SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/१८ गते
    ५२२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु भने झुलाघाट–चिवाभञ्याङ यात्रामा भएकाले यसबारे कुनै छलफल भएको छैन ।आगामी फागुन २० गते २० जना राष्ट्रिय सभा सदस्य कार्यकाल सकिएर बिदा हुँदैछन् । कार्यकाल सकिएर बिदा हुन लागेका मध्ये विमला राई पौड्याल राष्ट्रपतिबाट मनोनित सांसद हुन् । उनको ठाउँमा राष्ट्रपतिबाटै मनोनित भएर अर्को सांसद आउँछन् । बाँकी १९ पदका लागि निर्वाचन हुनेछ ।

    पद रिक्त हुनु एक महिना अगावै चुनाव गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा मतदान तोकिएको छ । यससँगै सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच छलफल सुरु भएको नेताहरुले बताएका छन् ।नेपाली कांग्रेसकी नेतृ अनिता देवकोटा पनि राष्ट्रिय सभाको चुनावका विषयमा दलहरुका बीचमा अनौपचारिक संवाद सुरु भएको बताउँछिन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोप–२८ मा सहभागी हुन युएई जानु अगाडि शीर्ष नेताहरुको बीचमा राष्ट्रिय सभाको चुनावको विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार मात्र स्वदेश फर्किएका छन् । आन्तरिक गृहकार्य भइरहेको र छिट्टै गठबन्धनमा छलफल हुने नेताहरु बताउँछन् ।

    यस्तो छ भागबन्डाको तयारी

    सत्तारुढ दलहरु राष्ट्रिय सभाको १९ सिटका लागि भागबन्डा मिलाउने प्रयासमा छन् ।शीर्ष नेताहरुको छलफलपछि भागबन्डाको प्रारम्भिक खाका तयार पार्ने जिम्मेवारी नेताहरुले पाएका छन् । कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङ, माओवादी केन्द्रका महासचिव देव गुरुङ, प्रमुख सचेतक हितराज पाण्डे, एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र जनता समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सहमतिको प्रारम्भिक खाका तयार पार्ने जिम्मेवारी अनौपचारिक रुपमै प्राप्त गरेका हुन् ।

    जिम्मेवारी पाएका नेताहरुबीच भएको छलफलले मतभार अध्ययन गरेर प्रस्ताव तयार पार्ने सानो समूह बनाएको छ । नेताहरुका अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भागबन्डा गर्ने गरी प्रारम्भिक खाका बनेको छ । चुनाव हुने १९ सिटमध्ये कांग्रेसले ९, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जसपाले १ जना उम्मेदवार उठाउने भनिएको छ ।

    राष्ट्रपतिबाट मनोनित अर्का एक जना सांसद थपिंदा कांग्रेसको भागमा १० राष्ट्रिय सभा सदस्य हुनेछन् । तर सरकारमा रहेका नागरिक जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उन्मुक्ति पार्टी (नाउपा) लाई समेटिएको छैन । ‘सबै साना दललाई समेट्न गाह्रो हुने अनुमान छ । यही आधारमा चार दलका बीचमा भागबन्डा गर्ने गरी खाका तयार भएको हो’ एक नेताले भने, ‘नेताहरुबीच छलफल हुन बाँकी नै छ ।’

    मधेश प्रदेशमा लोसपा चौथो ठूलो दल हो । यो प्रदेशमा माओवादी केन्द्र र जनमत पार्टी हाराहारीमा छन् । मधेश प्रदेशमा एमालेको २३०२ मतभार छ । कांग्रेसको ३१०४, जसपाको १८१७, माओवादी केन्द्रको ७६६ र जनमत पार्टीको ७४६ मतभार छ ।

    सुदूरपश्चिम प्रदेशमा नाउपामा मतभारका दृष्टिमा चौथो ठूलो दल हो । यो प्रदेशमा एकीकृत समाजवादी भन्दा अगाडि नाउपा रहेको छ । यो प्रदेशमा कांग्रेसको २६४१ मतभार छ । एमालेको १४८०, माओवादी केन्द्रको १०५८, नाउपाको ५०४, एकीकृत समाजवादीको ३०७ मतभार छ ।कांग्रेसले कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एक सिट, बागमती र गण्डकी प्रदेशमा दुई/दुई सिटमा उम्मेदवार उठाउने प्रस्ताव छ ।

    माओवादी केन्द्रले, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा एक/एक र सुदूरपश्चिममा दुई सिटमा उम्मेदवार उठाउनेछ । एकीकृत समाजवादीले बागमतीमा दुई सिट र कर्णालीमा एक सिटमा उम्मेदवार उठाउनेछ । मधेश प्रदेशमा एक सिटमा जसपाले उम्मेदवार उठाउनेछ ।

    एमालेले हतार नगर्ने

    प्रमुख प्रतिपक्षी एमालेले भने मध्यपहाडी लोकमार्गमा जारी यात्रा सकिएपछि मात्र छलफल गर्ने नेताहरु बताउँछन् । ‘अभियान सकिएपछि राष्ट्रिय सभाको चुनावबारे आन्तरिक गृहकार्य सुरु हुन्छ’ एमाले सचेतक महेश बर्तौला भन्छन्, ‘तेस्रो सातामा मनोनयन भएकाले पुसको दुई साता गृहकार्य हुन्छ ।’

    एमालेको अभियान १ पुसमा सकिनेछ । बर्तौलाका अनुसार मध्यपहाडी यात्रा सकिएपछि नेताहरु काठमाडौं केन्द्रित हुनेछन् । त्यसपछि एमालेले राष्ट्रिय सभाको चुनावमा लिने नीति अख्तियार गर्नेछ ।राष्ट्रिय सभा सदस्यमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । मतदान गोप्य हन्छ । प्रदेश सभा सदस्यको मतभार ५३ छ भने पालिका प्रमुख र उपप्रमुखको मतभार १९/१९ रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं