SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/२ गते
    २१४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार घरेलु टोली नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । फाइनल जसले जिते पनि नयाँ विजेता बन्नेछ । च्याम्पियन बन्ने टिम साफ महिला च्याम्पियनसिपको दोस्रो विजेता टिम हुनेछ ।

    अहिलेसम्म भएको पाँच वटै संस्करणको उपाधि जितेको भारत सेमिफाइनलबाटै बाहिरिएपछि नेपाल र बंगलादेश सामु नयाँ इतिहास बनाउने अवसर छ । त्यसका लागि दुवै टोली तयार भइसकेका छन् ।

    यसअघि नेपालले चार पटक फाइनल खेल्दा चारै पटक भारतसँग पराजित भएको थियो । यस्तै एक पटक फाइनल पुगेको बंगलादेश पनि भारतसँग नै पराजित भएको थियो । दुवै टोलीले फाइनल पुग्नुअघि यस पटक भारतलाई नै पराजित गरिसकेका छन् । आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

    घरेलु मैदानमै आयोजना भएको साफ च्याम्पियनसिपको ट्रफी घरमा राख्दै पहिलो पटक च्याम्पियन बनेर नेपाली दर्शक र समर्थकलाई खुशी दिने नेपालको चाहना छ । यस्तै बंगलादेश पनि फाइनल खेल्ने तयार छ र पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

    घरमा आइपुगेको ट्रफी घरमै राख्छौँ : प्रशिक्षक थापा

    नेपालमा लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना भएको हो । सन् २०१९ विराटनगरमै भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

    यस पटक नेपालको फाइनल प्रतिद्वन्दी भने नयाँ छ । त्यसैले नेपालको लागि यस पटक फाइनल विगतको भन्दा फरक हुनेछ । नेपाली टिमका प्रशिक्षक थापा र नेपाली टिम पनि नयाँ च्याम्पियन बन्ने अवसरलाई गुमाउन चाहँदैनन् । ‘यस पटक नयाँ च्याम्पियन बन्दैछ । यो सबैलाई थाहा छ र हामी त्यो अवसर गुमाउन चाँहदैनौँ, प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक थापाले भने, ‘फ्यानलाई ९० मिनेटपछि दु:खी बनाउन चाहन्नौं । साफको ट्रफी यही आइपुगेको छ र हामी यो ट्रफी बाहिर जान दिँदैनौँ । यो ट्रफीलाई अहिले जितेर दुई वर्षसम्म च्याम्पियन भएर यही राख्न चाहन्छौं ।’

    ९ हप्ताअघि साफका लागि तयारी सुरु गर्दा नै उपाधिमाथि अर्जुन दृष्टी राखेर तयार तयारी गरेको र ट्रफी नै एक मात्र लक्ष्य भएको थापाले बताए । ‘सुरुदेखि नै हाम्रो अर्जुनदृष्टी उपाधि माथि हो र अहिले पनि ट्रफी नै मुख्य टार्गेट हो ।’

    नेपालले पुरुष र महिला फुटबलमा अहिलेसम्म साफ जित्न सकेको छैन । प्रशिक्षक थापा दुवैमा संलग्न छन् । पुरुष साफमा उनी खेलाडीको रुपमा थिए भने महिला साफमा प्रशिक्षकको रुपमा छन् त्यो पनि दोस्रो पटक ।

    सन् २०१६ मा भारतमा भएको चौथो संस्करणको साफमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदा पनि थापा नै प्रशिक्षक थिए । यस पटक भारतलाई सेमिफाइनलमा हराएर थापा र नेपाली टिमले त्यसको मिठो बदला लिइसकेको छ ।

    अब नेपाल उपाधि जित्नबाट एक कदम मात्र टाढा छ । ‘सेमिफाइनलमा भारत विरुद्धको प्रदर्शनबाट खुशी छौं र फाइनलमा अझ राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं । हामी हाम्रो रणनीति, मिहिनेत र समर्थकबिना यो लक्ष्य पूरा गर्न सक्दैनौं । र, हाम्रो टिममा अहिले यो सबै छ । टिमप्रति म कन्फिडेन्ट छु र खुशी छु,’ थापाले आत्मविश्वाससहित भने ।

    पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जितेर घरेलु समर्थकलाई खुशी दिने नेपाली टिमको लक्ष्य छ । यस्तै पहिलो पटक यसै च्याम्पियनसिपबाट नेपालको कप्तानी सम्हालेकी एञ्जिला तुम्बापो सुब्बाले पनि फाइनलका लागि तयार रहेको बताइन् । ‘पहिलो पटक भारतलाई पराजित गरेर फाइनल पुग्दा खुशी लागेको छ । टिम वर्कले गर्दा नै यहाँसम्म छौं। भोलि पनि त्यही अनुसार खेल्नेछौं । बोलेर भन्दा पनि मैदानमै गरेर देखाउन बाँकी छ ।’

    उनले मानसिक र शारीरिक रुपमै टिम तयार रहेको बताइन् । ‘शारीरिक र मानसिक रुपमा हामी बलियो अवस्था छौं । भोलि जित्नकै लागि खेल्ने हो, एञ्जिलाले भनिन् ‘बंगलादेशलाई पछिल्लो पटक पनि हराएको हो । यसपटक उनीहरु बलिया छन् । हामी यस पटक पनि जित्नकै लागि खेल्छौं ।’

    इतिहास नेपालको पक्षमा

    नेपालले पछिल्लो पटक २०१९ मा भएको साफमा बंगलादेशलाई ३-० ले पराजित गरेको थियो । गतवर्ष काठमाडौंमै भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई एक खेलमा हराएको थियो भने अर्को खेल बराबरी गरेको थियो । साफमा अहिलेसम्म तीन भेटमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

    बंगलादेश विरुद्ध सिनियर टिममा नेपाल अपराजित छ र त्यसलाई निरन्तरता दिन चाहन्छ । तर प्रशिक्षक थापा भने इतिहास हेर्ने भन्दा पनि नयाँ इतिहास बनाउनेमा विश्वास गर्छन् । ‘यसअघि बंगलादेशलाई हराउँदा म थिइन । हामी इतिहासलाई विश्वास गर्दैनौँ । र हामी इतिहास बनाउनेछौं’, थापाले भने ।

    थापाले बंगलादेश पनि राम्रो टिम रहेको भन्दै त्यो भन्दा नेपाल राम्रो भनेर देखाउने बताए । ‘यो पटक बंगलादेशको टिम पनि राम्रो छ । उनीहरुको टिम बेस्ट छ । राम्रो खेलेरै उनीहरु फाइनलमा पुगेका हुन् । हामी ‍बंगलादेश भन्दा राम्रो छौं भनेर प्रमाणित गर्न चाहन्छौं र ट्रफीमा हाम्रो नाम लेखाउन चाहन्छौं ।’

    घरेलु दर्शकको अगाडि खेल्दा प्रेसर भन्दा बढी इमोसन हुने थापाले बताए । डेंगुका कारण यसअघि नखेलेका दुई खेलाडी (सावित्रा र मन्जली) को आज परिक्षण गरिने र रिपोर्ट आएपछि फाइनल खेल्ने नखेल्ने थाहा हुने उनले बताए ।

    प्रशिक्षक थापाले कम गल्ती गर्ने टिमले नै जित्ने बताए यस्तै कप्तान एञ्जिलाले पनि फाइनलमा गल्ती नगर्ने बताइन् । ‘फाइनलमा गल्ती गर्नुभएन । गोल खानुभएन । गल्ती गरेनौँ भने जित्छौँ ।’

    फाइनल प्रतिस्पर्धात्मक हुनेछ : बंगलादेशका प्रशिक्षक छोटोन

    दोस्रो पटक फाइनल पुगेको बंगलादेश नेपाल विरुद्ध खेल्नका लागि तयार छ । यस संस्करणमा बंगलादेशले टेक्निकल्ली उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । भारतलाई सेमिफाइनलमा नेपालले पराजित गर्नुअघि नै बंगलादेशले समूह चरणमा पराजित गर्दै भारतको साफमा २५ खेलको अपराजित यात्रालाई ब्रेक लगाइदिएको थियो ।

    भारतलाई हराएपछि बंगलादेशको पनि मनोबल उच्च रहेको छ । सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० ले पराजित गर्दै दोस्रो पटक फाइनल पुगेको हो । बंगलादेशले फाइनल पुग्दासम्म २० गोल गरेको छ र कुनै गोल खाएको छ ।

    बंगलादेशका प्रशिक्षक गोलोन रब्बानी छोटोनले फाइनल खेल्नका लागि आफ्नो टिम तयार रहेको बताए । ‘हाम्रो खेलाडीहरु फाइनल खेल्नका लागि तयार छन् । मानसिक र शारीरिक रुपमै हामी तयार छौं, प्रि म्याच कन्फ्रेन्समा छोटोनले भने, ‘हामीले फाइनलका लागि योजना बनाएका छौं र त्यही अनुसार नै खेल्नेछौं ।’

    प्रशिक्षक छोटोनले फाइनलअघि खेलेको चार खेलमा गरेको प्रदर्शनलाई रिभ्यु गर्दा राम्रो खेलेको र फाइनलमा पनि त्यही अनुसार खेल्ने बताए । ‘हामीले अहिलेसम्म खेलेको खेल हेर्दा खेलाडीले राम्रो खेलेका छौं । फाइनल खेल प्रतिस्पर्धात्मक हुनेछ, किनकि नेपाल बलियो टिम छ,’ छोटोनले फाइनलबारे भने, ‘फाइनल प्रशिस्पर्धात्मक, कठिन र रमाइलो हुनेछ ।’

    फाइनलमा नेपाली टिमलाई घरेलु दर्शकको समर्थन हुनेबारे प्रशिक्षक छोटोन जानकार नै छन् । त्यसैले घरेलु टिमसँग खेल्दा कठिन हुने उनको विश्लेषण छ । ‘होस्ट टिमसँग खेल्दा सधैं कठिन हुन्छ तर हामी फाइनलका लागि कन्फिडेन्ट छौं ।’

    नेपालमा फुटबललाई माया गर्ने धेरै रहेकोले फाइनलमा धेरै दर्शक आउने छोटोनको विश्वास छ । तर आफ्नो टिमले यसअघि पनि नेपालसँग उमेर समूहमा खेलिसकेको र त्यही अनुभव प्रयोग गर्ने बताए ।

    ‘नेपालमा फुटबल लभर छन् । हामीले सेमिफाइनलमा पनि हेर्‍यौं । भोलि १५ हजार दर्शक हुन सक्छन्,’ छोटोनले भने, ‘हाम्रो खेलाडीलाई नेपालमा खेलेको अनुभव छ । २०१५ मा नेपालमा एएफसी यू-१४ गर्ल्स रिजनल च्याम्पियनसिप खेलेका थियौँ । त्यसपछि पनि साफ यू-१८ र एएफसी यू-१९ छनोटमा खेलिसकेका छौं । यो सबै अनुभवले हामीलाई सहयोग गर्नेछ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

    भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको...

    क्यान पर्वतको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा अच्युत पौडेल

    पर्वत ,कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान महासंघ) पर्वत शाखाको पाँचौ अधिबेशनले अच्युत पौडेलको अध्यक्षतामा नयाँ...

    बाजुराबाट प्रदेशसभामा एकीकृत समाजवादीका शाही निर्वाचित

    काठमाडौं । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित...

    एमालेसँग मिलेर सरकार बनाउने विकल्प माओवादीमा खुला

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे...

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

    काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं