्ख्यअसङ्ख्य अदृश्य छापहरू ।

    भन प्रिया ! अब म कताको बाटो लागेर कहाँ गई भेटूँ तिमीलाई ? कहाँ ? कुन बस्तीको कुन घरमा ? कुन देवलमा ? बोलिरहेकी, हाँसिरहेकी, रोइरहेकी वा मीठो सपना देखिरहेकी छ्यौ तिमी ? कहाँ ? कुन फाँटको कुन चाहिँ रूखको घना छहारीमा सुस्ताइरहेकी, सिरिरिरि चलेको शीतल बतासमा पसिना ओभाइरहेकी वा दर्के पानीबाट जोगिन ओत लागेकी छ्यौ तिमी ? वा विपरीत दिशाहरूबाट आएर भेटिएका बटुवाहरूसित सहज मानवीय नाताले स्नेह र सद्भावको पूर्णकलश छचल्काएर कुराकानी गरिरहेकी छ्यौ तिमी ? अथवा कुन चाहिँ खोलाको कुन चाहिँ घाटमा तिर्खा मेटाएर वारि आउने वा पारि जाने तर्खरमा लागेकी छ्यौ तिमी ?

    कुन चाहिँ बाटो र ठाउँ होला त्यो जहाँ तिम्रा पाइलापाइला पछ्याउँदै गएर “ए दोबाटा र चौबाटाहरूहो ! ए बारी, बगैँचा र गाउँबस्तीहरूहो ! अनि ए बजार र पसलहरूहो ! एउटी सुकसुकाउँदी युवती यता–यताबाट आवतजावत गर्ने गर्थिन् तीनसाताअघि सम्म । यता फेरि उनलाई देख्यौ कि कसैले ? उनले नारीभरि राता चुरा लगाएकी छिन्, पाखुरीमा टिमिक्क परेको रातो चोलो र फरिया पनि रातै लगाएकी छिन् । गलामा खेलिरहेको छ तिलहरीसहितको रातै पोतेको लामो झुत्तो । उनको निक्खर कालो कपालका मुठीमुठीभरिका दुई नागबेली चुल्ठीहरू तलैसम्म लरक्क लर्केका छन् । उषाको लाली पोतिएझैँ, लालुपाते र लालीगुराँस भरेली भएर ढकमक्क फुलेझैँ राताम्मे सिँदूरले सजिएर झलल्ल परेको छ उनको सिउँदो । गोरो वर्ण र लाम्चो मुहुडाकी पातली, एकचालीसवर्षे ती मेरी प्यारीको आफ्नै उज्यालोले धप्प बलेको छ हँसिलो र रसिलो मोहनी मुहार…” भनेर सोधखोज गर्दा “अँ, तिमीले भनेजस्ती एउटी मैयाँ भर्खर एकै छिनअघि मात्रै त यताबाट गइन् नि, अलि लम्केर जाऊ न, तीँ पर्तिर फेला परिहाल्छिन् नि ” भनेर खै कसले भनिदेला मलाई ? को चाहिँ होला त्यस्तो जानिफकार स्थावर वा जङ्गम ? क–कसलाई सोधूँ म ? कहाँ–कहाँ सोधूँ म ?

    अनेक बाटा हिँडिसकेँ म तिमी हिँडेका । अनेक ठाउँ पुगिसकेँ म तिमी पुगेका । तिम्रो सुगन्ध अझै ताजै छ सबै बाटाघाटा, गाउँबस्ती र घरआँगनमा । तिम्रो सुकोमल स्पर्श अझै आलै छ तिम्रा सुकुमार हातपाउ परेका सारा ठाउँका धूलकणदेखि लिएर तमाम चीजबीजहरूमा, तर कहाँ छ्यौ तिमी ? भन प्रिया ! केही त भन । कहिले कहाँ पुगेर सफलताको शिखर छुन पाउला मेरा बहुलट्ठी पाइतालाको यस अविराम यात्राले ? मलाई सुटुक्क थाहा मात्र त देऊ, अनि त म हिँडिरहनेछु हिँडिरहनेछु हिँडिरहनेछु अनन्तसम्म नै, प्रलयको अन्तिम क्षणसम्म नै ।

    त्यसो त सारा फूलहरूमा म तिमीलाई नै देखिरहेको छु ढकमक्क फुलिरहेकी । त्यसो त सारा सुन्दर सिर्जनाभरि म तिमीलाई नै पाइरहेछु मोहक र मादक स्वर–माधुरीमा गुन्जिबसेकी । त्यसो त सारा गरा,टारी र बारी–बगैँचामा म तिमीलाई नै हेरिरहेछु पोटिला बाला–बाला र झुप्पा–झुप्पामा रूपान्तरित भएर लटरम्म फलिरहेकी । तिमी नै त हौ अबोध–सुकुमार बच्चाबच्चीका स्वप्निल आँखाहरूलाई लट्ठ्याएर लुसुक्क यो फूल र त्यो फूल डुलिहिँड्ने सुनौला, सुन्तला, बैजनी, सेतो, हरियो, रातो, नीलो, गुलाफी, छिर्बिरे, आदि अनेक रङ्गमा सजिएकी, एकदम नरम मुटुभन्दा पनि नरम, एकदम हलुका मनभन्दा पनि हलुका पखेटा भएकी, कुत्कुतीलाग्दो रेसमी स्पर्श बोकेकी र हत्केलामा राखेर नछोईकन सधैँभरि खेलाइरहूँ जस्ती पुतली । हो, तिमी नै त हौ, फुर्रफुर्र भुर्रभुर्र डालीडाली चालीचाली सुरिलो कण्ठ खोलेर मीठो भाकामा चिर्बिराइहिँड्ने लोभलाग्दी चरी । त्यति मात्र किन र, यस विराट् पृथ्वीको तमाम हरियालीका तरेलीहरू मलाई लाग्छ तिम्रै अदम्य जिजीविषा र जीवन्तताको व्याप्ति हो । यस अनन्त आकाशको अभेद्य नीलिमा ठान्छु तिम्रै मृदु मुस्कानको परिणति हो । तर पनि उफ्…! म स्थिर हुन सकिरहेकै छैन । मेरो यो मन कहीँ पनि त अड्न सकिरहेकै छैन ।

    अहिले यति बेला म झल्झली सम्झँदै छु तिमीसितको पहिलो देखादेख र सहजीवन–यात्रा थाल्दादेखिको साढेबाईसवर्षे अवधिका तिम्रो र मेरो संयुक्त जीवनको घामपानीसित गाँसिएका यावत् प्रसङ्गहरू । त्यसो त सम्झँदै छु पनि के भन्नु ! बिर्सेकै पो कहिले छु र मैले तिमीसितको संयुक्त जीवन–यात्राका मेरा प्यारा क्षण–क्षण र कण–कणलाई !

    २०३१ साल माघको पहिलो साताको त्यो दिन । सोमबार या बिहीबार परेको थियो । पारिवारिक योजनाअनुसार त्यस दिन दिउँसो तिमी वृद्ध हजुरामाको साथ लागेर आई कलैयाबजारको एउटा व्यस्त चौबाटोमा पहिलोपल्ट झुलुक्क देखापरेकी थियौ मेरा आँखामा । म पनि त निम्तो पाएर तिमीलाई हेर्नकै लागि गएको थिएँ नि त्यहाँ । मैले मुटु ढुकढुकाउँदै तिमीलाई पुलुक्क हेर्दा तिमीले लाजले रातै भएर मोहनी मुहार निहुराएर भुइँतिर हेरेको मलाई अहिले भर्खरैजस्तो लाग्छ । त, त्यस दिन एकै छिनको दर्शन र निःशब्द साक्षात्कारमा नै मेरो सुकुमार मनले तिमीलाई मौन सम्बोधन गर्दै कवि सूरदासको बोलीमा लोली मिलाएर यसरी घोषणा गरेको थियो —

    “जिन आँखनमें तब रूप बस्यौ

    तिन आँखनसौँ अब देखिए का !”

    (जुन आँखामा तिम्रो रूप बस्यो, ती आँखाले अब अरू कुरा के हेर्नु !)

    त्यसको दुई–चार दिनपछि टीकाटालो गरी कुरा छिनिएको थियो दुईतर्फी पारिवारिक हर्षोल्लासका साथ । अनि, त्यसको तीन महिनापछि २०३२ साल वैशाख ७ गते आइतबार रामनवमीका दिन आफ्नै बारा जिल्लाको पूर्वोत्तरी वनप्रान्तीय गाउँ बोधवनबाट विधिवत् रूपले बेहुली बनाएर ल्याएको थिएँ मैले तिमीलाई । माइती–मावलीकी आँखाकी नानी ‘कृष्णा’ अब मेरी मुटुकी ढुकढुकी ‘कल्पना’ भएकी थियौ । आहा… ! सुँकसुकाउँदै गरेकी तिमीलाई त्यसरी अन्माएर ल्याउँदाको मेरो भावाकुल प्रणयी हृदयको अनुभूति ! भो, बयान गरेर के साध्य ! त्यो त उर्दूृका कुनै कविको मुटु पग्लेर प्रवाहित भएको अभिव्यक्तिसित यसरी एकाकार नै पो भएको थियो—

    “तुम्हें पा के हमने जहाँ पा लिया है

    जमीं तो जमीं, आशमां पा लिया है”

    (तिमीलाई पाएर मैले संसारै पाएको छु । धरती त धरती नै भइहाल्यो, मैले त आकाशसमेत पाएको छु ।)

    त्यसपछिका दिनमा —

    “कैले तीतो वचन गरिने भैदिँदा चूक–भूल

    त्यै तीतोमै पनि तर अहा ! फक्रिने प्रीति–फूल

    गाला जोडी जतिजति खप्यो मुस्किँदै घाम–पानी

    साँच्चै मीठो उतिउति हुने दम्पतीको कहानी”

    लाई मूलमन्त्र तुल्याएर हामीले काँधमा काँध मिलाई अनेक घामपानी खप्यौँ र अनेक आँधीहुन्डरी झेल्यौँ । समयको महाप्रवाहमा बग्दैबग्दै हाम्रो पोल्टामा पर्न आएका परिवर्तनका रमाइला–नरमाइला थुप्रैथुप्रै छालहरूलाई हाँस्तै र रुँदै स्वागत ग¥यौँ । यसरी कहिले खुसीले चुलियौँ हामी त कहिले पीरैपीरले पुरियौँ । सन्चोको साथ थोरै मात्र मिले पनि सन्तोषको साथ भने सधैँभरि मिलि नै रह्यो हामीलाई । त्यही नै भयो हाम्रो सञ्जीवनी र त्यसैको ऊर्जाले गुडिरह्यो हाम्रो जीवन–रथ । त्यस अवधिमा हामीले तीनवटा चल्ला काढ्यौँ र बचेराहरूलाई घामपानीबाट जतनसाथ जोगायौँ, हुर्कायौँ, बढायौँ, पढायौँ र पखेटा लगायौँ । तर, आज ? हरे…! आज त….!

    तिमी दुई दशकसम्म मुटुको भल्भ खुम्चिने ‘माइट्रल स्टेनोसिस्’ नाउँको हृदयरोग वा अलच्छिना राहु–केतुको दारुण डसाइले थङ्थङिएर अनवरत सत्र वर्षसम्म क्रमशः कलैया, वीरगन्ज, रक्सौल, काठमाडौँ, दिल्ली र दक्षिण भारतको पुट्टपर्तीमा उपचाररत हुँदै पुट्टपर्तीमा साईबाबाद्वारा सञ्चालित ‘श्री सत्य साई उच्च चिकित्सा विज्ञान प्रतिष्ठान’ मा शल्यक्रिया गराएको तीन महिनापछि ४१ वर्षको कलकलाउँदो उमेरमै चिरनिद्रामा लीन हुन पुग्यौ, मेरा प्यारा बाबाको बरखी सकिएको ठीक छ महिना पुगेकै दिन । उफ्…कसरी सम्हालिनु मेरो सुकुमार मन, मुटु, मगज र प्राण दुनिर्यतिको यो प्रलयङ्कारी शृङ्खलाबद्ध वज्रप्रहारबाट ।

    मेरी प्रिया ! आज पच्चीसौँ दिन हो तिमी यस धर्तीबाट अन्तध्र्यान भएको । तिमीसित सहजीवन–यात्रा थाल्दाको साढेबाईस वर्षीय कलकलाउँदो नवयुवा म अहिले त्यसको ठीक दोब्बर, पैँतालीस वर्षको प्रौढ भएको छु र तिम्रो जीवनयात्रा अचानक बीचैमा टुङ्गिएर अभागी विधुर बनेको छु । उफ्…! आफूले मुढो ताक्ता बन्चरोले घुँडो ताकेर साराका सारा सपना छिनको छिनमै धुजाधुजा भएको छ अप्रत्याशित रूपमा र उजाडिएको छ मेरो जीवनको स्वर्णिम संसार !

    घरमा, आँगनमा, पिँढीमा, चोटामा र कोठामा सबैतिर तिम्रा जाँगरिला र छरिता हात–पाउको छाप्छाप्ती स्पर्श परेका, तिम्रो स्नेहालु छायाँ र अजम्मरी माया परेका सबैसबै ठाउँमा तिमी नै तिमी छ्यौ अझै पनि । आँगनको मठमा तुलसीदेवता तिम्रो श्रद्धालु हातबाट जलदानको आसमा अल्झिरहेका छन् अझै पनि । यिनै तुलसी देवताको यही मठ, जहाँ तिमी २०३२ साल वैशाख नौ गतेदेखि २०५४ साल असोज १९ गतेसम्म श्रद्धासाथ बिहान–बेलुकै जल–चन्दन–अक्षता–फूल चढाएर र टिङ्लिङ्–टिङ्लिङ् घन्टी बजाएर पूजा–आरती गथ्यौँ । असोज २० गतेको अलच्छिना बिहान नचाहँदा नचाहँदै पनि जीवन र जगत्का तमाम जाल–जन्जालहरूदेखि फुका भएकी तिमी रक्सौलको डङ्कन अस्पतालबाट पार्थिव शरीरका रूपमा घर ल्याइएर यिनै तुलसी देवताको पवित्र छायामा उत्तर सिरान गरी मस्त निदाएकी थियौ । अब तिमीलाई कुनै हतार थिएन, केही बित्दो थिएन, चटारो थिएन । हतार थियो त अरूलाई, बित्दो थियो त अरूलाई, चटारो थियो त अरूलाई, तिमीलाई चाँडोभन्दा चाँडो गङ्गामा लगेर विसर्जन गरिदिने ।

    तिमीलाई एकजोर साउथ सिल्कको सारी लगाउने बिछट्टै रहर थियो । मैले तिम्रो त्यो सानो रहर पनि कहिल्यै पूरा गरिदिन सकेको थिइनँ । गएको असारमा दक्षिण भारतको आन्ध्रप्रदेशको पुट्टपर्तीमा अवस्थित ‘श्री सत्यसाई इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ नाउँको ठूलो अस्पतालमा तिम्रो मुटुको शल्यक्रिया गराउन गएको वेलामा त्यस्तो सारी किन्ने साइत बल्ल जुरेको थियो अपरेशनको चारपाँच दिनमात्र अघि । बाटोमा पर्ने कर्नाटक प्रान्तको राजधानी बैङ्लोरको बजार डुलफिर गर्ने क्रममा पसलपसल चहार्दै जाँदा एउटा पसलमा देखाइएका र तिमीलाई असाध्यै खुल्ने त्यस्ता दुइवटा बुट्टे सारीमा तिम्रो दिल बसेको थियो र तिमीले आफ्नो रोजाइका दामी ती एकजोर साउथ सिल्कका सारी किनेकी थियौ । तिम्रो खुशीमा हामी पनि मक्ख परेका थियौँ । हामी भन्नाले तिम्रो हेरबिचारको लागि साथै गएका ठूलो भाइ शुकदेव, कान्छो भाइ गौतम, बहिनी मनोरमा र म । र, भाइबहिनीले “पर्सि अपरेशन भएपछि त भाउजूको रोग निको भइहाल्छ, अनि यिनै सारी लगाइदिएर बेहुली बनाई घर लैजाने ।” भनी अत्यन्त खुशी र उत्साहले एकै स्वरमा भनेका थिए । र, अपरेशन सफल भएर अस्पतालबाट डिस्चार्ज भएपछि तिम्रो निक्खर कालो, बाक्लो र लामो कपाल कोरिदिएर र ठूलो जुरोमा चमेली फूलका मग्मगाउँदा गजरा लगाइदिएर उनीहरूले तिमीलाई अनन्त बधाई दिँदै हार्दिक स्वागत गरेका थिए । तर…, तर अपरेसन सफल भए पनि तिमीलाई अपेक्षित स्वास्थ्यलाभ भएन र तिमीलाई ती सारी पहिराइदिएर बेहुली बनाई घर फर्काउने भाइबहिनीको त्यो रहर पूरा हुन पाएन । घरमा आइपुगेर तीन महीना पूर्ण आराम गर्दा पनि तिम्रो स्वास्थ्यमा सुधार आउन सकेन ।

    यसै बीचमा तीज आयो । तीजका दिन ती नयाँ सारीमध्ये कुनै लगाउन मैले तिमीलाई हत्ते हालेर आग्रह गरेँ तर तिमीले “यस्तो बिरामी मान्छेले के तीजको रमाइलो गर्नु छ र नयाँ सारी लगाउनु ! सन्चो भएपछि दसैँमा लगाउँछु नि ।” भनेर मेरो बिछट्टको आग्रहलाई टारिदिएकी थियौ । तर कठै ! दसैँमा कहाँ लगाउन पायौ र ती सारी ! दसैँको टीकाको दिन त तिम्रो अवसानको छैटौँ दिन पो भइसकेको थियो ।

    उफ् …….क्रूर नियतिको कस्तो विडम्बना ! तिमीले मन पराएर त्यत्रो रहरले आफ्नै हातले किनेका ती सारी तिम्रो जीउमा पर्नै पाएनन् । एउटा सारी बाह्रौँमा शय्यादान गर्दा पुरेतबाजेलाई दान दिइयो र उतिवेलै पुरेत्नी बज्यैलाई फेराइयो किरिया गरिएकै ठाउँमा र अर्को चाहिँ बरखीमा दान गर्नको लागि छुट्याइयो । कठैबरी ! नजानीनजानी तिमीले आफ्नो किरिया र बरखीमा दान गर्नका लागि आफैँले रोजेर र आफ्नै हातले किनेर तीन महीनाअघि नै सारीहरूको व्यवस्था गरिसकेकी रहिछौ ! हरे ! त्यो पापी प्रसङ्ग सम्झँदा मात्र पनि कटक्क काटिन्छ मेरो मुटु र छियाछिया हुन्छ कलेजा ! त्यो दृश्य आफ्नै आँखाले टुलुटुलु हेर्न अभिशप्त भएको वेला त झन् कस्तो भएको थियो होला मलाई !

    उफ्…! तिम्रो अवसानपछिको आफ्नो अवस्थालाई खै के गरी सम्झूँ म ? त्यसपछिको आफ्नो जीवनलाई खै के गरी सम्झूँ म ? त्यसपछिको टुहुरा लालाबालाको जीवनलाई खै के गरी सम्झूँ म ? तर पनि प्रिया ! तिमी छैनौ भन्ने त म कल्पना पनि गर्न सक्तिन । ‘तिमी छ्यौ, अझै पनि छ्यौ र सधैँ रहिरहने छ्यौ’ को एउटा अजम्मरी विश्वासले वास गरेको छ मभित्र ।

    घरभरि, कोठाभरि, चोटाभरि तिमी नै तिमी छ्यौ । हाम्रो कोठामा, हाम्रो पलङमा तिम्रा लुगाहरू अझै असरल्ल परेर तिम्रो उपस्थितिलाई टड्कारो रूपमा प्रमाणित गर्दै छन्, मानौँ बाहिरबाट आएर फेर्नासाथ घरधन्दाको चटारोले गर्दा तिमीले तिनलाई तह लगाउन नभ्याएकी हौ र कुनै बेला फुर्सत मिल्नासाथ यथा–यथा स्थानमा सरक्क मिलाएर राख्नेछ्यौ ।

    नौरथाभरि जमरा राखेको थान र देवीथानमा बाल्न भनेर तिमीले कातेका तीनसुते, पाँचसुते र नौसुते बत्तीका मुठा र कात्दाकात्दै छाडिएका सेता पिउरीको मुठा ढकीमा अझै त्यतिकै अस्तव्यस्त पारामा पूजाचौकाछेउ तिम्रा हातको मायालु स्पर्शलाई कुरिरहेका छन् ।

    तिम्रा सिपालु हातहरूले मायाँ नै मायाको छाल छचल्काएर र कलात्मक बुट्टा भरेर मेरो निम्ति बुन्दै गरेको ऊनी सुइटरको अधुरो पाटो अझै उसैगरी ऊनको ठूलो डल्लोसँगै जोर सलाई–काँटीमा उनिएकै अवस्थामा आफ्नो पूर्णताको लागि तिम्रा उनै कलाकार हातको स्वर्णिम स्पर्शको प्रतीक्षामा छ । मानौँ घरधन्दाको व्यस्तताले गर्दा तिमीले त्यसलाई पूरा गर्न नभ्याएकी हौ र फुर्सत पाउनासाथ पूर्णता दिन तिमी फेरि तल्लीन भइहाल्नेछ्यौ !

    प्रिया ! कुनै बेला यस्तो लाग्छ —मानौँ तिमी तीज–तिहार वा त्यस्तै कुनै तिथि–पर्वको निम्तो मान्न एक–दुई दिनका लागि माइत–मावल गएकी हौ र पहिलेपहिले जस्तै ती तिथि–पर्व सकिनासाथ लगत्तै फेरि फर्केर घर आइहाल्छ्यौ !

    भित्ताभरि हाम्रा फोटाहरू झुन्डिएका छन् रुपौला-सुनौला फ्रेमहरूमा सजिएर । जसमध्ये, कुनैमा तिमी मात्र छ्यौ, कुनैमा हामी दुवै छौँ र अझ कुनैमा चाहिँ हाम्रा तीनवटै निर्बोध सन्तान शरद, नीलिमा र आकाश पनि छन् । त्यसैले, लाग्छ तिमी–हामी सबै सँगसँगै छौँ पहिलेपहिलेजस्तै गरी तर हरे ! यथार्थ त्यसको एकदम उल्टो छ, एकदमै कठोर छ । अब तिमी छैनौ र कहिल्यै पनि हुने छैनौ ।

    आहा ! कति जाती हुने थियो ‘तिमी अझै छ्यौ’ भन्ने मीठो भ्रमैभ्रममा मात्र पनि बाँच्न पाए ! कति जाती हुने थियो भ्रमैभ्रममा नै पनि तिमीलाई साँचिराख्न पाए ! र, कति जाती हुने थिए त्यो भ्रमबाट जुनीभरि कहिल्यै मुक्त हुन नपाए ! तर कठै… ! कहाँ सम्भव हुँदै छ र त्यो पनि ? उफ्…! प्यारी ! तिम्रो सम्झनालाई तिम्रै सम्झनाले पिरोलिरहेछ । तिम्रो यादलाई तिम्रै यादले बिथोलिरहेछ । उफ्…! अब त यही उफ्…! गर्दै र मुटु कोक्याउँदै तिम्रो पवित्र सम्झना गर्नुबाहेक अरू के नै रहेको छ र मेरो वशमा !

    कैल्यै कामविशेषले जब तिमी जान्थ्यौ प्रिये ! माइत

    बस्थेँ व्याकुल भै प्रिया–मिलनको रोजै कुरी साइत

    आउन्नौ अब यो जुनीभरि भनी जाने–बुझे तापनि

    औँला भाँच्छु उसैगरी दिनदिनै प्यारी ! म ऐले पनि

    यौटा झाङ गुलाफको अझ सखी ! यो पश्चिमी झ्यालमा

    कोठैभित्र छिरी झुलाउँछ सधैँ राता थुँगा कैयन

    हावा सिर्र बरर्र पत्र तिनका हाम्रो बिछ्यौनाभरि

    सम्झी सेज–सुहाग त्यो झलझली आँखा असारे झरी

    साथैै अन्तिम साससम्म रहने बाचा गरेका थियौँ

    त्यो बाचा अधुरो अवश्य नहुने आशा गरेका थियौँ

    प्यारी ! यौवनमै गयौ, अब फगत् बाँकी रह्यो सम्झना

    त्यो प्यारो स्मृति–विम्ब जीवनभरी साँचेर राख्नेछु म”

    ०००

    प्रतिकृया दिनुहोस्

    Loading...

    अस्ट्रेलियाबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई विशेष अर्थिक सहयोग

    रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्य का छोरा...

    राष्टघातबिरुद्ध पर्वतका ३ राजनैतिक पार्टीहरुको बिज्ञप्ती, दलाल नेताहरुको कारण देश समस्यामा

    पर्वत । पछिल्लो समय अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) जस्तो राष्टघाती परियोजनाको बिरुद्ध...

    मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

    बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले...

    राष्ट्रिय सभाको बैठक एमालेको अवरोधले मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै...

    वीरगञ्ज आइपुग्यो भारतबाट पहिलो निजी कार्गो रेल

    काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं