SuchanaKendra

  • Radio Kushum


    सम्बन्धित व्यक्तिको उपस्थितिबिनै कोभिड रिपोर्ट नेगेटिभ बनाउन १८ हजार !!

    सम्बन्धित व्यक्तिको उपस्थितिबिनै बिचौलियाले आफ्नै वा परिवारका सदस्यको स्वाब संकलन गर्ने र ल्याबले सहजै पीसीआर नेगेटिभ रिपोर्ट उपलब्ध गराउने खुलासा

    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२० गते
    ४६१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ — विदेश जानेहरूका लागि कोभिडको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । सरकारले पीसीआर परीक्षणका लागि सरकारी अस्पतालमा ८ सय रुपैयाँ र निजी अस्पतालमा १५ सय रुपैयाँ तोकेको छ । तर, राजधानीकै अस्पतालले ८ हजारदेखि १८ हजार रुपैयाँसम्म असुलेर नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको तथ्य खुलेको छ ।

    महानगरीय अपराध महाशाखाले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चार कर्मचारीलाई नियन्त्रणमा लिएको छ । महाशाखाको टोलीले मंगलबार भक्तपुरको मध्यपुर थिमि गट्ठाघरमा अवस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका दुई र काठमाडौं तीनकुनेमा अवस्थित कान्तिपुर अस्पताल प्रालिका दुई कर्मचारीलाई पक्राउ गरेको हो ।

    वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि ती अस्पतालबाट स्वाबको नमुना नलिई फोटो र पासपोर्टका आधारमा नक्कली पीसीआर रिपोर्ट बनाउने गरिएको महाशाखाले जनाएको छ । ‘अस्पतालका कर्मचारीले एजेन्ट नै खटाएर फोटो र पासपोर्टका आधारमा पीसीआर नेगेटिभ रिपोर्ट बनाइदिने गरेको तथ्य फेला परेको छ,’ महाशाखा प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले भने, ‘अस्पतालका कर्मचारीले आफ्नै स्वाबबाट धेरैको पीसीआर रिपोर्ट बनाइदिएको पाइएको छ ।’

    प्रहरीले नागरिक हस्पिटलका कर्मचारी धनुषा विदेह नगरपालिका–४ घर भई ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोशनकुमार छिट्टानलाई ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्टसहित विमानस्थल अगाडिबाट पक्राउ गरिएको महाशाखा प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । सोही अस्पतालका ल्याब प्रबन्धक सर्लाही बलरा नगरपालिका–७ घर भई मध्यपुर थिमि कौशलटार बस्ने २४ वर्षीय प्रसन्नकुमार झा पनि ल्याबबाटै पक्राउ परेका छन् ।

    त्यस्तै, कान्तिपुर अस्पतालका कर्मचारी धनुषा क्षिरेश्वर नगरपालिका–१ घर भई गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने २९ वर्षीय माधव मैनालीलाई १७ थान नक्कली पीसीआर रिपोर्टसहित नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । कान्तिपुर अस्पतालबाट पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट उल्लेख गरिएको ४ थान रिपोर्ट पनि भेटिएको छ ।

    प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिसमेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटर मोनिटर १ थान, ल्यापटप १ थान, सीपीयू ३ थान, पीसीआर दर्ता रजिस्टर, नक्कली पीसीआर रिपोर्ट, रसिद प्याड र मोबाइल ५ थान बरामद गरेको छ । नागरिक अस्पतालका पीसीआर ल्याब सञ्चालक रौतहट राजदेवी नगरपालिका–४ बसतपुर घर भई भक्तपुर चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक काठमाडौं महानगर–३२ पेप्सीकोलाका ४० वर्षीय निर्मल गिरी फरार छन् ।

    दुवै अस्पतालका पीसीआर ल्याब सिल गरिएको प्रहरीले जनाएको छ । ती अस्पतालका ल्याबले कतिपय व्यक्तिको स्वाब र परीक्षणबिनै नेगेटिभ रिपोर्ट दिने गरेको पाइएको छ । ती ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेका थिए ।

    कतिपय पीसीआर पोजिटिभ देखिएका नमुनाको सीटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको भेटिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको बताए । ती अस्पतालले केही बिचौलियालाई अस्पतालको कर्मचारी भनी परिचयपत्रसमेत बनाई सामूहिक स्वाब संकलन गरेको भेटिएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबबिनै बिचौलियाले आफैंले आफ्नै वा परिवारकै स्वाब घरबाटै संकलन गरी ल्याएर विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको महाशाखा प्रमुख एसएसपी कुँवरले बताए ।

    बिचौलियारएजेन्ट र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी प्रतिव्यक्ति ८ देखि १८ हजार रुपैयाँसम्म असुल गरेको भेटिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अखिल क्रान्तिकारीको अध्यक्षमा ‘हेभिवेट’उम्मेदवारको रूपमा पर्वतका सापकोटा

    काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा सात जनाले उम्मेदवारी दर्ता गरेका...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं