SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/३१ गते
    ८५८ &#२३४६;&#२३३५;&#२३२५;

    विद्यालयमा समावेशी शिक्षाको परिपाटि किन आवश्यक छ ?

    रामचन्द्र पाैडेल

    हामीले दुई दुई पटक संविधान सभाको निर्वाचन गरेर नेपालको संविधान २०७२ स्थापित ग¥यौँ । यो संविधान विभिन्न विचार र मतको सम्झौताको संविधान भएकाले यसले समावेशी राज्यको र समृद्ध समावेशी नेपाली समाजको भावनालाई अङ्गिकार गरेको छ । समावेशी राज्य र समावेशी समाजलाई सुदृढ बनाउने धेरै आयामहरूमध्ये समावेशी विद्यालय एउटा महत्वपूर्ण आधारभूत आयाम हो । समावेशी विद्यालयको स्थापनाले समावेशी घरपरिवार र समावेशी समुदायको सुदृढीकरण गर्छ । आज विद्यालयमा अध्ययन गर्ने बालबालिकाले समावेशी मूल्य, मान्यताको अभ्यास गर्दा भोलि उनीहरूले आफ्नो जीवनशैलीमा समावेशी आचरण र संस्कार विकास गर्दछन् ।

    समावेशी आचरण र संस्कार भन्नाले सबैको कुरा सुन्ने, आफ्नो कुरा भन्ने र सामूहिक निर्णय गरी कार्यान्वयन गर्ने संस्कार हो । प्रजातन्त्र वा लोकतन्त्र वा समाजवादलाई बलियो बनाउने आधार नै समावेशी आचरण हो । आज विद्यालयमा सिकेको समावेशी व्यवहार निरन्तर आफ्नो घर परिवार र समाजमा रूपान्तरण हुँदै जान्छ । यसबाट परिवार सदस्यहरूको पनि विद्यालयप्रति उक्तिकै संलग्नता हुँदै जान्छ । विद्यालय समावेशी बनाउन समावेशी कक्षाकोठा चाहिन्छ । कक्षाकोठा व्यवस्थापन र कक्षाकोठाको शिक्षण सिकाइ शैली समावेशी हुनुपर्छ । यस कार्यमा अभिभावकको सीप, क्षमताको पनि उपयोग गर्दै जानुपर्छ ।

    समावेशीकरण के हो त ?
    व्यक्ति वा समूहको आवश्यकताको आधारमा सम्बन्धित विषयमा संलग्न गराइनु वा हुनु नै समावेशीकरण हो । अर्थात् “म यो समूह वा संस्थाको सदस्य हुँ, मेरो खोजी हुन्छ र म मैले कुनै हिसाबले योगदान गरिरहेको छु” भन्ने अनुभूति नै समावेशीकरण भएको अनुभव हो ।

    समावेशी विद्यालय कस्तो हो ?
    सबै किसिमका क्षमता भएका विद्यार्थीहरूले उनीहरूको आवश्यकताअनुसारको शिक्षा प्राप्त गर्ने अवसर पाउने विद्यालय नै समावेशी विद्यालय हो । जसमा अभिभावकको सक्रिय सहभागिता हुन्छ । उनीहरूले विद्यालयप्रति आफ्नो अपनत्वको अनुभव गर्दछन् । सरोकार निकायहरूले त्यसलाई आवश्यक सहयोग गरिरहेका हुन्छन् ।

    समावेशी कक्षाकोठा कस्तो हो त ?
    विद्यार्थीको अवस्था, आवश्यकता र रुचिको पहिचानसहित उसको जन्मजात बौद्धिकताअनुसार सहभागितात्मक सिकाइ अवसर प्रदान गर्ने कक्षाकोठा नै समावेशी कक्षाकोठा हो । जसमा अभिभावकहरू र सरोकारवालाहरूले समेत शिक्षण सिकाइलाई व्यवहारिक बनाउन सक्रिय रूपले संलग्न भईरहेका हुन्छन् ।

    कोही सार्वजनिक विद्यालयका कक्षाकोठा र त्यहाँका वातावरण अवलोकन गर्दा देखेसुनेका परिस्थितिहरू:

    १. उ टाउको निहुर्याएर बसेको छ । कक्षा कोठाको कुनामा एक्लै छ । अगाडिको बेञ्चमा ४ जना विद्यार्थी छन् । पुस्तकबाट बोर्डमा सारेको वाक्य पढ्दै शिक्षकले “बुझ्यौ” भन्दा “बुझ्यौँ” सर भन्दछन् र कक्षाका सबभन्दा जान्ने विद्यार्थी अगाडिको बेञ्चमा बस्दछन् । अरु सबै पछाडिको बेञ्चमा नबोली बसेका छन् । उनिहरुलाई सरले के पढाउनु भयो त्यति पत्तो छैन । कहिलेकाँही अगाडिको बेञ्चमा बसेकाले “हो” भन्दा “हो” भनेर गीतिलयमा “हो” वा “होइन”, “बुझ्यौँ” वा “बुझेनौँ” भने पुग्छ । टाउको निहुर्याएर बसेको विद्यार्थी निकै डराएको छ । कतिखेर सरले नजानेको कुरा सोध्छन् भनेर आत्तिएको रहेछ । सोधेको कुरा जानिएन भने कुटाई खानु पर्ने रहेछ । उसको कक्षाका कति विद्यार्थीले कुटाइ खाएर नै स्कुल छाडेका रहेछन् । स्कुल चलेको धेरै दिन पछि उ बल्ल आज स्कुल आएको रहेछ । आज उ स्कुल ड्रेसमा छ ड्रेस नभएसम्म स्कुल आउन नपाउने रहेछ ।

    २. अगाडि बसेका विद्यार्थीले पनि बोर्डमा लेखेको कुरा पढ्न सक्दछन् । तर त्यसको अर्थ बुझेका छैनन् । कक्षा ४ मा फूल फुल्ने र नफुल्ने बिरुवाको पाठ पढेका विद्यार्थीले आफ्नो वरपरका ५ वटा फूल नफुल्ने बिरुवा चिन्दैनन् । ढाड भएका र नभएका जनावर पाठ पढेका विद्यार्थीले आफ्नो वरपर ढाड नभएका जनावर चिन्दैनन् । किताबमा लेखेका नाम घोकेका छन् । कक्षा ६ मा क्षेत्रफलको हिसाब पढेका विद्यार्थीले लम्बाइ, चौडाइ नाप्न जान्दैनन् । कक्षा ८ मा कथा पढेका विद्यार्थीले त्यो कक्षाबाट आफूले के शिक्षा पाइयो भन्न सक्दैनन् । मानौं त्यो कुरा पढ्नको लागि पढेको हो, सिकेर व्यवहार गर्न निम्ति पढेको होइन ।

    ३. पढाइका कुराहरू दैनिक जीवन, घरपरिवार, समाजसँग जोडिएका छैनन् । यसैले विद्यार्थीले ति विषयको वास्तविक अर्थ बुझ्दैनन् । लेखेका कुरा घोक्छन् । कण्ठ बनाउँछन् । त्यही घोकेको कुरा सम्झेर परीक्षामा जति लेख्न सक्यो त्यसैको आधारमा उसको सिकाइ मल्याङ्कन हुन्छ ।

    ४. कक्षा कोठाका बेन्चहरू फिक्स्ड छन् । तिनीहरूलाई किल्ला ठोकेर यताउता चलाउन सजिलै नमिल्ने गरि राखिएको छ । भित्तामा एउटा लेख्ने सेतो बोर्ड छ । त्यसैमा लेखेर देखाइन्छ, विद्यार्थीले त्यसैलाई सार्दछन् र घोक्दछन् । यदि कुनै विद्यार्थीले सोधेको कुरा जानेन वा गृहकार्य गरेर आएन वा अन्य कुनै कुरा गरेको मिलेन भने दोष विद्यार्थी र उसका अभिभावकको हो भन्ने ठानिन्छ । उसैलाई होच्याइन्छ र झन् हेपिन्छ । विपन्न र ढिलो सिक्ने वा कमजोर विद्यार्थीलाई नै विद्यालयको समस्या मानिन्छ । शिक्षक त्यसै भन्छन्, विद्यालय व्यवस्थापन समिति सदस्यहरू त्यही स्वरमा स्वर मिलाउँछन् । अभिभावकलाई पनि उनीहरूले भनेको कुरा ठीकै होला कि जस्तो लाग्छ । एकचोटी विचार गरौँ त । एउटा ढिलो सिक्ने विद्यार्थीलाई यस्ता बाणले सबैले कोपीरहदा उ कस्तो होला ? उ त झन झन् छिया छिया हुन्छ होइन त ? यसले तिरस्कार र अपहेलनाको स्थिति पैदा गर्दछ ।

    यी त केही प्रतिनिधिमूलक अवस्था हुन । सार्वजनिक विद्यालयका कक्षाकोठा र त्यहाँ भित्रको गतिविधि अवलोकन गरौँ त , अरु के के देखिन्छ, सुनिन्छ ।

    अव के गर्ने त ?
    १. खोजी गरौँ र संवाद चलाऔँ । ड्ड विद्यार्थीले पढेको कुरा अर्थ वुझ्ने गरि र त्यसलाई दैनिक जीवन तथा घरपरिवारमा जोड्दै रूपान्तरित हुने वातावरण बनाउन शिक्षकलाई कसरी उत्प्रेरित गर्ने ?

    शिक्षक अभिभावक संघका सदस्यहरू के गर्दै हुनुहुन्छ ?
    व्यवस्थापन समितिका सदस्यहरू के काममा व्यस्त हुनुहुन्छ ?
    वडा, पालिकाका जनप्रतिनिधिहरूले के गर्दै हुनुहुन्छ ?
    नागरिक समुदायका सदस्यहरू के कुरामा केन्द्रित छन् ?
    अभिभावकहरूलाई आफ्नो जिम्मेवारी वहन गर्न सक्ने बनाउन कसरी सहयोग गर्ने ?
    सबै पक्षको सामूहिक सहकार्यबाट विद्यालय शिक्षालाई गुणात्मक र समावेशी बनाउन सकिन्छ ।

    विपन्न परिस्थितिका परिवार र विभिन्न क्षमता भएका विद्यार्थीहरूको हक, हित र कल्याणको निम्ति तिनको वरपर सहयोगीहरू स्थापित छन् । ति सहयोगीहरूको भूमिका, सक्रियता र परिचालनबाट सिकारु केन्द्रित समावेशी शिक्षाको जग बलियो बन्छ । विद्यार्थी र तिनका अभिभावकको असल जीवन कोर्न नै हामीलाई विद्यालय चाहिएको हो । शिक्षकहरू त्यसैको निम्ति नियुक्त गरिएको हो । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पनि त्यही कामलाई व्यवस्थित गरी समावेश र गुणस्तरीय शिक्षा प्रदान गर्न गठन भएका हुन् । तिनै विद्यार्थी र अभिभावकको जीवनस्तरमा सुधार गर्न नै अन्य संरचनाहरू बनाइएका हुन् । अब विचार गरौँ त, संघीय शिक्षा मन्त्रालयले यि सबै काम गर्न रकम कहाँबाट ल्याउँछ त ? तिनै विद्यार्थीका अभिभावकले तिरेको कर र नेपाली जनताको करबाट जम्मा भएको रकमको बाँडफाँड गर्दा संघीय मन्त्रालय हुँदै पालिकासम्मका रकम आउने होइन र ? पालिकाहरूले पनि विभिन्न शीर्षकमा तिनै जनतासँग कर लगाएर रकम जम्मा गरेको होइन ? अब यि सबै संरचनाहरू करदाताप्रति उत्तरदायी हुनुपर्दैन ?

    २. आफ्नो व्यवहारलाई फर्केर हेरौँ र सच्याऔँ ।
    अनुभव, विचार, चेतना भएका अनुभुतिहरू सकारात्मक मानव विकास, मनोसामाजिक स्वस्थता, संवेगात्मक स्वास्थ्यका सूचकहरू हुन् । तिरस्कार, घृणा, हस्तक्षेप, लज्जित पार्नु जस्ता मानसिक र संवेगात्मक पीडा दिने व्यवहारले व्यक्तिलाई बहिस्करण गर्दछ । वर्ग, जात, धर्म, लिंग, शिक्षा, दौलत, पदको आधारमा शक्ति र प्रभाव भएको ठान्ने व्यक्तिहरूले जानेर वा नजानेर अन्य व्यक्ति वा समुदायलाई बहिस्करण गरेका हुन सक्छन् ।

    शिक्षक मुस्कुराउँदै कक्षा कोठामा प्रवेश गर्दा सबै बालबालिकाहरूको अनुहारमा पनि मुस्कान छाउँछ, पढाएको बुझिन्छ, नबुझेको सोध्न मन हुन्छ, सिक्ने हौसला मिल्छ । किनकि, मुस्कुराउँदा पैसा लाग्दैन यो खुसी, सुखी, सरलता, महानता एवं सम्पन्नताको पहिचान हो । र, तपाई हाम्रो एक मुस्कानले कयौं अनुहारमा खुशी ल्याइदिन सक्छ ।

    विद्यार्थी कहिल्यै समस्या हुन सक्दैन । उचित शिक्षा पाउनु बालबालिकाको अधिकार हो । जीवन उपयोगी शिक्षा प्रदान गर्नु सरोकारवालाहरूको दायित्व हो । यसैले हामीले कस्तो संरचना तयार ग¥यौं र कस्तो परिपाटी बसाल्यौँ ? त्यसको लेखाजोखा गर्नुपर्ने बेला भएको छ । बालबालिकाको शिक्षाको निम्ति स्थापित विद्यालयलाई राम्ररी सञ्चालन गर्न बनेका संरचना ( शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति, शिक्षक, समुदाय, जनप्रतिनिधि, वडा, पालिकालगायतका संरचना नागरिक समुदाय ) ले विद्यालय सञ्चालनको परिपाटी र संरचनाभित्र भूमिका र समस्याको खोजी गरी त्यसको समाधानमा ध्यान दिनुपर्ने हुन्छ ।

    ३. शिक्षकलाई विद्यार्थीको आवश्यकताको आधारमा शिक्षण गर्न सहजिकरण गरौँ, कक्षामा रहेका विद्यार्थी सबै एकै किसिमका छैनन् । कोही छिटो सिक्छन् । कोही ढिलो सिक्छन् । कसैले सुनेर हेरेर सिक्छन् । कसैले गरेर वढी सिक्छन् । कसैलाई वातावरण बनाइदिए आफै सक्रिय हुन्छन् । कोहीलाई हात समातेर नै सिकाउनुपर्छ । कसैसंग ठुलो परिवारमा बसेको अनुभव छ त कसैसँग भाइ बहिनी हेरचाहको अनुभव छ । कोही खेलमा राम्रो छन् , कोही लेखाइपढाइमा राम्रो छन् । यसैले सबैलाई एउटै शिक्षण विधिले काम गर्दैन ।

    पहेँलोलाई सेतो देख्ने पनि हुन सक्छन् । कसैलाई रातो मन पर्छ त कसैलाई निलो । डिक्लेक्सिया भएको व्यक्तिमा सिकाइ कठिनाइ हुन्छ । अक्षरबाट शब्द मिलाउन र बोलेको आवाज चिन्न पनि समस्या हुन्छ । यो परिस्थिति वंशाणुगत हुन्छ जसले भाषा सिकाइमा कठिनाई उत्पन्न गर्छ । यसको उपचार छैन तर विभिन्न तरिकाले निरन्तर प्रयास गर्दा भाषामा सुधार गर्न सकिन्छ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र वैज्ञानिक अल्बर्ट आइन्स्टाइन जस्ता व्यक्तिलाई पनि डिक्लेक्सियाको अवस्था थियो । विश्व स्वास्थ्य सङ्गठनले पाँच जनामा एक जना व्यक्तिलाई यस्तो स्थिति छ भनेको छ ।

    प्रत्येकलाई उसको आवश्यकताको आधारमा व्यवहार गरे मात्र न्याय हुन्छ । कमजोर र गृहकार्य गर्न नसकेका विद्यार्थीहरूलाई शिक्षकले वढी समय दिएर सिकाउनुपर्छ । तिमीलाई के कुरा गा¥हो भयो । म तिमीलाई कसरी सहयोग गर्न सक्छु को प्रवृत्तिको विकास गर्नु पर्छ ।

    लेखक विकल्प तालिम केन्द्रका प्रमुख सहजकर्ता, चिल्ड्रेन नेपालका संस्थापक अध्यक्ष र हिंसाका विकल्प तथा शान्तिका उपायका अन्तराष्ट्रिय सहजकर्ता हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्राथमिक तह शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान, कुन जिल्लामा कति कोटा ? (पूर्णपाठसहित)

    काठमाडौं। शिक्षक सेवा आयोगले रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान...

    सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

    पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं