

एमसीसीकै कारण गठबन्धन नटुट्ने उल्लेख गर्दै उनले भने, ‘एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन । टुट्दैन । त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन भन्ने छ । हिजो मात्रै मेरो प्रधानमन्त्रीजीसँग कुरा भयो, बुद्धिजीवि नागरिकहरुको बैठक बस्ने कि भन्ने थियो अब, हाम्रो राष्ट्रिय सम्मेलनको चाप आइसक्यो, हुन्छ नि त तपार्इंको सम्मेलनपछि गरौँ भनेर सहज ढंगले उहाँले सहयोगी भावना देखाउनुभयो । उहाँले पनि यो विषयलाई बुझ्नु भएको छ र अनावश्यक रुपले प्रेसर आउँछ भन्ने मलाई लाग्दैन ।’
अहिलेको देशको परिस्थिति विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने नरहेको उल्लेख गर्दै दाहालले एमसीसीमा आवश्यक सुधार गर्नुपर्ने बताएका छन् । एमसीसीका बारेमा केही गम्भीर प्रश्न उठेकाले पनि आम नागरिकमा रहेको सन्देहलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । सुरुको सहमतिमा एमसीसी सम्झौता संसद्बाट पारित गर्नुपर्ने उल्लेख नभए पनि पछि कहाँबाट त्यो प्रावधान ल्याइयो भन्नेबारे प्रस्ट पार्नुपर्ने पनि उनले बताए ।
अन्तर्वार्तामा उनले भनेका छन्, ‘ओरिजिनल सहमतिमा संसद्मा लगेर अनुमोदन गर्ने कुरा थिएन । यो बीचमा कहाँबाट आयो रु किन आयो त्यहाँबाट सुरु भयो । यसको विवाद, नत्र यो पहिला विवादमा थिएन । त्यसपछि अमेरिकाको आफ्नो ग्लोबल स्टा्रटेजी भनौँ न, विश्वव्यापी रणनीतिको अंग हो यो भनेजस्ता प्रचारहरु आए, त्यसले पनि नयाँ बहसलाई जन्म दियो र आम जनतामा एउटा खालको पर्सेप्सन भनौँ न, बुझाइ भयो कि, एमसीसी भनेको राष्ट्रको हीतमा छैन भन्न खालको व्यापक रुपमा गयो । त्यसकारण हाम्रो भनाइ अहिले के हो त भन्दा पहिलो कुरा त यो विषयमा जहाँनेर त्रुटि भएका छन्, किनभने ओर्जिनल सहमतिबाट अर्को सहमतिमा किन लगियो भन्ने कुरा स्पष्ट पार्नुपर्यो ।’
एमसीसीमा कहीँ त्रुटि छ कि भनेर अध्ययन गर्न कार्यदल बनाइएको पनि उनले बताए । जुन प्रावधानले नेपाललाई अप्ठ्यारो पारेको हो त्यो सच्याइनुपर्ने उनको भनाइ छ ।