काठमाण्डौं । श्रीमानबाट गम्भीर प्रश्नको उठान भएको छ, त्यसको सम्मान गर्दै म आफ्नो तर्क प्रस्तुत गर्दछु । शालिकरामले खिचेको भिडियोमा उनले समग्र विषय राख्दा अनुहार मात्र देखिन्छ, तर अन्त्यमा उनले नमस्कार गर्दा मोबाइल टाढा अड्याएका छन् । त्यसबीचमा मोबाइल हल्लिएको छ । मोबाइलको फ्रेम पनि फराकिलो भएको छ । त्यसैले मोबाइल हातमा नराखी सेल्फी खिच्नु कुनै अनौठो होइन ।
यस्ता भिडियो मैले धेरैपटक बनाएको छु । त्यो अहिले पनि म गरेर देखाउन सक्छु । त्यसैले श्रीमान्ले आफ्नै अगाडि प्रस्तुत भएको मिसिलमा समावेश भिडियो हेरेर धारणा बनाउनुपर्छ । मिसिल हेरेर श्रीमान्को आदेश आउनुपर्छ, झ्यालबाहिरको जुलुस हेरेर होइन । फेसबुकको कमेन्ट पढेर होइन । (अधिवक्ता नेपालको यो टिप्पणीपछि इजलासमा केही तनाव भएको थियो । तर, केही सवालजवाफपछि बहस फेरि जारी रह्यो ।)
मृतकले आत्महत्या गर्छु भनेर भिडियोमा घोषणा गर्नु र आत्महत्या गर्नुको समयमा पक्कै पनि अन्तर छ । किनकि, भिडियोमा उनले सेन्डो लगाएका छन्, आत्महत्या गर्दा सर्ट–पाइन्ट नै । योबीचमा उनको मनस्थिति बदलिन सक्थ्यो भन्ने श्रीमान्को जिज्ञासालाई म सम्मान गर्न चाहन्छु ।
तर, म के स्मरण गराउन चाहन्छु भने स्वीट्जरल्यान्ड भनेको ‘सुसाइड टुरिजम’ मा पनि चर्चित देश हो । अमेरिकाबाट मान्छेले म अब आत्महत्या गर्न जान्छु भन्छ, स्वीट्जरल्यान्ड आउँछ र आत्महत्या गर्छ । त्यत्रो यात्रामा पनि उसको मन किन बदलिन्न ? अझ सर्वोच्चका पूर्वन्यायाधीश भरत उप्रेतीको आत्महत्या पनि एकै प्रयासमा भएको होइन । त्यसैले शालिकरामले बीचमा जति समय बिताएको भए पनि आत्महत्या गर्न नसक्ने कुनै कारण छैन ।
घटनास्थलमा बरामद भएको मोबाइलबाट भिडियो ल्यापटपमा कपी गर्दा कुनै चतुर विज्ञले आफ्नो साधनमा पनि सारेको हुन सक्छ । तर, त्यही माध्यमबाट मिडियामा पुगेको हुनसक्छ । प्रहरीले गलत नियतले भिडियो सार्वजनिक गरेको हो भने विभागीय कारबाही हुन सक्छ । तर, मिडियामा भिडियो पुगेको कारणले अनुसन्धान प्रभावित हुनुहुँदैन ।
मिडियाले जुनसुकै स्रोतबाट पाए पनि सूचना वा भिडियो सामग्री प्रकाशन÷प्रसारण गर्न सक्छ । त्यो उसको जिम्मेवारी हो । हाम्रो सम्पूर्ण ध्यान मिडियामा भिडियो कसरी पुग्यो भन्नेमा होइन, शालिकरामले किन आत्महत्या गरे, उनको ज्यान किन गयो भन्नेमा केन्द्रित हुन जरुरी छ ।
नयाँ पत्रिकाबाट