

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक जना वडा अध्यक्षकै अगुवाइमा मेयर लालकिशोर साहको पुत्ला जलाइएको छ ।
जनकपुरधाम वडा नम्बर ७ स्थित तपसी चोकमा सोमबार साँझ वडा अध्यक्ष जानकीराम साहको अगुवाइमा मेयर साहको पुत्ला जलाइएको छ । यो चोक नजिकै थुपारिएको फोहोरमा आगो लगाउँदै उनीहरुले मेयरको पुत्लासमेत जलाएका छन् ।
विवाहपञ्चमी महोत्सव चलिरहँदा पनि मेयरले नगरलाई सफा बनाउन नसकेको भन्दै वडा अध्यक्ष साह, वडा सदस्यहरु एवं स्थानीय मिलेर मेयरको पुत्ला जलाएका हुन् ।पुत्ला जलाउने क्रममा उनीहरुले ‘भ्रष्ट मेयर मुर्दावाद, जनकपुरलाई सफा गर, घूसखोर मेयर मुर्दावाद, जनकपुरको फोहोर व्यवस्थापन गर’ जस्ता नारा लगाएका छन् ।
वडा अध्यक्ष साहले जानकी मन्दिर, जनक चोक र राम मन्दिर मात्रै सरसफाइ गरेर नहुने भन्दै विवाह पञ्चमीमा डोला परिक्रमा गराइने हरेक ठाउँमा फोहोर नै रहेको बताए । बारम्बार भन्दा पनि मेयरले यसतर्फ ध्यान नदिएको उनको भनाइ छ ।
नगरमा थुप्रिएको फोहोर हटाउन ध्यान नदिएको भन्दै वडा अध्यक्षहरुले यसअघि १४ कात्तिकमा मेयरको घर अगाडि फोहोर थुपारेका थिए । यस्तै, ६ मंसिरमा मेयरको कार्यकक्षमा तालाबन्दी गरी मुख्य गेटमा धर्नासमेत दिएका थिए ।