

भूपेन्द्र बडुवालको हत्या भएको एक साता पुग्दा पनि प्रहरीले त्यसको कारण पत्ता लगाउन सकेको छैन।
गत मंगलबार राति लम्कीचुहा नगरपालिका(१ का २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो।हत्यामा हालसम्म ९ जना पक्राउ परेका छन्। सुरूमा ८ जना पक्राउ परेकामा आइतबार प्रहरीले थप एक जनालाई पक्राउ गरेको थियो।
आरोपित पक्राउ परे पनि बडुवाल हत्याबारे कुनै ‘गुत्थी’ पत्ता नलागेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए ।अनुसन्धानका क्रममा प्रहरीले आइतबार लम्कीचुहा(५ का विकास खड्कालाई पक्राउ गरेको छ।
‘आरोपीहरू समातिए पनि घटना के कारणले भएको भन्ने स्पष्ट भइसकेको छैन,’ बिष्टले भने, ‘अहिले घटना अनुसन्धानका क्रममा भएकाले सबै कुरा भन्न सकिँदैन।’घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी निरीक्षकको नेतृत्वमा दुई जनाको टोली कैलाली पठाइएको छ। सोमबार ब्युरोबाट टोली घटनास्थल प्रस्थान गरेको ब्युरोले जनाएको छ।
हत्याको भोलिपल्ट गत बुधबार प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका(३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका(१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, टीकापुर नगरपालिका(१ का २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह थिए।