अल्ट्रासाउन्ड भन्नासाथ महिलाले गर्भावस्थामा धेरै गराएको सुन्नुभएकै होला । कति महिलाले गर्भवती भएको बेलामा आफैंले पनि अल्ट्रासाउन्ड गराउनुभएको होला । धेरैलाई अल्ट्रासाउन्ड गर्भावस्थामा गर्भमा रहेको बच्चाको विकासबारे जानकार रहन मात्र गर्नुपर्छ भन्ने पनि लाग्न सक्छ ।
तर त्यस्तो पक्कै होइन, अल्ट्रासाउन्ड यस्तो अत्याधुनिक प्रविधि हो, जसले गर्भावस्थामा मात्र नभई शरीरको समग्र अवस्थाको परीक्षण गरी समस्या पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्छ ।
के हो अल्ट्रासाउन्ड ?
अल्ट्रासाउन्ड एक पीडारहित विद्युतीय तरंगबाट चल्ने परीक्षण विधि हो । अल्ट्रासाउन्डलाई ‘सोनोग्राफी’ र ‘अल्ट्रा सोनोग्राफी’ पनि भनिन्छ । अल्ट्रासाउन्डले शरीरको अंगको वास्तविक तस्वीर र भिडियो लिन उच्च फ्रिक्वेन्सी भएको विद्युतीय ध्वनि तरंग प्रयोग गर्छ ।
विना कुनै चिरफार सो उपकरणको मद्दतले तस्वीर र भिडियो मार्फत शरीरभित्रका भित्री अंग, नरम तन्तु, कोष र रक्त धमिनी स्पष्ट रूपमा देख्न पाइन्छ । यसमा शरीरलाई असर गर्ने कुनै रेडिएसन प्रयोग हुँदैन ।
अल्ट्रासाउन्डले कसरी काम गर्छ ?
अल्ट्रासाउन्ड गर्ने क्रममा रेडियोलोजिस्टले एक उपकरण (ट्रान्सडयुसर) प्रयोग गरी शरीरभित्रको भाग अवलोकन गर्न सक्छन् । सर्वप्रथम छालामा थोरै जेल लगाइन्छ । ताकि, अल्ट्रासाउन्डको तरंग एकबाट अर्को तन्तुमा सर्न सहज होस् । सो उपकरणमार्फत विद्युतीय ध्वनि तरंग शरीरको तन्तुमा पुग्छ तर त्यो आवाज सुन्न सकिंदैन ।
ध्वनि तरंग पानीमा छाल आए जसरी शरीरको भित्री बनावटहरुमा पुग्छन् । जसलाई अल्ट्रासाउन्ड मेसिनमा जडित कम्प्युटरले पछ्याएर आफ्नो स्क्रिनमा सो तरंगको संकेतलाई तस्वीर वा भिडियोमा देखाउँछ ।
अल्ट्रासाउन्ड कति बेला गरिन्छ ?
– गर्भवती भएको नभएको पत्ता लगाउन
– गर्भावस्थाको समयमा भ्रूणको अवस्थालाई अवलोकन गर्न
– भ्रूण एउटा छ वा सोभन्दा बढी छ कि भनेर हेर्न
– गर्भावस्था भएको कति समय भयो पत्ता लगाउन र कति अवधिपछि प्रसूति गराउने निश्चित गर्न
– भ्रूण बसेको आसन पत्ता लगाउन
– भ्रूणको चाल र मुटुको दरको अवस्था हेर्न
– वंशाणुगत समस्या र अन्य भ्रूणमा हुन सक्ने दिमाग, स्पाइनल कर्ड र मुटुको समस्या पत्ता लगाउन
– गर्भनालमा पानीको मात्रा अवलोकन गर्न ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञले गर्भ रहेको २० सातामा अल्ट्रासाउन्ड गराउन सल्लाह दिन्छन् । सो अवधिमा गरिएको परीक्षणले भ्रूणको विकास क्रम हेर्ने र लिङ्ग पहिचान गर्न मद्दत गर्छ । यद्यपि, लिङ्ग पहिचानबारे खुलाउन नमिल्ने प्रावधान छ । भ्रूणको केही शंकास्पद देखिए थप स्क्यान हुनसक्छ ।
रोग पत्ता लगाउन
शरीरभित्रका कुनै पनि अंगमा समस्या वा राम्रोसँग काम नगरेको अवस्थामा समस्या पहिचान गर्न अल्ट्रासाउन्ड गरिन्छ । यसको मद्दतले झट्ट हेर्दा व्याख्या गर्न नसकिने दुखाइ, विना कारण सतह र भित्री भागमा निस्किएका गाँठागुठीबारे पत्ता लगाउन मद्दत गर्छ ।
छातीको समस्या, पेट दुखाइको मुख्य कारण पत्ता लगाउन कतिपय अवस्थामा अल्ट्रासाउन्डको प्रयोग हुन्छ । यो प्रविधिबाट मिर्गौलाको आकार, स्थान, बनावट अवलोकन गरिन्छ । मिर्गौलासँगै जोडिएका मूत्रथैली र गर्भाशयको अवस्था पनि हेर्न सकिन्छ । यसको मद्दतले मिर्गौलामा र त्यस भाग वरपर मासु पलाएको, ट्युमर र संक्रमण भएको पत्ता लगाउन सकिन्छ ।
स्तनमा गाँठागुठी र मासु पलाएको छ कि छैन, भएमा आकार कस्तो छ, कतिको सामान्य असामान्य छ भनेर हेरिन्छ । धमिनी र नसामा रगतको प्रवाह अवलोकन गर्न, मुटुको अवस्थाबारे जान्न पनि यो उपकरणको प्रयोग गरिन्छ । जसलाई डोपलर अल्ट्रासाउन्ड पनि भन्ने गरिन्छ ।
त्यस्तै, तल्लो पेटदेखिका अंगहरुको अवस्था हेर्न पनि परीक्षण गरिन्छ । जसमा मूत्रथैली, अण्डकोष, मलद्वार, गर्भाशय र योनीको अवस्था बुझ्न सकिन्छ ।
थाइराइड कति बढेको छ ? कुनै किसिमको मासुको डल्ला छ कि त्यो पत्ता लगाउन थाइराइड अल्ट्रासाउन्ड गरिन्छ । केही नमुना लिन पनि यसको प्रयोग हुन्छ । जस्तो कि, जोर्नी, मांसपेशी, मासुको डल्ला, नरम तन्तु, कलेजो, मिर्गौला र अण्डकोषबाट नमुनाका लागि थोरै तरल पदार्थ लिनको लागि पनि अल्ट्रासाउन्डको सहायता लिनुपर्छ । यस्तोमा अल्ट्रासाउन्डको मद्दतले अंगमा हेर्दै सम्बन्धित भागबाट सुईले तरल पदार्थ निकालिन्छ ।
अल्ट्रासाउन्ड कसले गर्छ ?
यो परीक्षण दक्ष रेडियोलोजिस्टले गर्छन् । तर हचुवाको भरमा दक्षता नभएकोबाट परीक्षण गराउँदा परीक्षणको गुणस्तरमा प्रभाव पर्न सक्छ । त्यसैले रेडियोलोजीबारे ज्ञान र अनुभव भएका रेडियोलोजिस्टबाट मात्रै परीक्षण गराउन उचित हुन्छ ।
अल्ट्रासाउन्डका लागि के तयारी गर्नुपर्छ ? कसरी गरिन्छ ?
अल्ट्रासाउन्ड गर्दा समस्या कस्तो किसिमको छ, त्यही अनुसारको तयारी गर्नुपर्ने हुन्छ । केही अल्ट्रासाउन्डमा भने कुनै किसिमको तयारी आवश्यक हुँदैन । गर्भावस्थामा कम्मरको परीक्षण गराउँदा मूत्रथैली भर्नुपर्ने भएकाले पानी खाएर जानुपर्छ ।
पेटको परीक्षण गराउनुपूर्व केही घण्टाअघि पानी बाहेक केही पिउनु र खानु हुँदैन ।
अल्ट्रासाउन्ड गराउँदा
अल्ट्रासाउन्ड गराउनुअघि अस्पतालको गाउन लगाउन लगाइन्छ । त्यसपछि एउटा टेबलमा सुत्नुपर्ने हुन्छ । प्राविधिकले परीक्षण गराउने भागमा जेल लगाई बाहिरबाट नै उपकरण बिस्तारै सार्दै परीक्षण गर्छन् । उक्त जेलले छाला र लुगामा कुनै किसिमको हानि गर्दैन ।
प्राविधिकले केही समय सास लामो तान्न र केही सेकेन्ड रोक्न भन्न सक्छन् । यसले स्पष्ट तस्वीर लिन मद्दत गर्छ । टेक्निसियनले तस्वीर लिइसकेपछि जेललाई पुछ्न सकिन्छ । यो प्रक्रिया बढीमा ३० मिनेटसम्म लाग्न सक्छ ।
के कस्तो समस्या अल्ट्रासाउन्डबाट पत्ता लाग्छ ?
अल्ट्रासाउन्डबाट असामान्य ट्युमरको विकास, क्यान्सर, रगत जमेको, गर्भाशय बाहिर बच्चाको विकास भएको, पित्तथैली र मिर्गौलाको पत्थरी र पित्तथैली सुन्निएको छ भने पत्ता लाग्न सक्छ । त्यस्तै, भ्यारीकोसेल (पुरुषको अण्डकोषमा देखिने समस्या), पाठेघरमा मासु पलाएको कुनै पनि भागमा रहेको असामान्य गिर्खा पनि पहिचान गर्ने खुबी अल्ट्रासाउन्डको हुन्छ ।
अल्ट्रासाउन्ड गर्दा दुखाइ हुनसक्छ ?
अल्ट्रासाउन्ड छाला बाहिरबाट लिने हुँदा कुनै दुखाइ हुँदैन । कुनै झर्को लाग्ने खालका उपकरणको आवाज पनि सुन्नुपर्दैन । तर मलद्वार र गुप्तांगमा उपकरण भित्र राखेर परीक्षण गर्नुपर्ने हुँदा दुखाइ नभए पनि असहज हुनसक्छ ।
यो परीक्षण कति सुरक्षित ?
यो परीक्षण गर्दा हानिकारक साइड-इफेक्ट नदेखिने हुँदा सुरक्षित मानिन्छ । यसमा कुनै किसिमको रेडिएसन हुँदैन । तर पनि दक्ष विज्ञबाट मात्रै यो सेवा गराउनु उचित हुन्छ ।
कति लाग्छ शुल्क ?
अल्ट्रासाउन्ड शरीरको कुन भागको गर्ने हो सोही अनुसार शुल्क लाग्छ । सामान्यतया पेट परीक्षणको ५०० देखि डपलर जस्तो जटिल परीक्षणको ५ हजार रुपैयाँसम्म शुल्क लाग्न सक्छ । यद्यपि, सरकारी तथा निजी अस्पतालले आ-आफ्नै ढंगले शुल्क तोकेका हुन्छन् ।
नतिजा कहिले आउँछ ?
अल्ट्रासाउन्ड गरेपछि रिपोर्ट आउन धेरै समय लाग्दैन । परीक्षणको केही समयमै नतिजा आउँछ । तर केही शंकास्पद देखिएमा रेडियोलोजिस्ट र सम्बन्धित चिकित्सकको टिमले विश्लेषण गर्नुपर्ने हुनसक्छ । जसकारण केही समय लाग्न सक्छ ।
अल्ट्रासाउन्ड आविष्कार कहिले भयो ?
२० औं शताब्दीको सुरुवाती चरणबाट अल्ट्रासाउन्ड प्रविधिको उदय भएको मानिन्छ । सन् १९२२ मा जर्मनीले अल्ट्रासाउन्ड थेरापीको पहिलोपटक आविष्कार गरेको थियो ।
सन् १९४० मा युरोप र संयुक्त राज्य अमेरिकामा अल्ट्रा साउन्ड थेरापीको सुरुवात भइसकेको थियो । पहिलोपटक दिमागको टयुमर पत्ता लगाउन यसको प्रयोग गरिएको थियो । त्यसपछि विस्तारै विश्वव्यापी रुपमा यसको उययोग हुन थाल्यो ।