SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/१३ गते
    ५१६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्‍यो । जुन प्रतिनिधिसभाको बहुमत हो । संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापाले नेपालको इतिहासमा विनियोनन विधेयकमाथि मतदानको यो पहिलो घटना भएको बताए । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘नेपालको इतिहासमा विनियोजन विधेयकमाथि मतदान भएको नजिर दर्ज भएको छ ।’ बुधबार प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । तीमध्ये १०८ जनाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

    सत्तारुढ दलसँग बहुमत रहेको विश्वासका आधारमा मत विभाजन माग नगर्ने अभ्यास विगतमा रहेको थापा बताउँछन् । ‘बहुमत नभएको सरकारले बजेट ल्याउँदैन भन्ने मान्यताका आधारमा मत विभाजनको माग गरिँदैनथ्यो’, उनी भन्छन्, ‘विपक्षी दलले मत विभाजन नमागेको भएपनि हुन्थ्यो । तर, मत विभाजन माग गर्ने सांसदको अधिकार हो ।’ सभामुख देवराज घिमिरेले विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने तयारी गरेका बेला एमाले सचेतक महेशकुमार बर्तौलाले मत विभाजन माग गरेका थिए । उनले प्रतिनिधिसभामा हुन्छ भन्ने (बजेट पारितको पक्षमा रहेका) भन्दा हुन्न भन्ने (बजेट पारितको विपक्षमा रहेका) सांसदको संख्या बढी छ भन्ने आफूहरुलाई लागेको भन्दै मतविभाजन माग गरेका थिए ।प्रतिनिधिसभा नियमावली २०७९ को नियम २९ मा मत विभाजन सम्बन्धी व्यवस्था छ । जहाँ सभामुखको घोषणाप्रति कम्तीमा २८ जना सदस्यले आ–आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्न’ भन्ने सदस्यलाई विभाजन गरी मत संकलन गर्नुपर्ने भनिएको छ ।

    यही व्यवस्था अनुसार ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्न’ भन्ने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लवि) मा प्रवेश गराई वर्णानुक्रमानुसारको नामावलीमा दस्तखत गराएर विनियोजन विधेयकका विषयमा सदनले निर्णय लिएको हो । नेकपा एमालेका संसदीय दलका उपनेता, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ विनियोजन विधेयकमाथि मतदान हुनुलाई स्वभाविक र सामान्य रुपमा लिनुपर्ने बताउँछन् । ‘सामान्यतया बजेटमा मत विभाजन मागिँदैनथ्यो । यसपटक माग्ने काम भयो’, उनले अनलाइनखबरसँग भने, ‘यो डेमोक्रेटिक अभ्यास हो । यसलाई यही रुपमा लिनुपर्छ ।’

    मत विभाजन माग गर्नुको अर्थ

    नेकपा एमालेका नेताहरु सरकारको पक्षमा कति सांसद छन् भन्ने देखाउन मत विभाजन मागेको बताउँछन् । विनियोजन विधेयकमाथिको मतदानका क्रममा सरकारको पक्षमा १४७ जना देखा परेका छन् । यो २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत हो । तर, यो संख्याले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले संसदमा निरन्तर सांसदहरुको समर्थन गुमाउँदै गएको देखिने एमाले सचेतक महेश बर्तौंला बताउँछन् । ‘बजेटमा जम्मा १४७ सांसदको समर्थन कायम हुनुले राजनीतिक रुपमा, नैतिक रुपमा सरकारको क्रमशः जनमत कमजोर हुँदै गएको वा सरकार क्रमशः अल्पमतमा पर्दै गएको शृङ्खलाको चित्र प्रस्तुत गरेको छ ।’१० पुस २०७९ मा प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । पहिलो पटक विश्वासको मत लिँदा प्रचण्डले २६८ मत पाएका थिए । त्यसबेला एक÷एक सिट रहेको नेमकिपा र राष्ट्रिय जनमोर्चा बाहेक संसदमा रहेका सबै दलका सांसदले प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

    राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्म पुग्दा एमालेसँग गठबन्धन तोडेर प्रचण्डले कांग्रेससहित १० दलसँग गठबन्धन बनाएपछि ६ चैत २०७९ मा पुनः विश्वासको मत लिए । दोस्रो पटक विश्वासको मत लँदा प्रधानमन्त्री प्रचण्डले १७२ मत पाएका थिए । त्यसबेला प्रचण्डलाई उनको दल माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले समर्थन गरेका थिए । यसबीचमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको रास्वपाले बुधबार विनियोजन विधेयकमाथि भएको मतदानमा विपक्षमा मतदान गरेको छ । प्रचण्ड नेतृत्वको वर्तमान सरकारको औपचारिक प्रस्तावमा रास्वपाले पहिलो पटक विपक्षमा मतदान गरेको हो । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसका ८८ सांसद छन् । दोस्रो ठूलो दल नेकपा एमालेको ७८, नेकपा माओवादीको ३२, रास्वपाको २१, राप्रपाको १४, जसपाको १२, नेकपा एकीकृत समाजवादीको १०, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको चार/चार र नागरिक उन्मुक्ति पार्टीको ३ सदस्य छन् । नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका साना दलहरुको एक/एक सिट छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मोदी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न

    पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले...

    राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि नारायण माविलाई

    पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले...

    पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...

    जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

    पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...

    हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

    काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं