SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/१३ गते
    ८४५ &#२३४६;&#२३३५;&#२३२५;

    चितवन । भरतपुर महानगरपालिका, चितवनमा यसपटक पनि स्थानीय तहको निर्वाचन पेचिलो बन्ने देखिएको छ । निर्वाचनको औपचारिक माहौल सोमबारबाट सुरु भएसँगै मेयर पदमा प्रमुख दुई उम्मेदवार विजय सुवेदी र रेनु दाहालबीचको प्रतिस्पर्धा रोचक र जटिल हुने विश्लेषण हुन थालेको छ ।

    अघिल्लो पटकको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका देवी ज्ञवाली र कांग्रेस-माओवादी केन्द्र गठवन्धनबाट उम्मेदवार रहेकी रेनु दाहालका बीचमा भएको प्रतिस्पर्धाले साराको ध्यान खिचेको थियो । उक्त निर्वाचनमा एमाले उम्मेदवार ज्ञवाली, दाहालसँग २०३ मतको झिनो अन्तरले पराजित भएका थिए ।

    यसपटक एमालेबाट देवीको सट्टामा विजय सुवेदी मैदानमा छन् भने रेनु दोस्रोपटक मेयर बन्न चाहेकी रेनुलाई नेपाली कांग्रेससहित सत्तारुढ गठबन्धनको साथ छ । सुवेदी बागमती प्रदेशको सांसद पदबाट राजीनामा दिएर भरतपुरको मेयर लड्न आएका हुन् भने रेनुले पनि मेयर पदबाट राजीनामा दिएकी छन् । सुवेदी र दाहाल दुबैले सोमबार दिउँसो मेयर पदमा उम्मेदवारी दर्ता गराए ।

    दिउँसो करीव २ बजे एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विजयले उम्मेदवारी दर्ता गराए । उनको प्रस्तावक उनै देवी ज्ञवाली भए भने सर्मथक चितवन क्षेत्र नं. २ का सांसद समेत रहेका कृष्णभक्त पोखरेल थिए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उम्मेदवार सुवेदीले भरतपुरका योजनावद्ध विकासका लागि आफू मेयरमा उठ्ने र जित्ने बताए ।

    सुवेदीले उम्मेदवारी दर्ता गराएर फर्किंदै गर्दा भरतपुरका चौबीसकोठी छेउछाउमा भने फरक-फरक दृश्य देखिन्थे ।राजमार्गभन्दा माथि अस्पताल रोडमा कांग्रेसबाट भरतपुर महानगरमा रेनुविरुद्ध बागी उम्मेदवारी दिने कार्यकर्ता बाजागाजा र चारतारे झण्डासहित भेला भएका थिए भने राजमार्गभन्दा तल माओवादी केन्द्रका नेता कार्यकर्ता उम्मेदवारी दर्ताका लागि जम्मा हुँदै थिए ।

    दिउँसो करिब ३ बजे कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गराए । चितवनमा कांग्रेस पार्टी जोगाउन मेयरमा उम्मेदवारी दिएको उनको दाबी छ । पौडेलले उम्मेदवारी दर्ता गराएको करिब १ घण्टापछि सत्ता गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले उम्मेदवारी दर्ता गराइन् । कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले र उपप्रमुखमा उम्मेदवार रहेका चित्रसेन अधिकारीको उपस्थितिमा मेयर पदमा उम्मेदवारी दिएकी उनले कांग्रेसबाट उठेका बागीले खासै फरक नपर्ने प्रतिक्रिया दिइन् ।

    रेनुले उम्मेदवारी दर्ता गरिसक्दा पनि अधिकारीको टिकट नआएको कारण केहीबेर कार्यालयमै उनीहरु रोकिएका थिए ।

    भरतपुरमा यसपटक एमाले र राप्रपाका बीचमा चुनावी तालमेल भएको छ । राप्रपाबाट उपमेयर उम्मेदवार टुंगो लाग्न समय लाग्दा ढिलो गरी हिमला गुरूङले उपमेयरमा उम्मेदवारी दर्ता गरिन् ।

    बागीकै डर, बागीकै भर

    भरतपुरमा कांग्रेसको जनमत कतातिर कसरी जान्छ भन्ने कुराले जित हारको निर्धारण गर्ने अनुमान गरिएको छ । कांग्रेसबाट बागी बनेर उठेका पूर्वसांसद पौडेलले बढीभन्दा बढी मत काटेमा एमालेका उम्मेदवार सुवेदीलाई जित भेट्टाउन सजिलो हुने देखिन्छ । एमाले चाहना पनि, कांग्रेसको कतिपय मत आफूतिर आओस्, नभए बागीले काटोस् भन्ने छ ।उम्मेदवारी दर्ताअघि बीपी कोइरालाको शालिकमा माल्यापर्ण गर्ने सुवेदीको कदम पनि यो चाहबाट प्रेरित देखिन्छ ।

    उम्मेदवारी दर्ता गर्न जानुअघि एमाले पार्टी कार्यालयमा मदन भण्डारी र जीवराज आश्रतिका शालिकमा फूलमाला चढाएका सुवेदीले, एक किलोमिटर पर क्यान्सर अस्पतालभित्र रहेको बीपी कोइरालाको शालिकमा पनि फूलमाला चढाउन पुगे । उनी यतिमा मात्रै रोकिएनन्, २०६२/०६३ को जनआन्दोलनकी सहिद तुलसी क्षेत्रीका छोरालाई सम्मान गर्दै आर्शिवाद लिए । उनले आफूलाई सबैप्रति समभाव राख्ने नेताको रुपमा चित्रित गर्न सोमबार गरेका यी सबै गतिविधि भोट र भरतपुरका नागरिकको सुवेक्षा बटुल्ने प्रयास हो ।

    जसरी सुवेदीले बागी उम्मेदवारको भर गरेका छन्, त्यही खालको डर फेरि मेयर बन्ने आकांक्षासहित उम्मेदवारी दिएकी रेनुलाई छ । जिल्लामा राम्रो छवि बनाएका पौडेलले कांग्रेसको मत धेरै काट्दा त्यसको फाइदा विपक्षी उम्मेदवारलाई हुने हो कि भन्ने डर उत्तिकै छ । कांग्रेसभित्र यसपटक माओवादीलाई मत दिनहुन्न भन्ने जमात अघिल्लो चुनावमा भन्दा धरै छन् ।

    बागी उम्मेदवार रहेका पौडेलले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने जनाएका छन् । हरेक वडा वडामा चारतारे झण्डा बोकेर कांग्रेसका वडाध्यक्ष उम्मेदवारलाई जिताउन र आफूलाई मत माग्न जाने सोच बनाएको पौडेलको भनाइ छ । पौडेल अडानमा रहे र माओवादीप्रति असन्तुष्ट पक्ष अन्तिम समयसम्म एक ढिक्का रह्यो भने भरतपुरमा सत्ता गठवन्धनलाई गाह्रो हुने देखिन्छ ।

    सत्ता गठवन्धनका अन्य सहायक तीन दल एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको जनमत उति राम्रो छैन । ‘कांग्रेसलाई एक्लै चुनाव लड्ने बनाउन’ भन्ने नारा दिएर जिल्ला सभापति जितेका राजेश्वर खनाललाई समेत गठवन्धनलाई एकमत बनाएर चुनावमा लैजाने निकै मुस्किल छ । उनले प्रधानमन्त्री समेत रहेका पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई बालुवाटारमै जिताउने जिम्मा लिन नसक्ने बताएका थिए । भोलि चुनाव हारे पनि दोष आफूतिर नआओस् भनेर सभापति खनालले यस्तो रणनीति बनाएको बुझ्न सकिन्छ । अहिलेको कांग्रेसको जिल्ला नेतृत्व पहिलाको भन्दा ‘रिजिड’ भएको अनुभूति माओवादी पक्षले समेत गरेको छ ।

    गएको निर्वाचन र यसपटक फरक के छ ?

    २०७४ को स्थानीय तहको निर्वाचन र यसपटक नतिजालाई हेरफेर पार्न सक्ने केही ‘फ्याक्टर’हरु छन् ।अघिल्लोपटक १ लाख ५० हजार २७४ रहेको भरतपुरको मतदाता यसपटक बढेर १ लाख ८५ हजार ७५२ पुगेको छ । बढेको ३५ हजार मत कुन दलतिर बढि आर्कषित छ र युवाहरूलाई लक्षित गरेर कसले कार्यक्रम दिन सक्छ भन्ने कुराले ठूलो अर्थ राख्छ ।

    अघिल्लो पटक कांग्रेस र माओवादीको बीचमा चुनाव तालमेल भएर रेनु उम्मेदवार बनेकी थिइन् । यसपटक एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी, राजमो र जसपा पनि साथमा छ । त्यसले केही न केही जनमतलाई बढाउन बल दिन्छ । अघिल्लो चुनावमा भरतपुरमा एक्लै चुनाव लडेको एमालेले पनि राप्रपाको साथ पाएको छ । गत चुनावमा काठमाडौं लगायतका ठाँउमा राप्रपासँग गठवन्धन गरेको एमालेले भरतपुरमा पनि गरेको भए परिणम फरक हुनसक्थ्यो । किनकी एमाले उम्मेदवार ज्ञवाली थोरै मतले हारेका थिए ।

    राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको समेत निर्वाचन क्षेत्र महानगरमा पर्ने र राप्रपाको जनमत राम्रै भएकाले अघिल्लोपटक भन्दा यसपटक केही फरक हुने देखिन्छ । अघिल्लो पटकको निर्वाचनमा रेनु भरतपुरका लागि नयाँ थिइन् । तर यो पाँच वर्षको अवधिमा उनले महानगरमा बनाएको सम्बन्ध र सम्पर्क उनका लागि अर्को अनुकलता हो । दुबैका आ-आफ्ना चुनौतीका बीच आगामी निर्वाचन कसले जित्ला ? फेरि पनि भरतपुर चर्चाकै केन्द्रमै छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक भएको छ । सिनेमाको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले...

    कविशिरोमणिको १४१ औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता

    पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत लायन्स क्लब...

    युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगिता: २०२४ छात्रा तर्फ अमरसिंह मावि र छात्र तर्फ बाराही मावि प्रथम

    पोखरा। युनाईटेड कम्युनिटी नेपाल (युनिकन)ले शनिबार पोखरा रंगशालामा आयोजना गरेको “युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगिता...

    लोकदोहोरी प्रतिष्ठान पर्बतको आयोजनामा कुश्मामा पौष १५ देखी १७ सम्म युवा पर्यटन महोत्सव

    पर्वत । अंग्रेजी नया वर्ष २०२५ र पुषे पन्ध्र अर्थात ल्होसारको अवसर पारेर राष्ट्रिय लोक...

    पशुपतिनाथमा दामोदर

    शिशिर उजाड,पोखरा ।पोखरा ८ सिमलचौरमा रहेको पशुपतिनाथ मन्दिरको तेह्रौ साधारण सभा तथा पाचौ अधिवेशन सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं