काठमाडौं । ‘दुई वटा घरमा काम गर्थें । निषेधाज्ञा भएपछि अहिले नआउनू भन्नुभएको छ। पछि बोलाउँछु भन्नुभएको थियो । अझै बोलाउनुभएको छैन’, चार वर्षदेखि घरेलु सहयोगीको रूपमा काम गर्दै आएकी नानु भट्टराईले बेरोजगारीको कथा सुनाइन् । काठमाडौं रातोपुल नजिकै बस्दै आएकी नानुले काम गर्ने घरहरू डेरा नजिकै छन् । ती घरहरूका ज्येष्ठ नागरिक दीर्घरोगी भएका कारण काममा नआउन भनिएको थियो । आफ्नो दैनिकी धान्न मुश्किल परिरहेको भए पनि रोजगारदाताले आफ्ना घरमा भएका बूढापाकाको स्वास्थ्य सुरक्षाका लागि गरेको निर्णयप्रति नानु सकारात्मक छिन् । भन्छिन् ‘उहाँहरूले आफ्ना बा-आमाको स्वास्थ्यका लागि लिनुभएको निर्णय ठीक हो । मैले खान पाउँदिन भनेर मलाई काम दिनैपर्छ भन्न मिल्दैन ।’
घरेलु सहयोगीको काम गरेर काठमाडौंमा जीविका चलाइरहेकी नानुलाई दुई महीना बेरोजगार बस्नुपर्दा निक्कै हम्मे भएको छ । गत वर्षको लकडाउनमा पनि उनले सात महीना बेरोजगार बस्नुपरेको थियो । तर त्यसबेला वडा र विभिन्न संघसंस्थाले दिएको राहतले केही सहज बनायो । अवस्था सहज हुँदै गएपछि काम थालेकी उनी अहिले फेरि बेरोजगार भएकी छिन् । ११ वर्षदेखि घरेलु सहयोगीको रूपमा काम गर्दै आएकी ललितपुरको इमाडोल बस्दै आएकी पार्वती पाण्डे पनि दुई महीनादेखि बेरोजगार छिन् । तीन बालबच्चाको पढाइ, लालनपालन गर्दै आएकी उनी अहिले समस्यामा छिन् । कक्षा ९, ७ र ५ मा पढ्ने छोरीहरूको अनलाइन कक्षा शुरु भइसकेको छ । उनीहरूलाई अनलाइनमा पनि जोड्न सकेकी छैनन् । भन्छिन्, ‘घर बढारेको जस्तै छ । खानेकुरा सबै सकिएको छ । अन्नको त गेडो छैन, कहाँबाट अनलाइन पढाउन सक्नु !’
उनले चार घरमा घरेलु सहयोगीको रुपमा काम गर्दै आएकी थिइन् । बिहान ६ बजे कोठाबाट निस्केपछि राति ७ बजे मात्रै कोठामा पुग्थिन् । कोरोनाको दोस्रो लहर शुरु भएपछि भने अहिले दिनभर छोरीहरूसँगै कोठामा समय बित्छ । भन्छिन्, ‘धेरै वर्षपछि छोरीहरूसँग दिनभर समय बिताउँदैछु । सबैभन्दा सानी चाहिं खुशी छे । ठूलीहरूले त समस्या बुझेका छन् । खुशी भएको जस्तो गर्छन् ।’ गत वर्षको लकडाउनमा एउटा घरमा त्यहीं पाँच महीना बसेर काम गरिन् । जसले गर्दा खानकै लागि चिन्ता गर्नुपरेन । अहिले अनलाइन कक्षाले उनको खर्च झन् बढाएको छ । काम गर्ने घरकाले पुरानो मोबाइल छोरीलाई अनलाइन कक्षा पढ्नका लागि दिएका थिए । मासिक दुई सय रुपैयाँ तिरेर छिमेकीबाट मोबाइलमा नेट जोडेर पढाइन् । यो वर्ष छिमेकी कोठाकाहरू पनि घर गएका छन् ।
नेपालमा २ करोड ७ लाख ४४ हजार काम गर्न सक्ने उमेर समूहका मानिस छन् । तर, ७९ लाख ९४ हजार मात्रै श्रम गरिरहेका छन् । तीमध्ये औपचारिक क्षेत्रमा १५.४ प्रतिशत र अनौपचारिक क्षेत्रमा ८४.६ प्रतिशत कार्यरत छन् । उनी नजिक भएका दुई घरकाले चाँडै काममा बोलाउनेमा निश्चिन्त थिइन् तर त्यही दुई घरमा कोरोना संक्रमण भएको छ । एक घरका त एक जनाको मृत्यु पनि भयो र परिवारका अर्को जना अस्पतालमा छन् । अर्को एक घरका पनि अस्पतालमा गम्भीर अवस्थामा भएको थाहा पाएपछि उनलाई थप चिन्ता बढेको छ । उनी भन्छिन्, ‘त्यो दुई घरमा काम गरेको धेरै वर्ष भएको थियो । बाँकी दुईवटा त भर्खर शुरु गरेकी थिएँ ।’ अनौपचारिक क्षेत्रमध्ये घरेलु काममा अधिंकाश महिला श्रमिक छन् । यी सहयोगीहरू कोही रोजगारदाताको घरैमा र कोही बाहिर बसेर काम गर्छन् । बिहान-बेलुका घरेलु सहयोगीको काम गर्ने र दिउँसो पोते बुन्ने, चुरा बनाउने अथवा निर्माण क्षेत्रमा काम गर्ने पनि छन् । सुत्केरी, बालबालिका र वृद्धवृद्धा स्याहार्ने, घर सफा गर्ने, लुगा धुने, भाँडा माझ्ने लगायत काम गर्नेमा अधिकांश महिला श्रमिक छन् । ड्राइभर प्रायः पुरुष छन् । माली र घरको सुरक्षामा भने महिला पुरुष दुवै छन् । केन्द्रीय तथ्यांक विभागको श्रमशक्ति सर्वेक्षण २०७४-७५ अनुसार नेपालमा २ करोड ७ लाख ४४ हजार काम गर्नसक्ने उमेर (१५ देखि ५९ वर्ष) समूहका मानिस छन् । तर, ७९ लाख ९४ हजार मात्रै श्रम गरिरहेका छन् । तीमध्ये औपचारिक क्षेत्रमा १५.४ प्रतिशत र अनौपचारिक क्षेत्रमा ८४.६ प्रतिशत कार्यरत छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अनुसार नेपालमा करीब दुई लाख जना घरेलु श्रमिक छन् । करीब पाँच प्रतिशतले अन्य पेशा अपनाएको जिफन्टले जनाएको छ ।अन्तर्राष्ट्रिय घरेलु श्रमिक महासंघकी सदस्य ज्ञानु केसी निषेधाज्ञाका कारण अधिकांश घरेलु सहयोगी बेरोजगार बनेको अवस्था छ ।‘अहिले सबै क्षेत्र ठप्प भएकाले अधिकांश बेरोजगार छन्’ गत वर्ष कोरोनाभाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनपछि करीब पाँच प्रतिशत घरेलु श्रमिकले रोजगारी गुमाएको अनुमान गर्दै उनी भन्छिन्, ‘तथ्यांक संकलन नै गर्ने काम त भएको छैन । अनुमानित सात प्रतिशत जतिले रोजगारी गुमाएका छन् ।’ घरेलु रोजगार गुमाएपछि उनीहरू निर्माण क्षेत्र, तरकारी बेच्ने पेशामा लागेको उनले बताइन् । अखिल नेपाल घरेलु श्रमिक संघका अनुसार गत वर्षको लकडाउनमा ९० प्रतिशत बेरोजगार भए । दश प्रतिशतले भने काम गर्ने घरमै बसेर काम गरे । उनीहरूले पनि पाउँदै आएको तलब पूरा नपाएको संघकी केन्द्रीय अध्यक्ष संगीता बानियाँ बताउँछिन् ।
कोरोना संक्रमण कम हुँदै गएपछि बेरोजगार भएका ७० प्रतिशतले मात्रै रोजगारी पाए । बाँकी २० प्रतिशतले गर्दै आएको काम नपाएपछि पेशा परिवर्तन गरी निर्माण क्षेत्र, मकै बेच्ने, तरकारी बेच्ने, चिया बेच्ने काममा लागेको अध्यक्ष बानियाँले बताइन् ।बानियाँका अनुसार कोरोना संक्रमणको दोस्रो लहरका कारण भएको निषेधाज्ञामा कार्यरतमध्ये ९० प्रतिशत नै बेरोजगार बनेका छन् । बेरोजगारमध्ये कतिले निर्माण क्षेत्र खुला हुँदा त्यता काम गरेर जीविका धानिरहेका छन् । कोरोना संक्रमण कम हुँदै जान थाले पनि घरेलु श्रमिकले रोजगारी पाउने सम्भावना चाहिं कम भएको अध्यक्ष बानियाँको भनाइ छ । भन्छिन्, ‘बेरोजगार हुनुभएका घरेलु श्रमिकले रोजगारी पाउने सम्भावना कम छ । एउटा त संक्रमण सर्ने डर, अर्को रोजगारदाताको आर्थिक अवस्था ।’ बानियाँको भनाइ अनुसार पेशा, व्यवसाय बन्द हुँदा रोजगारदाताको पनि आर्थिक अवस्था कमजोर भएको छ । जसका कारण घरेलु श्रमिक कटौती गर्नसक्ने सम्भावना अधिक छ ।
कामका लागि जात लुकाउनुपर्ने बाध्यता !
सम्झना परियार (परिवर्तित नाम) ले घरेलु कामदारको रुपमा काम गरेको सात वर्ष भयो । उनी तीन घरमा काम गर्छिन् । उनले काम गर्ने घरहरूमा आफ्नो थर कार्की बताएकी छिन् । भनिन्, ‘थर लुकाउन बाध्य छु । भन्यो भने काम नै पाउँदिन । छोरोलाई कसरी हुर्काउनु ?’ वैदेशिक रोजगारीमा गएका उनका श्रीमान् पनि कोभिडका कारण बेरोजगार छन् । निषेधाज्ञा शुरु भएपछि उनले घरबेटीको मात्रै काम गरिरहेकी छन् । घरबेटीले पनि गत वर्ष लकडाउनमा राहत लिने बेला उनको थर थाहा पाए । त्यसपछि धेरै काममा रोक लगाइएको छ । ‘पूजा गर्ने सामान नछुनू है, त्यहाँ भित्र नपस है’ भन्न थालेका छन् । उनको कोठा घरको पछाडिपट्टि टिनको छाना भएको सानो घरमा छ । भन्छिन्, ‘यो जात, छुवाछूतको कारण हामीलाई मान्छेजस्तो पनि गर्दैनन् । कुकुरलाई विस्तरामा सुताउँछन् । हामीलाई भित्र पस्न समेत दिंदैनन् ।’ अरुको घरमा काम नगरी खान पुग्ने दलित समुदायले नै थर नलुकाउन भनेको सुन्दा दुःख लाग्ने गरेको उनी बताउँछिन् । ‘जात नलुकाऊ भन्नेहरू म जस्तो अरुको घरमा काम खोज्न जाउन् अनि थाहा हुन्छ जात लुकाउनुको बाध्यता’ उनले आक्रोश पोखिन् । रिता रसाईली (परिवर्तित नाम) ले पनि थर लुकाएर घरेलु सहयोगीको रुपमा काम गर्ने गरेकी छन् । जात किन लुकाउने भनेर उनले सुरुका दिनमा आफ्नो जात नलुकाई काम खोजिन् । तर विभिन्न बहानामा उनलाई काम दिइएन । बाध्य भएर डेरा नै सारेर थर लुकाएर काम खोजेपछि उनले काम पाइन् ।काम गरेको १५ महीनापछि उनले छोरो विद्यालय भर्ना गरिन् । काम गर्ने स्थानदेखि नजिकै भएको विद्यालयमा पढाउँदा सहज हुन्छ भनेर त्यहीं छोरा राखिन् । तर त्यही कारण उनले काम गर्ने घरबेटीले उनको थर थाहा पाए । त्यसपछि उनले काम गर्ने घरका घरबेटीले आफैं काम गर्ने निहुँ बनाएर कामबाट निकाले । रिता भन्छिन्, ‘जबकि उनीहरू खाएको थाल टेबलबाट उठाएर माझ्ने ठाउँसम्म लैजाँदैनथे । त्यस्ताले घरको काम आफैं गर्छु भन्दा कसरी पत्याउनु ।’ उनको जात थाहा पाएपछि एकदम राम्रो व्यवहार गर्नेहरूले विस्तारै असहज मान्न थाले । एक हप्ता पछिबाट ‘काममा नआउनू हामी आफैं गर्छौं’ भने । सुरुमा काम बिगारेछु भनेर डराइन् । सोधिन् पनि । तर उनीहरूले सबै राम्रो गरेको अब आफैं गर्ने भनेर थप आधा महिनाको तलब थपेर बिदा गरे । महिना दिनपछि उनले चिनेकै व्यक्तिलाई काममा राखेको थाहा पाएपछि कुरा बुझ्ने प्रयास गर्दा उनको थरको कारण त्यसो गरेको थाहा पाइन् । ‘चिन्नेले हामीलाई किन थर लुकाउँछौ भन्छन् । थर लुकाएन भने हामी काम नै पाउँदैनौं । त्यही भएर यो भेदभाव हट्नुपर्छ’, उनले भनिन् । निषेधाज्ञा भएपछि काम बन्द भएको छ । सामान्य भएपछि काममा बोलाउँछन् भनेर ढुक्क छिन् । तर काम गरिरहेको घरबेटीहरूले पनि थर थाहा पाउलान् कि भन्ने डर लागिरहने उनी बताउँछिन् । थर खुलाउँदा काम नपाउने समस्याका कारण दलित घरेलु श्रमिकले थर लुकाउने गरेको पाइएको अन्तर्राष्ट्रिय घरेलु श्रमिक महासंघकी सदस्य ज्ञानु केसी बताउँछिन् । त्यसले गर्दा कति दलित घरेलु श्रमिक छन् भन्ने तथ्यांक निकाल्न समेत समस्या भएको उनले बताइन् ।जातीय विभेद कति जकडिएर बसेको छ भन्ने त रुपा सुनार घटनाले स्पष्ट पारेको उनको भनाइ छ । उनी भन्छिन्, ‘जातकै कारणले कोठा नपाउने शहरमा घरेलु सहयोगीको काम पाउन झन् कति कठिन होला ? आकलन गर्न गाह्रो छैन ।’