SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/१८ गते
    २२६ पटक
    Loading...
    Ad

                                   सर्वोच्च अदालत परिसरमा अख्तियारकै प्रमुुखमाथि ‘कालोमोसो’ दल्ने प्रयास सामान्य घटना होइन । घटनाले एकातिर यसले सुरक्षा संवेदनशीलताको हावा निकालिदियो भने अर्कोतिर न्याय खोज्ने ठाउँमा पनि समस्या छन् भन्ने सन्देश दियो । नेत्रविक्रम चन्द विप्लवनेतृत्वको माओवादीले घटनाको जिम्मा लियो । घटनापछि प्रवक्ता खड्गबहादुर विश्वकर्माको प्रतिक्रिया त बाहिर आएको थियो, हामीले पार्टी महासचिव विप्लवकै अन्तर्वार्ताका लागि समय माग्यौँ ।

    अन्तरवार्ताका लागि दिन तय भयो र समय पनि । समय तोकियो बिहानको ८ बजे । स्वयं विप्लवले नै समय दिएका थिए । संयोजन माओवादी केन्द्रीय कार्यालयका गुणराज लोहनीले गरेका थिए । विप्लव अहिले अर्धभूमिगत ढङ्गले पार्टी सञ्चालन गर्ने गर्छन् । त्यसैले उनीसँग अर्धभूमिगत शैलीमै भेट हुने भयो, स्थान अघिल्लो राति मात्र तय गरियो ।

    बिहान उनले दिएको समय र स्थानमा पुगियो । तर, पौने एक घण्टाजति पर्खंदा पनि सम्पर्क गर्ने व्यक्ति चाहिँ आएनन् । खुला राजनीतिबाट भूमिगत, भूमिगतबाट फेरि खुला र अहिले खुलाबाट अर्धभूगित भएका विप्लवका नेता–कार्यकर्तामा फोन नउठ्ने समस्या देखियो । त्यसो त कुनै पनि माओवादीका नेताको फोन सजिलै उठ्दैन ।

    हामी विप्लव बसेको घरमा पुग्दा कार्यकर्ताहरु व्याग मिलाउँदै थिए । राष्ट्रिय राजनीतिमाथि चर्चा हुँदै थियो । घरमा पुगेर झन्डै १५–२० मिने पर्खेपछि अन्तरवार्ताका लागि भिन्दै कोठामा बस्यौँ । विप्लव मिजाशिला छन् ।

    नेत्र पन्थी नरेश ज्ञवालीसँगको एक घण्टा लामो कुराकानीमा उनले हाम्रो राजनीतिक अवस्थादेखि लोकमान प्रकरण हुँदै उनका पार्टीका भावी कार्यक्रमबारे कुरा राखे ।

    बहालवाला रहँदासम्म लोकमानसिंह कार्कीलाई केही गर्नु भएन । तर मुद्दा खेप्न अदालत पुगेका उनीमाथि तपाईंका कार्यकर्ताले कालोमोसो दल्ने प्रयास गरे । यो काम ‘मरेको बाघको जुँगा उखेल्नु सरह हो’ भनेर टिप्पणी भइरहेको छ, के भन्नु हुन्छ ?

    यस्तो टिप्पणी छैन । हाम्रा युवाहरुले जनकारवाही गरेपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग आएको छ भन्ने कुरा नै सत्य हो । तर कुरा त्यति मात्र छैन । लोकमानजी नेपालका धेरै राजनीति व्यवस्थामा नकारात्मक उतारचढावसँगै जोडिएका पात्र हुन् । उनको भूमिका पनि निकै विवादास्पद छन् । तपाईंहरुले बुझेकै कुरा हो, उहाँलाई नियुक्त गर्दा नै राज्य सञ्चालमा भएका जुन दलका नेताहरु जोडिए, उहाँहरु सबै विवादमा हुनुहुन्छ । त्यतिबेलामै हामीले उहाँलाई ज्ञापनपत्र दिएर यो पदमा नबस्नुस् र राजीनामा गर्नुस् भनेका थियौँ । हामीले त्यसका लागि दबाब पनि सिर्जना गरेका थियौँ । तर हामी त आफ्नै खाले आन्दोलनको क्रममा छौँ । कुरा यति मात्रै हो ।

    जजसले देशको विरुद्धमा राष्ट्रघात, नाङ्गो प्रकारको भ्रष्टाचार गर्दै जनताले तिरेको करको पैसामा लुटपाट मच्चाएका छन् तथा अरबौँ रुपियाँ जसले लुकाएर बसेका छन्, तिनका विरुद्ध कारवाही यो भन्दा सशक्त भएर जानुपर्छ, जान्छन् ।

    कार्कीमाथि गरिएको अभ्यास पहिलो हो, अन्तिम हो अथवा पाइपलाइनमा अरु पनि छन् ?

    यसलाई अलिअलि अतिरञ्जित गरिएको छ । यो हाम्रो पार्टीको भन्दा पनि समाजमा, राज्यमा र पार्टीमा समेत रहेका ती युवाहरु जो अहिलेको राजनीतिक गतिविधि र नेताहरुबाट भएका विचलनकारी प्रवृत्तिबाट निकै असन्तुष्ट र आवेगमा छन्, त्यसको परिणाम हो । तर, हामीले यसलाई जायज भनेका छौँ । देशलाई अहिलेको जस्तो अराजकता र अन्योलको स्थितिमा राख्न हुँदैन । हाम्रो सुस्पष्ट दृष्टिकोण के छ भने यस्ता कारवाहीहरु युवाहरुले गरे पनि, विद्यार्थीले गरे पनि अथवा भन्नुस् पार्टीले गरे पनि ती कारवाहीहरु कुनै पार्टी विशेषसँग सम्बन्धित विषय होइनन् । जजसले देशको विरुद्धमा राष्ट्रघात, नाङ्गो प्रकारको भ्रष्टाचार गर्दै जनताले तिरेको करको पैसामा लुटपाट मच्चाएका छन् तथा अरबौँ रुपियाँ जसले लुकाएर बसेका छन्, तिनका विरुद्ध कारवाही यो भन्दा सशक्त भएर जानुपर्छ, जान्छन् ।

    तपाईंका पार्टीका यस्ता ‘एक्सन’हरुलाई चन्दा उठाउने ‘बार्गेनिङ टुल्स’ भन्ने धेरै छन् । के ती आरोपहरु निराधार छन् ?

    पहिलो– यो, पैसालाई नै सबै कुरा ठान्ने मनोवृत्तिको अभिव्यक्ति हो । जो स्वयं पदको दुरुपयोग गरी प्रदूषण मात्र फैलाइरहेको छ र जसको ध्याउन्न नै राजनीति भनेको पैसा कमाउने हो भन्ने छ, त्यस्ता मान्छेहरुले आफ्नो चरित्रको ढाकछोप गर्नका लागि चलाएको हल्ला हो भन्नुस् । दोस्रो– अहिले नेपालका सबै क्षेत्रमा बेथिति, भ्रष्टाचार, कालोबाजारी र मानव तस्करी यति धेरै बढेको छ कि एउटा स्वाभिमानी नागरिकले, युवाले स्विकार्न सम्भव छैन । यी कारवाहीहरु त्यसैसँग सम्बन्धित हुन् । यसलाई झनै व्यवस्थित गरेर अगाडि बढाउनुपर्छ भन्ने हाम्रो कुरा छ ।

    तपाईंको पार्टीलाई चन्द माओवादी भन्दा पनि ‘चन्दा माओवादी’ भन्छन्, कहीँ कमजोरी भएको हो कि ?

    यो विशुद्ध पत्रकारहरुको प्रश्न मात्र हो । तपाईं युवा साथीहरु अलिक रचनात्मक हुनुपर्नेछ । यसको पृष्ठभूमिमा संसदवादीहरुको असाध्यै प्रदूषित हावा छ । त्यो प्रदूषित हावाबाट तपाईंहरु जोगिनुपर्नेछ । रातोपाटीका र अन्य संस्थाका पत्रकाहरु पनि । जनतालाई शोषणबाट मुक्त गर्ने क्रान्तिकारी प्रक्रिया जसलाई जनताले आशाको दृष्टिबाट हेरेका छन् र अगाडि बढाउनुपर्छ भनेका छन्, त्यसलाई एकदमै तुक्ष तवरले झार्ने प्रवृत्ति नै प्रदूषित हावाको असर हो । यसलाई हामीले ध्वस्त पारिदिन्छौँ । हामीलाई कुनै चिन्ता र डर छैन । यस्ता प्रदूषित प्रचारको सामना गर्नै भनेर हामी आएका हौँ ।

    तपाईंहरुले एनसेलमाथि, उद्योगपति पशुपति मुरारकामाथि र लगानी बोर्डका सीईओमाथि हमला गर्ने, उनीहरुको जमिनमा झण्डा गाड्ने गर्नुभयो । एक्सन देखियो तर नतिजा देखिएन । यसलाई चन्दासँग जोडेर हेर्नु त स्वभाविक नै होइन र ?

    मैले अघि भने नि जो मान्छेको ध्याउन्न नै पैसा कमाउने छ, उनीहरुले आफ्नो ढाकछोपका लागि चलाएको हल्ला हो । यस कुरामा ढुक्क भए हुन्छ । एनसेलबाट २० करोड लगे भन्ने हल्ला पनि गरियो । तर हामीले एनसेललाई भनेका छौं तिमीहरुले कर तिर्नुपर्छ । त्यति मात्र होइन तिमीहरुले जनसत्तालाई समेत कर तिर्नुपर्छ । यो हाम्रो प्रष्ट कुरा हो । अहिलेसम्म जति भ्रष्टाचारीहरुलाई कारवाही गरिएको छ, ती सबै नतिजा हुन । तिनीहरु जनताको कालोसूचीमा छन् । उनीहरु कुनै पनि बेला क्रान्तिको प्रक्रियामा कारवाहीमा पर्न सक्छन् भन्नु नै यसको नतिजा र परिणाम हो ।

    यो जनयुद्धको जनादेश विपरीतको सत्ता हो । त्यसैले हामीले भनेका छौँ यो सत्ता नै गलत छ । संविधान गलत छ । संविधान देशलाई पश्चगमनतर्फ फर्काउने प्रतिगामीखालको छ । किनभने यसले दलाल संसदीय व्यवस्थालाई स्थापित गर्न चाहन्छ ।

    कसलाई थाहा थियो ? राधेश्याम पन्तले देश बेचेका हुन् भन्ने कुरा । हामीले सार्वजनिक ढङ्गले जनतालाई सूचित गरेको कुरा हो यो । एनसेलले अर्बाैँ भ्रष्टाचार गर्दा सरकार कहाँ गएको थियो ? कारवाही त उसले गर्नुपर्ने हो । तर सरकार निकम्मा भएपछि हामीले जनताको तर्फबाट पहलकदमी लियौँ । जनताको आदेश मान्दैनौँ भने भने योभन्दा ठूलो परिणाम उनीहरुले स्विकार्नुपर्ने हुन्छ । क्रान्ति भनेकै यही हो ।

    तपाईंहरुको ‘जनसत्ता’लाई कर एनसेलले मात्र बुझाउनुपर्ने कि अरुले पनि बुझाउनु पर्ने स्थिति आउँछ ?

    क्रमशः सबैले बुझाउनुपर्छ । यो जनयुद्धको जनादेश विपरीतको सत्ता हो । त्यसैले हामीले भनेका छौँ यो सत्ता नै गलत छ । संविधान गलत छ । संविधान देशलाई पश्चगमनतर्फ फर्काउने प्रतिगामीखालको छ । किनभने यसले दलाल संसदीय व्यवस्थालाई स्थापित गर्न चाहन्छ । भनेपछि यो सत्तालाई जनताले किन मान्ने ? वर्तमान सत्ताका विरुद्धमा र नयाँ क्रान्तिको दिशामा अगाडि बढ्नुपर्छ भनेर त हामीले प्रष्टै भनेका छौँ ।

    केही समयअघि गृहमन्त्रीले एउटा अन्तरवार्तामा तपाईंको पार्टीका गतिविधि गैरराजनीतिक छन् भन्दै त्यसमाथि सूक्ष्म निगरानी गरिएको बताएका थिए । गृहमन्त्रीले यस्तो अभिव्यक्ति किन दिएका होला झैँ लाग्छ ?

    यसलाई हामीले सत्ताकब्जा गरेपछि एउटा दलालको विषाक्त अभिव्यक्तिका रुपमा लिएका छौँ । हामीलाई यसमा कुनै चिन्ता छैन् । किनभने निगरानी उनले मात्र होइन, हामीले पनि गर्छौं । जनताले पनि गर्छन् । हामी त प्रतिस्पर्धामा न छौँ । अहिले माओवादीलाई महाधिवेशनको नारा लेख्दै भित्ते लेखन गर्नसमेत दिइएको छैन । महँगी घटाउ भनेर जुलुस गर्न दिइएको छैन । मुद्दा लगाइएको छ र जानाजान धरौटी एकदमै ठूलो स्तरमा मागिएको छ । यी कुराहरु हामीलाई राम्रोसँग थाहा छ । उनीहरुले जे रोक्न खोजेका छन्, त्यो कल्पना नगरे हुन्छ । दलाल संसदीय व्यवस्थाका विरुद्धमा क्रान्तिको प्रक्रिया जसरी अगाडि बढ्दैछ यसलाई रोक्न सकिन्छ भनेको जनताको अग्रगामी प्रवाहसँग टकराउन आउने कुरा मात्र हो । त्यो आफै ध्वस्त भएर जान्छ भन्नुस् न ।

    अघिल्ला गृहमन्त्री शक्ति बस्नेतलाई स्टाटस मार्फत निकै आक्रामक चेतावनी दिनुभएको थियो, अहिलेको गृहमन्त्रीलाई केही म्यासेज छ कि ?

    सवाल एउटा गृहमन्त्रीको होइन । पात्र विशेष जो पनि आउन सक्छ । मुख्य सवाल सत्ताको चरित्र र त्यसको संरचनाको सङ्घर्ष हो । हामी ६० वर्षदेखि सामन्तवादी र दलाल पुँजीपतिहरुको सत्ताका विरुद्धमा विद्रोह गर्दै आइरहेका छौँ । हामी केही हदसम्म सफल र केही हदसम्म असफल हुँदै आएका छौँ । पछिल्लो समयमा अलिकति असफलता आएसँगै त्यसको फाइदा उठाएर दलाल पुँजीवादी सत्ताका प्रतिनिधिहरुले क्रान्तिकारी आन्दोलनको घाँटीमाथि प्रहार गर्ने सोचिरहेका छन् । त्यसैको निरन्तरतामा गृहमन्त्रीको अभिव्यक्ति आएको हो । संसदीय व्यवस्थाको फासिवादी क्यारेक्टर जतिखेर जसरी पनि सतहमा देखिन सक्छ भनेर हामीले भनेकै छौँ । यसमा हामी प्रष्ट छौँ । उनको अभिव्यक्ति फासिवादी राज्यसत्ताको अभिव्यक्ति हो ।

    लोकमानलाई अख्तियार प्रमुख बनाउने को हो ? के इन्टे«स्ट मिलेन अनि एकाएक निद्राबाट बिउझिएझै लोकमान विरुद्ध खनिने । यो प्रवृत्ति हद ‘अपरचुनिस्ट’ प्रवृत्ति हो ।

    गृहमन्त्री विमलेन्द्र निधीले तपाईंलाई सीके राउतको प्रवृत्तिसँग दाँज्दै पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेको दाबी गरेका छन् । उनको दाबी सत्यको नजिक छ ?

    माओवादी आन्दोलनको प्रवाहलाई रोक्न विस्तारवादी तथा साम्राज्यवादी तत्वका गोटीहरुको डिजाइनमा चलाइएको दूषित हावा हो । नेपाली जनताले यो कुरालाई राम्रो गरी बुझनुपर्छ ।

    अर्को कुरा नेपालमा राजासाजा कोही छैन । नेपालमा गणतन्त्र छ र ज्ञानेन्द्र एउटा नागरिकका रुपमा बसिरहेका छन् । दलालहरु आफ्नो असफलता र प्रतिक्रान्ति ज्ञानेन्द्रको टाउकोमा हालेर नेपालमा फासिवादी सत्ता टिकाउन सक्छौँ भनेर सोचिरहेका छन् । राजतन्त्रको त तपाईं कुरै नगर्नुस्, यहाँ भएको के हो भने संसदीय व्यवस्था अन्त्यको जसरी कुरा चलिरहेको छ, त्यसबाट बच्न अर्को हल्ला चलाइएको हो । तर, हामी भन्न चाहन्छौँ उनीहरुको सपना पूरा हुँदैन ।

    पूर्वराजाले विज्ञप्ति निकालेपछि मन्त्रीपरिषद्मा छलफल भयो, बाबुरामजीले तिखो टिप्पणी गर्नुभयो । तपाईंलाई के लाग्छ पूर्वराजाले विज्ञप्ति निकालेर के सन्देश दिन खोजेका थिए ?

    त्यो त जसले पनि गर्छन् नि । राजनीतिक प्रतिस्पर्धा गर्ने भनेपछि यो हुँदैन त ? सम्पूर्ण रुपले को असफल भएको छ ? नेपाली काङ्ग्रेसले जीवनभर सत्ताको नेतृत्व गर्ने मौका पायो सफल भयो ? पछिल्लो समय एमाले, बाबुराम र प्रचण्डजीले भारतलाई खुसी पार्न राष्ट्रघाती काम गरे । देश बेचेर खानेबाहेक यो लिडरसिपले के गर्यो र ? अनि त्यसको दोष अर्कोलाई दिन मिल्छ ? आफूले राष्ट्रघाति काम गर्ने अनि त्यसको दोष उही एकपटक चलेको थियो नि क्लिन्टन–लेबेन्स्की काण्डलाई पन्छ्याउन इराकमा हमला गर्यो भन्ने चर्चा चलाए जसरी गर्न मिल्छ । यो भनेको आफ्नो असफलतालाई ढाकछोप गर्ने कुरा हो । लोकमानलाई अख्तियार प्रमुख बनाउने को हो ? के इन्टे«स्ट मिलेन अनि एकाएक निद्राबाट बिउझिएझै लोकमान विरुद्ध खनिने । यो प्रवृत्ति हद ‘अपरचुनिस्ट’ प्रवृत्ति हो । यसले जनतालाई जति बेला पनि दुःख दिन सक्छ भन्ने कुरा बुझनु पर्छ ।

    तपाईं गणतन्त्रका लागि सङ्घर्ष गरेको पार्टीको नेता ज्ञानेन्द्र सक्रिय भएमा त्यसले गणतन्त्रलाई च्यालेन्ज गर्दैन ?

    त्यो कुरै नगर्नुस् न । त्यसको चिन्ता किन गर्नुहुन्छ ? सिध्द्धिसकेको अध्यायमा किन चिन्ता गर्ने ? अहिले तत्काल लिइएका राजनीतिक स्टेप त असफल भइरहेका छन् । यसले जनतालाई यति दुःख दिइरहेको छ । देशलाई बेचेर खाँदै ध्वस्त बनाउँदै छन्, त्यतापट्टि ध्यान नदिने ? सिद्धिसकेको अध्यायमा को–कहाँ रुन्छ, कराउँछ त्यो हिस्ट्री सिद्धिसक्यो । हामीले सामाना गर्नुपर्ने टड्कारो प्रश्न के हो भने नेपालको दलाल पुँजीवादी सत्तालाई कसरी सिध्याइदिने र यसको ठाउँमा वैज्ञानिक समाजवाद कसरी स्थापना गर्ने ? यो बहस पो गर्नुपर्यो । कहाँ अहिले सिद्धिएको कुरा गर्नुहुन्छ तपाईं । अब हिटरल र मुसोलिनी र च्याइकाई सेकको कुरा गरेर हुन्छ ? अहिले सम्पूर्ण रुपले जनतालाई दुःख दिने दलाल संसदीय व्यवस्थालाई कसरी फाल्ने भन्ने बहस छ यहाँ । आज हामी जुन बहसमा छौँ त्यतापट्टि पो आउनुपर्छ त ।

    भनेपछि देश नयाँ राजनीतिक शक्ति सन्तुलनमा प्रवेश गर्यो भन्न खोज्नुभएको ?

    निश्चित रुपमा त्यहाँ जानै पर्छ । आजको लडाइँ भनेको नौलो जनवाद र वैज्ञानिक समाजवाद कि दलाल संसदीय व्यवस्था ? भन्ने महत्वपूर्ण विषय हो । अहिले अर्को कुरामा जबरजस्ती प्रवेश गर्नुपर्ने जरुरी छैन ।

    पछिल्लो समय संविधान संशोधनको कुराले धु्रवीकरण निम्त्याएको छ । यो धु्रवीकरण सत्ता सङ्घर्षको हानथाप हो अथवा त्यहाँभित्र अरु नै केही कुराले काम गरिरहेको छ ?

    यो प्रष्ट देखिने कुरा छ । सत्ता सञ्चालनका विभिन्न पक्षहरुमा मुख्य लडाइँ सर्वहारा वर्ग र पुँजीपति वर्गका बीचमा छ । अथवा यसलाई दलाल र राष्ट्रिय स्वाधीनता चाहनेहरुको बीचको लडाइँ पनि भन्न सकिन्छ । हामीहरु नौलो जनवादसहित समाजवादतर्फ जाने हो भने पुँजीपतिहरु पुँजीवादी शासन व्यवस्थाको संसदीय व्यवस्थामा बस्नेबीचको मुख्य सङ्घर्ष हो । पुँजीवादभित्रै बस्ने र संसदवादलाई मान्नेहरु बीच पनि शक्ति सङ्घर्ष भइरहेको हुन्छ ।

    तपाईंले भनेको कुरालाई सत्ताको चरित्र परिवर्तन गर्ने सङ्घर्षसँग सम्बन्धित होइन कि पुँजीवाद र संसदीय व्यवस्थाभित्र कसले बढी सुविधा भोग गर्ने र कसलाई सत्ताको भर्याङ बनाउने भन्ने बहस हो । त्यहाँ यस्ता खेल चलिरहन्छन् । उता ब्रिटेनले इयूबाट बाहिरने निर्णय गर्यो । क्यामरुन हारे । यता भारतमा काङ्ग्रेस र भाजपाबीचमा कत्रो आरोप/प्रत्यारोप छ । भन्नुको अर्थ उनीहरुबीचमा यस्तो चलिरहन्छ । यी सबै कुरा भनेका तत्कालिक सत्ता भोग कसले गर्ने भन्नेमै उनीहरु अल्झिने गर्छन् । यसको राज्यसत्ताको चरित्र परिवर्तनसँग कुनै सरोकार छैन ।

    युद्धमा हारेर होइन कि मनोविज्ञानमा हारेको हुनाले त सिद्धिगयो त । जनताले हारेका छैनौँ भन्दैछन् उनीहरु आफैले हारियो भनेर भागेपछि त के जवाफ दिने । जनताले त प्रचण्डजीलाई जिताएका हुन् नि । जित लड भनेर सबै कार्यकर्ताहरुले भनेकै हो नि ।

    जनतालाई अधिकार सम्पन्न बनाउन लागू गरिएको सङ्घीयतालगायत आजका तात्कालिक मुद्दाहरु मुख्य होइनन् ?

    ती सबै सहायक विषय हुन् । मुख्य विषय भनेको जनयुद्धदेखि शान्ति प्रक्रियासम्मको म्यान्डेड नेपालमा संसदीय व्यवस्था हुने अथावा नहुने भन्ने हो । सबैले के कुरा हेक्का राख्नुपर्छ भने जनयुद्ध सुरु गरेको र जनताले विद्रोह गरेको संसदीय व्यवस्थाको विरुद्धमा हो ।

    त्यसो त माओवादीले पनि सम्झौता गरेको हो नि ?

    युद्धमा हारेर होइन कि मनोविज्ञानमा हारेको हुनाले त सिद्धिगयो त । जनताले हारेका छैनौँ भन्दैछन् उनीहरु आफैले हारियो भनेर भागेपछि त के जवाफ दिने । जनताले त प्रचण्डजीलाई जिताएका हुन् नि । जित लड भनेर सबै कार्यकर्ताहरुले भनेकै हो नि । अहिले पनि भनिरहेका छन् । उहाँ आफै त्यो मोर्चा लिन तयार हुनुहुन्न । जबरजस्ती गर्ने कुरा आएन ।

    यहाँको पार्टीले अगाडि सारेको अहिलेको रानीतिक सङ्कटको हल गर्ने सूत्र के हो ?

    यसको एउटा मात्र सूत्र नेपालमा संसदीय व्यवस्थालाई छोडिदिने र नेपाली जनतालई नौलो जनवाद हुँदै वैज्ञानिक समाजवादमा लाने । आजको विश्वले पनि त्यही भन्छ र नेपालको राज्यले सत्ताको चरित्रले पनि त्यही भन्छ ।

    संयोगले प्रचण्ड–बाबुराम केही दिनअघि एउटै मञ्चमा देखिए र पार्टी एकताबारे आफ्ना मतहरु राखे । के उनीहरुबीच एकताको सम्भावना छ ?

    अहिले कस्तो भएको छ भने रोल्पाबाट एउटा महाकाली तीरैतीर हिँडको र अर्को चाहिँ ताप्लेजुङतर्फ हिँडेको जस्तो यात्रा छ । प्रचण्डजी र बाबुरामजीले भनेको ठाउँसम्म पुग्न एउटाले आफ्नो लक्ष्य र गन्तव्य छोड्नुपर्ने हुन्छ ।

    प्रचण्डले वर्तमान उपलब्धिलाई संस्थागत गर्न सबै माओवादी एक हुनुपर्छ भन्दै त्यसका लागि आफूले पहल गरिरहेको बताएका छन् । प्रचण्ड र तपाईंबीच कुराकानी भएको कति भयो ?

    यो कुरा उहाँले मात्र होइन, मैले पनि भनिरहेको छु । नेपालका माओवादी क्रान्तिकारीहरु सबै एक ठाउँमा आउनुपर्छ र अधुरो क्रान्तिको सपनालाई पूरा गर्नुपर्छ । प्रचण्ड कमरेडलाई मैले पनि भनिरहेको छु, अहिले के नै उपलब्धि बाँकी रह्यो र ? सबै गुमिसकेको अवस्था हो । उहाँले अहिलेको उपलब्धिमा चिन्ता लिनु भनेको टाट पल्टेको सुकुम्बासीले निजी सम्पत्तिको चिन्ता गरेजस्तो हो । पहिले पहिले काङ्ग्रेसहरुले गाउँमा कम्युनिस्टहरु शासनमा आएपछि निजी सम्पत्ति खाइदिन्छन् भनेपछि सम्पत्ति नभएका सुकुम्बासीले पनि चिन्ता गर्थे, त्यस्तै कुरा न हो ।

    प्रचण्डजीले के संस्थागत गर्ने ? केही बाँकी छ र ? सबै त सिध्याइसक्नुभयो । उहाँ स्पष्ट भए हुन्छ सबै गुमिसक्यो । बाँकी रहेका कुरा काङ्ग्रेसले संस्थागत गर्ने हो । उहाँले जति टाउकोले टेके पनि यो उहाँले संस्थागत गरेको ठहर्दैन । यो त काङ्ग्रेसले संस्थागत गरेको हुन्छ । उहाँले साँच्चै केही संस्थागत गर्ने हो भने अगाडि जाऊँ । समीक्षा गरौँ । चुनुवाङबाट अगाडि जाउँ । चुनुवाङको दस्तावेजमा जे पास भएको छ । गणतन्त्र आएपछि एकथरी संसदतिर जान चाहनेछन् हामी नौलो जनवाद हुँदै समाजवादतर्फ जानेछौँ भन्ने जसरी उहाँ स्वयंले भन्नुभएको थियो जाऊँ । अर्काको घरभित्र बसेर स्वागत म गर्छु भन्दा कसैले मान्छ ?

    प्रचण्डजी आत्मसमर्पणको ठाउँमा हुनुहुन्छ भने बाबुरामजी त्योभन्दा पनि पर विसर्जनवादको खाल्टोमा जाकिनुभएको छ । उहाँ आफैले बनाएको कम्युनिस्ट पार्टीलाई विघटन गरेर एउटा अर्को जात नखुलेको पार्टी भनिरहनुभएको छ । भित्र द्वन्द्वात्मक भौतिकवाद मान्छौँ भन्ने बाहिर नयाँ शक्ति भन्दै ढाँटिरहने गर्नुभएको छ ।

    प्रचण्डले सोच्न तयार भए भने एकता हुने सम्भावना छ ? तपाईं उहाँलाई नेता मान्न तयार हुनुहुन्छ ?

    यस्तो कुरा छोडदिनुस् । राजनीतिमा हामीले के ठान्नु हुँदैन भने कुनै दुईबीच रहेको दूरी कहिलै पूर्ति हुन सक्दैन भन्ने हुँदैन । त्यो दूरी नजिकै हुन्छ । जस्तो मान्नुस् तरबारको धारको दूरी जस्तै । हिड्न जान्नुभयो भने यात्रा सफल हुन्छ, जान्नुभएन भने त्यहीँ रेटिन्छ । अहिले माओवादीहरु जहाँ रहे पनि जनयुद्धका एजेन्डाहरुमा एक भएपछि हामीबीचको दूरी मेटिन्छ । आआफ्ना एजेन्डा भन्ने हो भने दूरी यसरी नै रहिरहन्छ ।

    मोहन वैद्य किरणसँग केही समयअघि भेट्दा बेलामौकामा विप्लवजीसँग कुरा हुन्छ भन्नुभएको थियो । तपाईं उहाँसँग अलग हुनुभएको पनि दुई वर्ष भयो, मुद्दामा छलफल हुन्छ कि ?

    हामी आफ्नो दृष्टिकोणमा स्वतन्त्र छौँ र पहल पनि गरेका छौँ । हामीलाई पूरै आत्मविश्वास छ कि हामीले जे निष्कर्ष निकालेका छौँ नेपाललाई एकीकृत जनक्रान्तिबाटै परिवर्तन गर्न सकिन्छ । यो कुरा त्यसैसँग सम्बन्धित कुरा भयो । तत्कालीन राजनीतिक एजेन्डाहरुमा जस्तै राष्ट्रघात, महँगी, भ्रष्टाचार विरुद्धको सङ्घर्षमा सबै कम्युनिस्टहरु मिलेर जानुपर्छ भनेर हामीले कुरा गर्यौँ । उहाँले पनि कुरा गर्नुभयो । त्यसपछि मोहनविक्रम सिंहसँग कुराकानी भयो र एउटा समझदारीसमेत बनेको छ । खासगरेर अप्पर कर्णाली, अरुण–३ र विराटनगरको भारतीय काउन्सिल अफिस खारेज गर्नुपर्छ भन्नेमा हामी सङ्घर्षमा पनि जाँदैछौ ।

    तपाईंले मध्यमवर्गलाई हातमा लिएर क्रान्ति सम्पन्न गर्ने र बाबुरामजीले पनि मध्यमवर्गलाई लिएर समवृद्धि ल्याउने भन्नुको अर्थ दुवैको राजनीतिको मूल वर्ग मध्यमवर्ग नै देखिरहँदा तपाईंहरु बीचको दूरी मेटिन सक्ने सम्भावना राजनीतिमा बाँकी छ कि ?

    प्रचण्डजी आत्मसमर्पणको ठाउँमा हुनुहुन्छ भने बाबुरामजी त्योभन्दा पनि पर विसर्जनवादको खाल्टोमा जाकिनुभएको छ । उहाँ आफैले बनाएको कम्युनिस्ट पार्टीलाई विघटन गरेर एउटा अर्को जात नखुलेको पार्टी भनिरहनुभएको छ । भित्र द्वन्द्वात्मक भौतिकवाद मान्छौँ भन्ने बाहिर नयाँ शक्ति भन्दै ढाँटिरहने गर्नुभएको छ । त्यो ठाउँमा पुगेको नेतासँग हाम्रो वैचारिक सङ्घर्ष चलिरहेकै छ । त्यो प्रष्ट कुरा हो । जहाँसम्म तपाईंले भन्नुभएको मध्यमवर्गको कुरा छ ।

    हामीले भनेको के हो भने पहिले जसलाई बुर्जुवा र अवसरवादी भनिन्थ्यो त्यो आजको न्यु लेवर फर्म (नयाँ श्रमशक्ति)ले गर्दा हामीले त्यसलाई चेन्ज गरेका छौँ । आजको शताब्दीको साम्राज्यवाद पुँजीवादी मात्र होइन कि त्यो पोस्ट इम्प्यारालिजममा रुपान्तरित भएको छ । साम्राज्यवादी उत्पादन र आर्थिक सम्बन्धले विकास गरेको श्रमिक वर्ग हिजोको जस्तो विशुद्ध मजदुर छैन । मजदुर नै पनि अहिले उच्च शिक्षित मजदुर छ । हो त्यो वर्ग जनताको विरोधी वर्ग होइन कि त्यो जनताको मित्रशक्ति, परिवर्तनको नेतृत्व गर्न सक्ने शक्ति हो भन्ने हाम्रो निष्कर्ष हो । त्यसैले त्यो मध्यमवर्गलाई लिएर क्रान्तिमा होमिनुपर्छ भन्ने हाम्रो कुरा हो । त्यसमा राम्रो परिणाम देखापरिरहेको छ ।

    बाबुरामजीको पार्टीको संसदीय राजनीतिमा स्पेस अथवा सम्भावना कति देख्नुभएको छ ?

    संसदीय राजनीतिको कोणबाट मेरो विश्लेषण मनोगत भएन भने नेपालको संसदीय राजनीतिमा प्रचण्डको भन्दा बाबुरामको राजनीतिक भविष्य राम्रो छ । किनभने बाबुरामजीले एउटा मूल्य चुकाएर त्यहाँ जानुभएको छ । १० हजार जनताको बलिदान, माओवादी आन्दोलनको मूल्य चुकाएर त्यहाँ जानुभएको छ । त्यसअर्थ त्यहाँभित्र केही न केही दृष्टिकोण छ । भोलि प्रष्ट हुँदै जाला । हामीलाई के लाग्छ भने संसदीय राजनीतिमा उहाँले जसरी सोचिरहनुभएको छ त्यसका पछाडि उहाँ मात्र होइन उहाँसँग एउटा प्रवृत्ति पनि छ । त्यो प्रवृत्तिले काम गरेको छ । प्रचण्डजीले त दुईवटा डुङ्गामा खुट्टा राख्नुभएको छ । उहाँको यात्रा निकै धरापमा परेको देख्छु । माओवादी छोड्न पनि मन लागेको छैन तर माओवादीमा पनि हुनुहुन्न । उहाँ निकै अप्ठेरोमा हुनुहुन्छ ।

    प्रचण्ड अन्तिममा कहाँ पुग्ने देख्नु हुन्छ ?

    अहिले नै त्यो भन्न सकिँदैन । प्रचण्डजीको जीवन कथाले पनि के भन्छ भने त्यो अहिले भन्न मिल्दैन । आशा गरौँ उहाँको खुट्टा देब्रेतर्फ मोडिएर क्रान्तिकै डुङ्गमा आउनेछ ।

    हामीले अहिले तीनवटा धु्रवीकरणमा जोड दिएका छौँ । पहिलो जनयुद्ध लडेर आएकाहरु एक हुनुपर्छ । ती कमरेडहरु जो जनयुद्धमा सहभागी हुनुभयो उहाँहरु फर्केर दुई चार पैसा कमाउने लोभमा फस्नुहुँदैन । दोस्रो यो देशका कम्युनिस्टहरुले बुझुनुपर्छ कि उनीहरुको भविष्य क्रान्तिबाहेक अन्यत्र छैन ।

    भारतीय पत्रकार आनन्दस्वरुप वर्माले एउटा लेख लेखेर जनयुद्ध–२ को सम्भावना छ भन्नेतर्फ सबैलाई सचेत गराइदिए । उनी सत्यको नजिक छन् अथवा मनोगत के लाग्छ ?

    आनन्दस्वरुप वर्माले हाम्रो बारेमा आफूलाई लागेको लेख्दा नेपालमा त्यसले उखरमाउलो ल्यायो भन्नुस् । एकथरी मान्छे त पागल जसरी सडकमा कराउँदै पनि हिँडे । किन वर्माले विप्लवलाई यति हाइलाईट गरे भनेर कराउँदै पनि हिँडे । मूल कुरा के हो भने वर्माजीले गरेको विश्लेषण विल्कुल सटिक छ । नेपालमा क्रान्तिको विकल्प छैन । तर उहाँले भनेकै जस्तो हुन्छ कि हुँदैन त्यो सबै कुरा उहाँलाई थाहा हुने कुरा भएन । नेपालमा क्रान्तिको विकल्प छैन, भन्दै जसरी उहाँले यो पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्छ भन्ने विश्लेषण गर्नुभएको छ, त्यो हाम्रो निम्ति सुखद् कुरा हो । हामीले त्यही भनेरै पार्टी गठन गरेका हौँ ।

    नेपाली कम्युनिस्ट आन्दोलनमा एकीकृत क्रान्तिको सिद्धान्त जसरी अगाडि सार्नुभयो, यसको मोडालिटीबारे केही व्याख्या गरी दिनुस् न ?

    लेनिनले पुँजीवादविरुद्धमा गर्नुभएको क्रान्ति सही थियो । माओले सामन्तवाद र अर्धउपनिवेशवादको विरुद्धमा लिनुभएको कार्यनीति सही थियो । तर ती आजको समयमा निकै पुराना भइसके । त्यसका दुईटा पाटा छन् । पहिलो नेपाली जनता र विश्वका श्रमिक जनतालाई काम लाग्ने भाग हामीले लिनुपर्नेहुन्छ । तर सङ्घर्ष गर्ने तरिका, त्यसका कार्यक्रम र सङ्घर्षमा होमिने आधारभूत वर्गलाई भने आजको राजनीतिक आर्थिक सम्बन्धले बदलिदिएको छ । त्यसमा हामीले के भन्यौँ भने लेनिनको विद्रोहको रणनीति र कार्यदिशालाई अथवा माओत्सेतुङले अँगाल्नुभएको जनयुद्धको कार्यदिशा र कार्यनीतिलाई हुबहु लागू गरेर नेपालमा क्रान्ति हुन्छ भन्नेमा शङ्का छ । नेपालमा त के देखिन्छ भने यी दुईमध्ये कुन अँगाल्ने भन्नेमा समेत विवाद छ ।

    हामीले यसमा मसिनो छलफल गरेर के निष्कर्ष निकाल्यौँ भने विश्वक्रान्तिका सार्वभौमिक पक्षलाई ग्रहण गर्ने र आजको दिनमा विकास भएको मजदुरलाई आधार मानेर आगामी सङ्घर्षको रुपरेखा तयार गर्ने । अब मजदुर अथवा किसानलाई मात्र समाएर लड्ने भन्ने हुँदैन । यो कुरा अबको समयमा मिल्दैन । अहिले त वर्ग नै नयाँ ठाउँमा आइपुगेको छ । नयाँँ श्रमिक वर्गको विकाससँगै त्यसलाई समाएर नयाँ कार्यदिशाको विकास नगरेसम्म क्रान्ति हुँदैन । त्यसपछि विज्ञान र प्रविधिमा भएको चामत्कारिक विकासलाई छोडेर पनि क्रान्ति हुँदैन । विज्ञान र प्रविधि भनेको सत्ताको मात्र होइन कि जनताको पनि साधन हो ।

    दीर्घकालीन जनयुद्धहरु र सहरी सङ्घर्षहरु किन सफल हुन सकेनन् भनेर पनि हामीले मसिनो गरी हेरेका छौँ । ती सबै कुराको समीक्षा गर्दै हामीले के भनेका छौँ भने जनतालाई क्रान्तिको बोध गराउने पाटोमा क्रान्तिकारीहरु चुकेका छन् । क्रान्ति जनताका लागि हो । केही नेताहरुलाई लागेको भरमा उनको इच्छामा आउने कुरा होइन । त्यसैले हामीले समग्ररुपमा जनतालाई दीक्षित, अनुभूत, महसुस र बोध गराएर क्रान्ति सम्पन्न गर्ने हो भन्नुस । हामीले भनेका छौँ, हामीले त्यसो गर्न सक्नुपर्छ ।

    त्यो सशस्त्र निशस्त्र दुवै तहबाट हुन सक्छ ?

    सबै सम्भावना हामीले खुला राख्नुपर्छ । सशस्त्र निशस्त्र भन्ने कुरा एउटा समय सापेक्षतामा बाँधिएका शब्दहरु हुन । मूल कुरा भनेको राज्यसत्ताले गर्ने आतङ्कको विरुद्धमा गरिने सङ्घर्ष मूल कुरा हो । हामीले यो छलफल गर्नुभनेको पनि राज्यसँग सङ्घर्षको स्वरुप हो ।

    तपाईंको पार्टीको मित्रशक्ति को हो ?

    हामीले अहिले तीनवटा धु्रवीकरणमा जोड दिएका छौँ । पहिलो जनयुद्ध लडेर आएकाहरु एक हुनुपर्छ । ती कमरेडहरु जो जनयुद्धमा सहभागी हुनुभयो उहाँहरु फर्केर दुई चार पैसा कमाउने लोभमा फस्नुहुँदैन । दोस्रो यो देशका कम्युनिस्टहरुले बुझुनुपर्छ कि उनीहरुको भविष्य क्रान्तिबाहेक अन्यत्र छैन । सम्झौता र विदेशी शक्तिको आड लागेर केही सम्भव छैन । तेस्रो भनेको अहिले हाम्रो देश निकै खतरामा छ । देश खतरामा परेको बेलामा सबै राष्ट्रवादी र लोकतन्त्रवादी एकताबद्ध हुनुपर्छ । यो धु्रवीकरणले नेपाललाई परिवर्तनतर्फ लान सक्छ । त्यहीँभित्र हाम्रा मित्रशक्तिहरु पनि हुनुपर्छ ।

    चुनाव हुने सम्भावना कत्तिको देख्नुभएको छ ?

    चुनाव अहिले बहस गर्नुपर्ने विषय नै भएको छैन । संसदवादी दलहरु आफै धोती न टोपी भइरहेका छन्, केको चुनाव । संविधानमा जाबो एउटा संशोधन गर्न त हालत खराब भएर दिन रात रुदै हिँड्नु पर्नेछ भने केको चुनाव ? अहिले त्यतातर्फ सोच्दै नसोचे हुन्छ । रह्यो हाम्रो कुरा हामी आफ्नो सत्ता बनाउने क्रममा गई रहेकै छौँ ।

    चुनाव भयो भने ?

    चुनाव भएछ भने त्यति बेला देखा जाला । कसरी गर्दा रहेछन्, त्यो छलफल पनि चलिहाल्छ । त्यता जाँदै नजाऊँ न । त्यता तपाईंहरु जानुपर्ने विषय नै होइन । ठीक छ, बेला आउन दिनुस् । चुनाव गराउनुपर्छ भन्नेहरु त हुँदैन भन्दै हिँडेका छन् भने अहिले हाम्रो बारेमा तपाईं किन सोध्नु हुन्छ ।

    पार्टी बनाएको दुई वर्ष भयो अनुभवका हिसाबले यो समयावधि कस्तो रह्यो ?

    धेरै त भन्नुहुन्न । तर म आफैले सोचेको भन्दा सुखद अनुभूति गरिरहेको छु । सबै मान्छे सुरक्षित स्थान खोजिरहँदा हामी एउटा तुफानभित्र पसेका हौँ । हामीले अहिले तुफानको निसास्सिदो भूमरीलाई पार गरेर अर्कोतिरमा आइपुगेको अनुभूति गरेका छौँ । जनताले र युवाले हामीलाई विश्वास गर्छन् भन्ने हाम्रो विश्वास छ । हामीले जहाँ पुर्याउने भनेका छौँ, त्यहाँ पुर्याउँछौँ । हामी धोका दिँदैनौँ ।

    एउटा कोणबाट हेर्दा प्रधानमन्त्री भन्ने कुरा ठूलो होला किनभने कार्यकारी प्रमुख, गाडी, घोडा, हेलिकप्टर, नोकर चाकर हाइफाई मोजमस्ती तर जनताको इमानदारीताको कोणबाट हेर्दा त्यो तुच्छ हो । उहाँ घरीघरी भन्नुहुन्छ भन्ने सुन्नमा आउँछ कि अगाडि बाटोमा एउटा ठूलो एम्बुस थियो डर लागेरपछि फर्किन्छु भन्दा म खसेँ । मैले गल्ती गरेकै हो ।

    कम्युनिस्ट राजनीतिमा लागेर लामो समय सङ्घर्ष गर्नुभयो, कहिले काहीँ दुःख रोजिएछ भन्ने लाग्दैन ?

    कम्युनिस्ट आदर्श बोकेका हामीलाई राम्रोसँग थाहा छ, समाजवादको यात्रा तय नगरुन्जेल हजारौँ अवरोधसँग लड्नुपर्नेहुन्छ । दस हजार वर्षको मानव इतिहासमा शोषक र शोषितको सक्छौ भने शोषण गर सक्दैनौँ भने शोषित बन भन्ने जस्तो मनोवृत्तिबाट समाज जकडिएको छ । त्यसबाट दुनियाँलाई बदल्नका लागि थुप्रै सङ्घर्षको यात्रा हामीले तय गर्नुपर्ने छ । महत्वपूर्ण सवाल त्यो होइन, महत्वपूर्ण सवाल के हो भने बाचुन्जेल जनताप्रति इमानदार हुने कि नहुने ? हामी हाम्रो जनता र आदर्शप्रति इमानदार हुने कि नहुने ? मानव भएर आएपछि एउटा सभ्य संसार निर्माणमा योगदान गर्ने कि नगर्ने ? कुरा त्यहाँ छ ।

    हामी शन्ति प्रक्रियामा आयौँ, सुविधाको भन्डार भेटियो तर त्यसले हामीलाई आकर्षित गर्न सकेन । हामीलाई न केहीले त्रसित बनायो न ठूलो भनिएकाले आकर्षित गर्न सक्यो । हाम्रो जीवनकालभर हामीलाई एउटै कुराले आकर्षित गरी रह्यो त्यो भनेको जनताप्रतिको इमानदारी । जनताको पक्षमा गर्ने सङ्घर्ष जीवनको उच्चतम अनुभूति हो । सङ्घर्ष भनेको सडकको मात्रै हुँदैन । वैचारिक राजनीतिक सङ्घर्ष पनि हुन्छ । आफूले अगाडि सारेका विचारहरुलाई स्थापित गर्ने पनि सङ्घर्षकै रुप हो ।

    ०५१ फागुनको प्रचण्ड–बाबुराम र ०७३ पुसको प्रचण्ड बाबुरामबीचको दूरी के हो ? तपाईंको नजरमा उनीहरु कहाँ थिए कहाँ पुगे ?

    हामीले त्यसको संश्लेषण गरेका छौँ । त्यस बेलाको उहाँहरुको मिलन जीवनलाई सम्पूर्ण रुपले जनता र राष्ट्रको पक्षमा समर्पण गरेको मिलन थियो । त्यसलाई उदात्त र आदर्शको मिलन भन्न सकिन्छ । आज उहाँहरुको विछोड सत्ताको चालबाजीमा फसेको, कसले कहाँबाट लाभ लिने, को माथि को हाबी हुने भन्ने मनोवृत्तिबाट ग्रस्त छ । त्यसलाई तुच्छ त भन्न भएन तर आज उहाँहरुको विछोड सङ्कुचित सानो मानसिकताको उपज भन्ने लाग्छ ।

    अन्त्यमा प्रचण्ड नेतृत्वको सरकारलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

    प्रचण्डजीको यति ठूलो विचलन, यति धेरै पछि हटाइ देखेर दया लाग्छ । रोल्पामा गएर उहाँले एमालेले संसदीय र लोकतन्त्रको अभ्यास छोडेर हैरान पार्यो भन्नु भयो । मानिलिनुस कि संसदीय व्यवस्थाका रक्षक प्रचण्ड नै हुन् । त्यस्तो सुन्दा उदेक लाग्छ । माओवादी नेताहरु जीवन हेर्दा त्यसबारे दया र टिठ लाग्छ । उहाँहरुले आफ्नो भूमिकाको समिक्षा गर्नुपर्छ ।

    एउटा कोणबाट हेर्दा प्रधानमन्त्री भन्ने कुरा ठूलो होला किनभने कार्यकारी प्रमुख, गाडी, घोडा, हेलिकप्टर, नोकर चाकर हाइफाई मोजमस्ती तर जनताको इमानदारीताको कोणबाट हेर्दा त्यो तुच्छ हो । उहाँ घरीघरी भन्नुहुन्छ भन्ने सुन्नमा आउँछ कि अगाडि बाटोमा एउटा ठूलो एम्बुस थियो डर लागेरपछि फर्किन्छु भन्दा म खसेँ । मैले गल्ती गरेकै हो । यदि त्यसो हो भने त्यहाँबाट उठेर आउनुस् । त्योभन्दा राम्रो हाम्रा लागि के हुन्छ र ?

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad