
काठमाडौं, सहिद प्रतिष्ठान नेपालको १२ औँ साधारण सभालाई काठमाडौंमा बिहिबार सम्बोधनका क्रममा अध्यक्ष दाहालले आजभोलि नै सरकार विस्तार हुन सक्ने बताएका छन्।
शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको अढाई महिना बितिसक्दा पनि पूर्णता पाउन नसकेको बेला प्रचण्डले आजभोलि नै सबै कुरा टुंगिने बताए। हामीले ऊर्जा र अर्थमन्त्रालय लिएका छौँ। अरु मन्त्रालय सम्भवत आजभोलि नै टुंगिने छ, उनले भने अब गठबन्धन सरकार विस्तार भएर जनयुद्धका घाइते र अपाङ्गका माग पनि सम्बोधन गर्ने दिशामा अघि बढ्नेछौँ।
दाहालले जनयुद्ध र जनआन्दोलनका उपलब्धी उल्ट्याउन खोज्नेविरुद्ध आफूहरुले जितेको बताए। हामीले प्रतिगामीविरुद्धको लडाइँ जितेका छौँ, त्यो पनि एउटा जनयुद्ध नै हो, उनले भने, हामी पराजित भएको भए गणतन्त्र नै उल्ट्याउने काम हुन्थ्यो। फरक रुपको जनयुद्ध नै हामीले जितेका थियौँ।
शान्ति प्रक्रियाको १५ वर्षपछि पनि पनि आफूहरुलाई अझै घेरा हाल्ने काम भइरहेको दाबी प्रचण्डले गरेका छन्। शान्ति प्रक्रियापछिको १५ वर्षपछि उनीहरुले हामीलाई घेरा हालिरहेका छन्। घेरा तोड्ने र प्रतिरोध गर्ने अभियानमा हामी छौँ, उनले भने, हामी सरकारको साझा न्यूनतम् कार्यक्रममा कम्तीमा जनयुद्धका सहिदबारे ठोस निर्णय लिन्छौँ। सत्य निरुपण तथा बेपत्ता आयोगलाई सक्रिय बनाएर राहत प्रक्रिया अघि बढाउँछौँ।