काठमाडौँ, । युएईमा भएको सडक दुर्घटनामा ६ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ । फस्ट सेक्युरिटीमा काम गर्ने सेक्युरिटी गार्ड बोकेर गुडेको मिनीबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीसँग ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा नेपालका रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ। उनीहरुको ठेगाना भने खुलेको छैन ।
६ जना नेपालीको सडक दुर्घटनामा निधन भएको प्रति समवेदना प्रकट गर्दै नेपाली दूतावास आवुधाबीका राजदूत कृष्णप्रसाद ढकालले मृतकका लागि आवश्यक सहयोग दूतावासले गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् । दुर्घटनामा मृत्यु हुने अन्यमा पाकिस्तानी र भारतीय नागरिक रहेको युएईस्थित विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सोही दुर्घटनामा ६ जना घाइते भएका छन्। त्यहाँको स्थानीय प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।