SuchanaKendra

प्रकाशित : २०७३/८/२० गते
Ad

–प्रदीप नेपाल 

         pradip-nepalसंविधान संशोधनको विषयले अहिले राजनीति तताई रहेको छ । मेरो दृष्टिमा यो बेकारको टाउको दुखाइ हो । यसले न राजनीतिको विकास हुन्छ, न देश र जनताले केही पाउनेवाला छन् । अहिले देशमा जे भइरहेको छ त्यसले देशलाई तानाशाहीतन्त्र तिर लगिरहेको छ । मुलुक चरम अयोग्य व्यक्तिहरुको हातबाट चलिरहेको छ ।

माधवकुमार नेपालले दया नगरिदिएको भए प्रचण्डले सिरहाबाट चुनाव नै जित्दैन थिए । माओवादीहरु नयाँ जनवादको रटान लगाउँछन् तर उनीहरु नयाँ निरंकुशतन्त्र तिर गइरहेका छन् ।

वर्तमान सत्ता हिस्सेदार खेलाडी शेरबहादुर देउवा हुन् । जुन दिन देउवाले ससुरालीको कुरामा लागेर राजाको पाउमा प्रजातन्त्र सुम्पे त्यो दिनदेखि मलाई यी मान्छे हुन् कि कुमान्छे हुन कुनै टिप्पणी नै गर्न मन लाग्दैन ।

मलाई एउटा कुरा चाहिँ अचम्म लागेर आउँछ । यो भारतले राम्रा र नराम्रा मान्छे नै चिन्दैन । लाखौ विद्वान र धेरै थिंक ट्याक पालेर राख्ने भारतले किन यसो गर्छ मैले बुझ्न सकेको छैन । जनताद्वारा तिरष्कृत, हरुवाहरु माओवादी र मधेसीदलहरुलाई किन बोकेको हो अचम्म लागेर आउँछ ।

तर एउटा कुरा चाहिँ के हो भने, नेपालमा जे जति हुन्छ, त्यो भारतकै डिजाइनमा हुने गरेको छ । राजा महेन्द्रले पञ्चायती व्यवस्था पनि भारतकै सल्लाहमा लागू गरेका थिए । दुई तीहाई कांग्रेसको मतलाई फाल्ने सल्लाह महेन्द्रले भारतका प्रधानमन्त्री जवहारलाल नेहरुसँग गरेका थिए । नेपालमा अहिले यो संविधान शंशोधन, सीमांकन आदिबारे जो जो जे बोलिरहेका छन् नी, यी सबैले उतैको इशाराअनुशार बोलेका हुन् । यीनको आफ्नो भन्ने कुनै एजेन्डा छैन । न मधेसीको छ न कांग्रेस माओवादीको छ ।

यो माओवादी भन्ने पार्टी पनि अचम्मकै छ । पार्टी झन झन ओरालो लाग्दै गएको छ । प्रचण्ड सेवक झै जसो जसो भारतले भन्छ त्यसै त्यसै गरिरहेका छन् । किरणको नीति र बाबुरामको योजनाले प्रचण्ड नेता बनेका थिए । अब ती दुई प्रचण्डसँग छैनन् । प्रचण्ड अब आफै त केही पनि होइनन् । पार्टी पनि प्रचण्ड जस्तै बन्दै छ ।

मैले त पाँच–छ महिना अघि एउटा कार्यक्रममा एमालेमा आउनुस वरिष्ठ नेताको पद दिने व्यवस्था मिलाउँछु भनेको थिएँ । तर प्रचण्डले तत्काललाई मोर्चा बनाउनु पर्छ भनेर टारे । मोर्चा के बनाउने होला र माओवादी केन्द्र आफैमा एउटा मोर्चा हो । त्यसमाथि अर्को किन मोर्चा थप्न पर्यो ? पार्टीको नाम नै हेर्नुहोस न ‘ नेकपा माओवादी केन्द्र ।’ केन्द्र भन्ने पनि कुनै पार्टीको नाम हुन्छ ?

अहिले प्रचण्डका कार्यकर्ताले आफ्ना नेताको प्रशंसा गर्ने कुनै लायक अवसर भेटेका छैनन् । तर प्रचण्डलाइ जसरी पनि राजनेता जसरी स्थापित गराउनु पनि परेको छ । तर कसरी स्थापित गराउने ? उनीहरुले जुक्ति निकालेका छन्– केपी ओलीलाई खुइल्याउने । अनि प्रचण्ड आफै राष्ट्रवादी नेतामा स्थापित हुन्छन् ।

यो जुक्ति अनुशार नै माओवादीका कार्यकर्ताले केपी ओलीलाई राजावादी भन्ने गर्छन् । राजाले नै ओलीलाई १६ वर्ष जेलमा सडाए । अनि केपी ओली अझै राजावादी हुन्छन् होला ?

‘प्रचण्डलाई हत्यारा भन्नेहरु हो, केपी ओलीले पनि मान्छे मारेको थियो’ भन्दै हल्ला गर्छन् । केपी ओलीले के के गरे के के गरेनन् भन्न आवश्यक नै छैन अब । किनभने उनले १६ वर्ष त जेल बसि नै सकेका छन् । गरेकै भए पनि सजाय पाएनन् र ? यस्तो सजाय प्रचण्डले कहिले पाउने ?

अहिले संविधान संशोधन र सीमांकनमा केपी ओलीले विरोध गर्यो भनेर कोकोहोला मच्चाएका छन् । अनि ओलीलाई खुइल्याउन के भन्छन् थाहा छ ? ‘मधेसमा दुई प्रदेश बनाउने अहिलेको प्रस्तावित खाका केपी ओलीकै हो । त्यो फेरि ओलीले मानेन । दोगला चरित्र देखायो’ भन्छन् ।
मेरो प्रश्न, यस्तो प्रस्ताव केपी ओलीको थियो भने प्रस्ताव गरेको बेला यीनीहरुले चाहिँ किन नमानेको त ?

कुरा के हो भने राजनीति गतिशिल हुन्छ । हिजो जे गरियो, जे भनियो, त्यो आजको परिवेशमा हुबहु लागू नहुन सक्छ । हिजो यस्तो र उस्तोको कुरा झिक्न आवश्यक हुँदन ।

महाकाली सन्धि गरेर त एमालेले राष्ट्रघात गरेकै हो नी हैन ?
महाकाली सन्धीको प्रस्तावक समर्थक कांग्रेस र राप्रपा थियो । सबैभन्दा बढी योगदान पशुपति शमशेर राणाको छ । त्यो बेला एमाले विपक्षी दल थियो । एमालेको केन्द्रीय समितिमा म र कमल चौलागाईले विरोध गरेका थियौं । बाँकी सबै महाकालीका मलामी हुन तयार भए । गर्नैै नहुने महाकाली सन्धि गरियो । एमालेले पनि भोट दियो । भारतले त्यसको बदलामा एमालेलाई नै टुक्रयाइदियो । महाकाली नदी अहिलेसम्म ओगटेर राखेकै छ । मित्रराष्ट्र भारतको सक्कली अनुहार यहि हो ।

स्याटलाइटबाट महाकालीको बिजुली चीन बेच्ने योजना केपी ओलीको होइन ?
होइन । महाकालीको बिजुली स्याटेलाइटबाट चीनलाई बेच्ने योजनाकार माधवकुमार नेपाल हुन । त्यो कुरा माधव नेपालले बोलका हुन् । केपी ओलीले चाहिँ त्यो बेला २६ अर्ब फाइदा हुन्छ भनेर हिसाब निकाल्ने व्यक्ति हुन् । त्यही बेला पनि मैले लेख नै प्रकाशित गरेर भनेको थिए, ‘यो देशमा प्राविधिकहरुले राजनीति गर्न थाले, राजनीति गर्नेले प्राविधिकको काम गर्न थाले ।’ नेपालआजबाट

(एमाले नेता प्रदीप नेपालसँग गरिएको कुराकानीमा आधारित)

२२६ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad